७५ जिल्लाको समानुपातिक मतगणना : एमाले पहिलाे दल, कांग्रेस दाेस्राे बन्ने निश्निच्त


२ पुष २०७४, आईतवार
uml congress moist center

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन समानुपातिकतर्फ ७५ जिल्लाको मत गणना सकिएको छ । निर्वाचन आयोगले शनिबार आयोगले विज्ञप्ति निकालेर गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतितिनिधसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको ७५ जिल्लाको मतगणना सकिएको जनाएको छ । सुनसरी र सर्लाहीका केही निर्वाचनमा गणना जारी रहेको जानकारी दिएको छ ।uml congress moist center
शनिबार साँझसम्म ९४ लाख ९८ हजार २ सय ७१ मत गणना सकिएको छ । प्राप्त परिणाम अनुसार नेकपा एमाले ३१ लाख ६० हजार ९४५ मत पहिलो , नेपाली कांग्रेस ३१ लाख १० हजार २२५ दोस्रो, माओवादी केन्द्र १२ लाख ९५ हजार ७११ तेस्रो, संघीय समाजवादी फोरम नेपालले ४ लाख ६८ हजार ३९९ चौथों र राष्ट्रिय जनता पार्टीले ४ लाख ६८ हजार ३४६ मतसहित पाँचौं स्थानमा रहेका छन् ।
यसैगरी विवेकशील साझा पार्टीले २ लाख १२ हजार २९३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९६ हजार १८६, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० ८८ हजार २ सय १२, नयाँ शक्ति पार्टी, नेपाल ८१ हजार ४२६ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १२३ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत दलहरुले ३ लाख ५४ हजार ४०५ मत पाएका छन् ।
प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मात्र ३ प्रतिशत कटाएकाले प्रतिनिधिसभामा समानुपातिकबाट यीनै पाँचदलका मात्र सांसद हुनेछन् ।

समानुपातिकतर्फ कसले कति सिट पाउने ?
प्रतिनिधिसभातर्फ प्रत्यक्ष ८० सिट जित्दै पहिलो दल बनेको एमाले समानुपातिकमा पनि पहिलो नै भएको छ । एमालेले खसेको कुल सदर मतको ३५ प्रतिशत मत ल्याएको छ । त्यस्तै प्रत्यक्षमा २३ सिट मात्र जितेर तेस्राे भएकाे  कांग्रेस समानुपातिकतर्फ भने दोस्रो भएको छ । उसले ३४ प्रतिशत मत पाएको छ । समानुपातिक समेतको परिणामले कांग्रेस दोस्राे दल बन्ने पनि निश्चित भएको छ ।
त्यस्तै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले केन्द्रले समानुपातिकमा १४ प्रतिशत मत ल्याएको छ । संघीय समाजवादी फोरम र राजपाले ५ प्रतिशत हाराहारीमा मत पाएका छन् ।
३ प्रतिशत मत नकटाएका विवेकशील साझा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा लगायतका दलले समानुपातिकमा पाएको मतबाट एकजना पनि सांसद पठाउन पाउँदैनन् । यी दलले पाएको मतको हिसाब नहुने भएकाले ३ प्रतिशत मत कटाएका दलहरुले थप सिट पाउनेछन् ।
जसअनुसार प्रतिनिधिसभामा एक सय १० समानुपातिक सांसदमध्ये सरदरमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७ तथा संघीय समाजवादी फोरम र राजपा नेपालले ६ र ६ सिट पाउनेछन् । प्रत्यक्षबाट थोरै मात्र महिला सांसदले जितेको संघीय संसदमा दलले पाएका यी सिटमा सबैजसो महिलालाई चयन गर्नुपर्ने अवस्था छ ।

प्रदेशसभा
प्रदेशसभामा १.५ प्रतिशतको थ्रेस होल्ड छ । 
प्रदेश नम्बर १
एक नम्बर प्रदेशमा बन्ने ९३ सदस्यीय प्रदेशसभामा ३७ जना सांसद समानुपातिकबाट छानिदै छन् । दलहरुले प्राप्त गरेको मतअनुसार ३७ सिटमध्ये एक नम्बर प्रदेशमा एमालेले १५, कांग्रेसले १३ माओवादीले ६, संघीय समाजबादी फोरमले २ र राप्रपाले १ सिट पाउने भएका छन् ।
प्रदेश नम्बर २
प्रदेश नम्बर २ मा १ सय ७ सदस्यीय प्रदेशसभा बन्दैछ । जसमा प्रत्यक्षबाट ६४ र बाँकी ४३ प्रतिशत समानुपातिकबाट छानिदैछन् । समानुपातिकतर्फको ४३ सिटमा दुई नम्बर प्रदेशमा पहिलो दल कांग्रेस, दोस्रो राजपा र तेश्रो संघीय समाजवादी भएका छन् ।
यो प्रदेशमा कांग्रेसले सबैभन्दा धेरै ११, राजपा र फोरमले ९–९ सिट पाउने छन् । अरु प्रदेशमा अघि देखिएको एमाले यो प्रदेशमा चौथो स्थानमा खुम्चिएको छ । उसले ८ र माओवादीले ५ जना सांसद पाउनेछन् । यस्तै नेपाल संघीय समाजवादी पार्टीले पनि प्रदेश नम्बर २ मा एक सिट पाउनेछ ।

प्रदेश नम्बर ३
प्रदेश नम्बर तीनमा एक सय १० सदस्यीय प्रदेशसभा गठन हुनेछ । जसमध्ये ६६ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन् भने ४४ जना समानुपातिकबाट चुनिनेछन् । प्रत्यक्षतर्फ एक्लै झण्डै बहुमत ल्याएको एमाले यो प्रदेशसभामा समानुपातिकमा पनि सबैभन्दा धेरै सांसद पाउनेछ ।
यस्तै, वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएको विवेकशिल साझा पार्टीले पनि यो प्रदेशमा सिट कायम गरेको छ । प्रदेश नम्बर ३ मा एमालेले १७, कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ र राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक सिट पाउने भएका छन् ।

प्रदेश नम्बर ४
प्रदेश नम्बर चारको समानुपातिकतर्फ पनि एमाले नै पहिलो दल बनेको छ । प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सहित यो प्रदेशमा ६० सदस्यीय प्रदेशसभा गठन हुँदैछ । चार नम्बर प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ तथा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले १–१ सिट पाउने छन् ।

प्रदेश नम्बर ५
 प्रदेश ५ को समानुपातिकमा ५ दलले मात्र सिट पाउने भएका छन् । एमालेले सबैभन्दा बढी २८ सिट पाउने भएको छ । एमालेले ५ लाख ३३ हजार ६१३ मत पाएको छ भने कांग्रेसले ५ लाख ३० हजार ८४४ र माओवादीले २ लाख ३९ हजार २८१ मत पाएको छ । यस्तै संघीय समाजवादी फोरमले ७८ हजार ५६७ र राजपाले ५४११० मत पाएको छ । आयोगले समानुपातिकमा कुन दलले कति सिट पाए भन्ने जानकारी दिएको छैन ।
सेन्ट लग मेथडका आधारमा एमाले र कांग्रेसले समान १३ र १३ सिट पाउने देखिन्छ । माओवादीले ६ र फोरमले २ सिट पाउँदा राजपाले एक सिट पाउने देखिन्छ । प्रत्यक्षतर्फ एमालेले २८ र माओवादीले ७ सिट जितेको छ । प्रदेश ५ मा वाम गठबन्धनको ६१ सिट हुनेछ । ८७ सदस्यीय प्रदेशसभामा सामान्य बहुमत बहुमतका लागि ४४ सिट चाहिन्छ । दुई तिहाईका लागि भने ५९ सिट चाहिन्छ । यहाँ वाम गठबन्धनको दुई तिहाई बहुमत प्रष्ट देखिएको छ । प्रत्यक्षमा ७ सिट जितेको कांग्रेसको समग्रमा २० सिट हुनेछ भने फोरमको ५ र राजपाको एक सिट हुनेछ ।

प्रदेश नम्बर ६
 प्रदेश ६ मा  प्रत्यक्ष निर्वाचित २४ र समानुपातिकबाट १६ गरी ४० सदस्यीय प्रदेशसभा बन्नेछ । एमालेले सबैभन्दा धेरै १ लाख ५९ हजार ३४९ मत पाएको छ भने कांग्रेसले १ लाख ५१ हजार ५८९ र माओवादी केन्द्रले १ लाख ६ हजार ८७८ मत पाएको छ । यस्तै राप्रपाले १४ हजार ८५९ र नमकिपाले ७ हजार २८३ मत पाएको छ ।
सेन्ट लग मेथडका आधारमा एमालेले ६ सिट पाउने देखिन्छ भने कांग्रेसले ५, माओवादीले ४ र राप्रपाले एक सिट पाउने देखिएको छ ।प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले हुनेछ । उसले प्रत्यक्षतर्फ १४ सिट जितेको छ र समग्रमा प्रदेशसभामा उसको २० सिट हुनेछ । समान्य बहुमतका लागि एक सिट पुगेन । सामान्य बहुमतका लागि २१ सिट भए पुग्छ भने दुई तिहाईका लागि कम्तिमा २८ सिट चाहिन्छ ।
प्रत्यक्षतर्फ ९ सिट जितेको माओवादी समग्रमा १३ सिट हुनेछ भने कांग्रेस ६ सिटसहित तेस्रो दल हुनेछ । नेपाली कांग्रेस तेस्रो दल बन्ने भएको छ ।   प्रत्यक्षतर्फ मात्र एक सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ५ सिट पाउनेछ ।राप्रपाको एक सिट हुनेछ । प्रदेश ६ मा एमाले र माओवादीको वाम गठबन्धनको दुई तिहाई बढी मत पुगेको छ ।

प्रदेश नम्बर ७
प्रदेश ७ को प्रदेशसभामा पनि वाम गठबन्धनको दुई तिहाई बहुमत हुने भएको छ । कांग्रेसले २ लाख ९५ हजार ७२९ मत पाएको छ भने एमालेले २ लाख ६० हजार ९५५ र माओवादीले १ लाख ४२ हजार ७०२ भोट पाएको छ । राजपाले ३६ हजार ९०२ मत पाउँदा राप्रपाले १५ हजार ४४४ मत ल्याएको छ ।
सेन्ट लग मेथडका आधारमा कांग्रेस र एमालेले समान ८र८ सिट पाउने देखिन्छ भने माओवादी ले ४ र राजपाले एक सिट पाउने छ । राप्रपाले भने पाउने छैन । यसो हुँदा प्रदेश ७ को प्रदेशसभामा एमाले २५ सिटसहित सबैभन्दा ठूलो दल बन्नेछ । तर, प्रत्यक्षतर्फ १७ सिट जितेको उसलाई बहुमतलाई २ सिट पुग्दैन । प्रत्यक्षतर्फ १० सिट जितेको माओवादीको १४ सिट हुनेछ । कांग्रेसको प्रत्यक्ष ४ सहित १२ सिट हुनेछ भने प्रत्यक्षमा एक सिट जितेको राजपाको कुल २ सिट हुनेछ । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सदस्य भए पुग्छ भने दुई तिहाईका लागि ३६ सिट । एमाले र माओवादी गठबन्धनसँग दुई तिहाई पुगेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७