पाताले छाँगो : लोभ्याउँदै पर्यटक


११ श्रावण २०७६, शनिबार
Pokhara Davis Fall

पोखरा, ११ साउन । पर्यटकीय नगरी पोखरा सबै मौसमका लागि उत्तिकै आकर्षक गन्तव्य मानिन्छ । यहाँका प्राकृतिक सम्पदाले पोखरा आउने जोकोहीलाई अर्कोपल्ट फेरि आउने निम्ता दिने गरेको पाइन्छ । प्रकृतिलाई नजिकबाट नियालेर आनन्द लिन अवसर पोखरामा रहेका विभिन्न प्राकृतिक दृष्यहरुले प्रदान गरेको छ ।

विशिष्ट प्राकृतिक गुणले पर्यटकलाई लोभ्याउने पोखराको आकर्षक गन्तव्यमध्येको एक हो पाताले छाँगो । पोखरा महानगरपालिका–१७ स्थित छोरपाटनमा रहेको यस छाँगोले वर्खा यामसँगै पर्यटकलाई झनै लोभ्याइरहेको छ । जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना बर्खायाममा हेर्न लायकको देखिन्छ ।

हिउँदमा भित्रभित्र सुस्ताउँदै बग्छ भने बर्खायामसँगै आफ्नो असली रुप देखाएर पर्यटकलाई लोभ्याउँछ । बर्खायामको छुट्टै आकर्षक मानिने पाताले छाँगोलाई ‘डेभिज फल्स’ भनेर समेत चिनिन्छ । यतिबेला पर्यटकहरु सेल्फी खिच्दै छाँगोबाट आइरहेको पानीको शीतलतामा रमाइरहेको यहाँ पुग्ने जोकोहीले सजिलै हेर्न सकिन्छ ।

davis fall

डेभिज फल्सको नामकरणको सम्बन्धमा ‘इसं १९६१ जुलाई ३१ तारिखको मध्याह्नमा स्विस नागरिकले छाँगोभन्दा तल नुहाइरहेको बेला फेवातालबाट बाढी आएर उनलाई बगाएको थियो । ‘त्यही वेलादेखि उनकै नामबाट यस पाताले छाँगोलाई डेभिज फल पनि भनिन थालिएको हो’, उक्त स्थानमा राखिएको जानकारी बोर्डमा उल्लेख छ ।

५०० मिटर भूमिगत जल प्रवाह र १०० फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ भने जेठदेखि असोज महिना छाँगो हेर्न आकर्षक मानिन्छ । छाँगो वरिपरीका फूलका बगैंचा, परम्परागत घर, हिमालका कृत्रिम दृष्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोसाकसहितका तस्वीर खिच्ने ठाउँहरुले पनि पर्यटकलाई लोभ्याएको पाइन्छ ।

कञ्चनपुर वेदकोट नगरपालिकाका यज्ञराज भट्टले पोखरा नाम जस्तै सुन्दर रहेको प्रतिक्रिया दिए । ‘पोखराको सुन्दरताका बारेमा सुनेको थिए, आज यहीं ठाउँमा आएर घुम्दा निकै रमाइलो लाग्यो, फेवाताल, वेगनासताल हुँदै पाताले छाँगोको दृष्यावलोकन गर्दा प्रकृतिलाई नजिकैबाट नियाल्ने अवसर मिलेको छ, मन प्रफुल्लित भएको छ’, भट्टले भने ।

चितवनको गर्मी छल्न परिवार साथ पोखराको पाताले छाँगो हेर्न आएकी सकुन्ताल सुवेदीले पनि छाँगो र आसपासका दृष्यमा आफूहरु निकै रमाइरहेको बताइन् । पोखरा–१७ स्थित छोरपाटन उच्च माविले पाताले छाँगोको संरक्षण गर्दै आएको छ ।

२०३५ सालदेखि विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकहरुबाट प्रवेश शुल्क उठाउँदै आएको हो । आम्दानीको ४० प्रतिशत पाताले छाँगो व्यवस्थापन र बाँकी ६० प्रतिशत विद्यालयको शैक्षिक भौतिक विकासका लागि खर्च गरिने विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापाले जानकारी दिए ।

करीब १२ रोपनी क्षेत्रफलमा रहेको यस पर्यटकीयस्थलमा गत वर्ष मात्र नौ लाख पर्यटकले दृष्यावलोकन गरेको छोरेपाटन उच्च माविका प्रधानाध्यापक लक्ष्मण थापाले बताए । बर्खायाम पर्यटकका लागि उपयुक्त सिजन होइन ।

यद्यपि आन्तरिक र भारतीय पर्यटकको चाप भने हुने गरेको छ । दैनिक औसत दुई हजार ५०० को हाराहारीमा पर्यटकहरुले यो छाँगोको अवलोकन गर्छन् । अवलोकनका लागि टिकट दर प्रतिविद्यार्थी रु १०, नेपाली रु २० र विदेशीलाई रु ३० तोकिएको छ । गत वर्ष मात्रै टिकटबाट रु दुई करोडको हाराहारीमा आम्दानी भएको प्रधानाध्यापक थापाले बताए ।

पोखरालाई पर्यटनको हब बनाउन गुरुयोजनाहरु अघि बढाइएको छ । पाताले छाँगोमा पर्यटन पूर्वाधार निर्माण आयोजना सार्वजनिक निजी साझेदारीअन्तर्गत पोखरा पातले छाँगोमा सिसाको पुल निर्माण गरिने भएको छ । पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा यहाँ सिसाको पुल निर्माण गर्ने उल्लेख गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नीति तथा कार्यक्रमबाट ‘हाम्रो चाहना, पर्यटन मैत्री निर्माण संरचना’ लाई अभियानकै रुपमा अगाडि बढाउन सोही अनुसारका कार्य योजनालाई प्राथमिकता दिएको बताए ।

‘पोखराको पर्यटनको समग्र विकासका लागि एकीकृत योजनाका साथ लेक टू लेक, केभ टू केभ’ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गरी नमूना मार्गका रुपमा अगाडि बढाइने उल्लेख छ । नेपाल भ्रमण वर्ष २०२० र आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल बनाउन ‘पहिले देश, अनि विदेश’ अभियानलाई विशेष जोड दिइने प्रमुख जिसीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७