यस्ता थिए इतिहासका चुनावी पर्चा


प्रकाशित मिति : December 17, 2017

यसपालिको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा वाम गठबन्धनका नेताले बहुमत ल्याएर बधाई थापिरहेका छन्। मतदातालाई आकर्षित गर्न दल र तिनका नेताले विभिन्न तरिका अपनाए। ठूला दलका नेताले घरघरमा हवाईपत्र पठाउनेदेखि नेता र पार्टीका बयान गरिएका गीत र भिडियो युट्युबमा सार्वजनिक गरियो। अाजकाे अन्नपूर्ण पाेष्टमा गोपाल दाहाल ले लेखेका छन् । 

Gopal-Dahal-Photoचुनावी प्रचारमा सामाजिक सञ्जालको सबैभन्दा बढी उपयोग विवेकशील साझा दलले गर्‍यो। पहिले त न युट्युब, फेसबुक थिए, न रेडियो, टेलिभिजन नै। अहिलेका पुस्तालाई जिज्ञासा हुनसक्छ, ‘त्यस्तो समयमा कसरी चुनावको प्रचार गरियो होला ? ’ पुराना प्रचार सामग्री खोजी गर्ने हो भने त्यस बेला रमाइलो पारामा पर्चा पम्प्लेटमार्फत चुनाव प्रचार गरिन्थ्यो। ‘विश्वेश्वरप्रसाद कोइरालालाई भोट दिनु हाम्रो कर्तव्य हो।’

२०१५ फागुन ७ गते भएको आमनिर्वाचनका उम्मेदवार बीपीको चुनावी पर्चाको बीचमा ठूला राता अक्षरमा यस्तो लेखिएको थियो। त्यसको सिरानमा साना अक्षरमा ‘नेपाल राजनीतिको जन्मदाता, क्रान्तिका वीर सेनानी, नेपालका एकमात्र राष्ट्रिय नेता, त्याग र बलिदानका प्रतिमूर्ति’ भनेर लेखिएको थियो भने तल लेखिएको थियो ‘मोरङको ३२ नम्बर क्षेत्रबाट खडा भयेर वहाँले हाम्रो जिल्लाको सम्मान बढाउनु भयो। वहाँलाई ठूलो बहुमतबाट विजयी बनायेर हामी राष्ट्रको इज्जत बढाऔं।’

1_1नेपालमा राणाशासनकै समयमा २००४ सालमा पहिलो ‘म्युनिसिपल चुनाव’ भएको थियो। त्यस बेला २१ वर्ष पुगेका पुरुषहरूले मात्र मत दिन पाउँथे। वालिग मताधिकारका आधारमा भने २००७ सालमा राणा शासन अन्त्य भएपछि २०१५ सालमा भएको आमनिर्वाचनलाई पहिलो निर्वाचन मानिन्छ। त्यो चुनावमा ९५७९ मत प्राप्त गरी विश्वेश्वर विजयी भए।

कांग्रेसकै उम्मेदवार सुवर्णशमशेर जबराको प्रचार सामग्री तमसुकजस्तै लम्बेतान थियो। नेपाल राष्ट्रवादी गोर्खा परिषद्को भने झ्याउरे भाकाको गीतको शैलीमा चुनावी पर्चा बाँडिएको थियो।

सोही चुनावमा गोर्खा परिषद्ले चाहिँ फरक तरिकाको पम्प्लेट छपाएको थियो। पहेँलो पृष्ठभूमिमा माझमा घरको चित्रसहित काला अक्षरमा छापिएको पम्प्लेटको सिरानमा लेखिएको थियो :

gorkh_parisad

‘चुनाव जितेर गोर्खा परिषद्को सरकारले पाँच वर्ष भित्रमा के गर्छ ? ’

अनि त्यसभन्दा तल बुँदागत रूपमा यस्तो लेखिएको थियो :

१.जनताको जीवनस्तर दोब्बर तुल्याउँछ।

२.दुई सय अस्पताल खोल्छ।

३.दुई हजार पुल बनाउनेछ।

४.जतासुकै कुलो बाँध, पैन बनाउँछ।

५. देशभरमा प्राथमिक शिक्षालाई अनिवार्य र नि:शुल्क गराउनेछ।

१०९ चुनावी क्षेत्रमध्ये ८६ उम्मेदवार उठाएको गोर्खा परिषद्ले १९ क्षेत्रमा जितेको थियो।

त्यही बेला ‘के.आई. सिंहलाई चिन्नुहोस्’ लेखिएको कांग्रेसको प्रचार सामग्री वितरण गरिएको थियो। कांग्रेसकै उम्मेदवार सुवर्णशमशेर जबराको प्रचार सामग्री तमसुकजस्तै लम्बेतान थियो। काठमाडौंको क्षेत्र नं. ९१, ५३ र ५२ बाट उम्मेदवारी दिएका उनले तीनै क्षेत्रबाट जिते। नेपाल राष्ट्रवादी गोर्खा परिषद् भने झ्याउरे भाकाको गीतको शैलीमा चुनावी पर्चा बाँडिएको थियो।

अहिले मतदानको ४८ घन्टा अगाडिदेखि चुनाव प्रचार गर्न पाइँदैन। तर, त्यस बेला चुनावकै दिन फागुन ७ गते भरतपुरमा कांग्रेसको आमसभा थियो। आमसभाबारे प्रचारका लागि पम्प्लेटसमेत छापिएको थियो।

3_1

२०१७ सालमा राजा महेन्द्रको ‘कु’पछि पञ्चायती व्यवस्था लागू भयो। त्यसपछि २०१९ मा पहिलो पञ्चायती निर्वाचन भयो। त्यस बेला राष्ट्रिय पञ्चायतमा निर्वाचित र मनोनीत गरी जम्मा १२५ जना सदस्य रहने व्यवस्था थियो। त्यसमा १४ अञ्चलबाट निर्वाचित ९० जना, राजाबाट मनोनीत हुने १६ जना र विभिन्न पाँच वर्गीय तथा व्यावसायिक संगठनबाट निर्वाचित हुने १५ जना निर्वाचित हुन्थे। त्यसबाहेक चारजना चाहिँ शिक्षित वर्गबाट निर्वाचित हुने संवैधानिक व्यवस्था थियो। त्यसलाई ‘स्नातकहरूको समूह’ भनिन्थ्यो। २०१९ को चुनावमा स्नातक उम्मेदवार बनेका यज्ञप्रसाद आचार्यको चुनाव प्रचार सामग्रीमा उनको बारेमा विस्तृत विवरण लेखिएको थियो।

२०३५ चैत २२ देखि २०३६ जेठ ९ सम्म विद्यार्थी आन्दोलन चर्किएपछि २०३६ जेठ १० गते बिहान ६:४५ मा २०३७ वैशाख २० गते जनमतसंग्रह गरिने घोषणा भयो।

२०६४ सालमा दीपक अर्याल र राजीवकुमार सिंहले संकलन गरेका पुराना पर्चा, पम्प्लेट लगायतका सामग्रीका आधारमा मदन पुरस्कार पुस्तकालयले ‘राष्ट्रिय निर्वाचन प्रचार सामग्री प्रदर्शनी’ नामको पुस्तिका नै प्रकाशन गरेको थियो। त्यसमा प्रकाशित पर्चामा उल्लेख भएअनुसार जनमतसंग्रहमा बहुदल पक्षको चुनाव चिह्न नीलो आकाशे रङ र सुधारिएको पञ्चायत पक्षको पहेँलो रङ थियो। जनमतसंग्रहमा चार÷चार इन्चको कागज बीचमा दोबरेर एक भागमा नीलो आकाशे र अर्काेमा पहेँलो रङ भएको मतपत्र थियो।

janamat_sangraha

जनमतसंग्रहमा बहुदल पक्षको चुनाव चिह्न नीलो आकाशे रङमा मतदान गर्न आह्वान गर्दै बहुदलपक्षीय नागरिक समाजले निकालेको प्रचार सामग्रीमा ‘बहुदलको जित हुन्छ। नयाँ भविष्यको लागि नयाँ व्यवस्था बहुदल’ लेखिएको थियो। त्यस्तै ‘प्रजातंत्र बिना देश रहँदैन’ भन्ने विश्वेश्वरप्रसाद कोइरालाको भनाइ र फोटोसहितको पर्चामा लेखिएको थियो :

bahudal

-प्रजातन्त्र ल्याउनु छ

-देशलाई बचाउनु छ

-बहुदललाई जिताउनु छ

-आसमानी रंगमा छाप लगाउनु छ।

उता सुधारिएको पञ्चायत पक्षधरको ‘प्रजातान्त्रिक सुधारवादी पञ्च एकता मञ्च’ले ‘सुधारिएको पञ्चायतको चाहना, प्रजातान्त्रिक स्वतन्त्रताका लागि आवश्यक वातावरण सिर्जना’ लेखिएको पर्चा निकालेको थियो। त्यसको तल ‘राजभक्ति हाम्रो शक्ति, देशभक्ति सबैको उन्नति’ लेखिएको थियो।

parcha_1

बहुदलीय व्यवस्था पक्षधर कांग्रेसका काशीप्रसाद श्रीवास्तवले हिन्दी भाषामा प्रचार सामग्री प्रकाशन गरेका थिए। त्यसमा लेखिएको थियो ‘प्रिय साथी ओ, श्री ५ महाराजाधिराज ने नेपालमे जनमत संग्रह कराने के लिए…’

जेठ १ गते जनमतसंग्रहको नतिजा सार्वजनिक भयो, जसमा ४८ लाख १३ हजार चार सय ८४ (६६.३२ प्रतिशत) मत खसेको थियो। यसमा ४४ लाख ४१ हजार चार सय १७ मत (९२.२७ प्रतिशत) सदर र तीन लाख ६२ हजार ६९ मत (७.७३ प्रतिशत) बदर भएको थियो। त्यसमा पञ्चायत सुधारको पक्षमा २४ लाख ३३ हजार चार सय ५२ (५४.७९ प्रतिशत) र बहुदलको पक्षमा २० लाख सात हजार नौ सय ६५ (४५.२१ प्रतिशत) आयो र पञ्चायत पक्ष विजयी भयो।

जनमतसंग्रहमा सुधारिएको पञ्चायतले जितेपछि २०३८ वैशाख २७ मा राष्ट्रिय पञ्चायत सदस्यको चुनाव घोषणा भयो। त्यस बेला विश्वेश्वर र गणेशमान सिंहले ‘नेपाली जनतामा मेरो निवेदन’ शीर्षकको लामो अपिल पर्चामा रूपमा सार्वजनिक गरेका थिए।

२०४८ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. १ का नेपाल सद्भावना पार्टीका उम्मेदवार विजयकुमार दासले हिन्दीमा पर्चा वितरण गरेका थिए। पर्चामा ‘ श्री विजयकुमार दासको भारी बहुमत से विजयी बनाएँ…’ लेखिएको थियो तर उनले जम्मा तीन सय १९ (०.५२ प्रतिशत) मत पाए।

10

२०४८ कै चुनावको पृष्ठभूमिमा नेकपा (एमाले)ले चुनाव प्रचार सामग्रीका रूपमा ‘मनमोहन शुभकामना कार्ड’ बाँडेको थियो। त्यसमा २०४८ सालको शुभकामना दिँदै लेखिएको थियो, ‘सूर्यको जित नै हाम्रो जित हो।’ यता नेकपा (एकता केन्द्र)को पर्चाचाहिँ सामान्य रूपमा ‘संयुक्त जनमोर्चाका संघर्षशील उम्मेदवारलाई जिताऔं’ लेखिएका थिए।

uml_2048

चुनाव भएदेखि मतदान गर्दै आउनुभएका राष्ट्रकवि माधव घिमिरेका अनुभवमा पहिलाको चुनाव प्रचार अहिलेजस्तो तडकभडक हुँदैनथ्यो। उनी भन्छन्, ‘अहिले समय फेरियो, चुनावलाई खुसियाली उत्सव जसरी मनाउन थाले।’

matptra

२०५६ मा प्रकाशित उपनिर्वाचनको मतपत्र

9

राप्रपा थापा समूहका उम्मेदवारको पर्चा।

jana_morcha

एकता केन्द्रको पर्चा। सबै तस्बिर : मदन पुरस्कार पुस्तकालय 

प्रतिक्रिया दिनुहोस्