टानमा निर्वाचन लाग्यो, अध्यक्षका लागि चार जनाको उम्मेदवारी घोषणा


११ श्रावण २०७६, शनिबार
tan

सिबी अधिकारी
काठमाडौं, ११ साउन । पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्व लिन प्रतिस्पर्धीको दौडधुप बढेको छ ।

निर्वाचन आउन एक महीनाअघिनै टान अध्यक्षका लागि चार व्यवसायीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
टानका वर्तमान प्रथम उपाध्यक्ष खुमबहादुर सुवेदी, द्धितीय उपाध्यक्ष नीलहरि बाँस्तोला, पूर्व महासविच मोहन लम्साल र व्यवसायी कुमार थापाले नेतृत्वका लागि दाबदारी प्रस्तुत गरेका हुन् ।
उनीहरु निर्वाचनको प्रचारप्रसार तथा व्यावसायिक छलफल, गुटगत भेला, राजनीतिक समर्थन जुटाउन दौडधुपमा व्यस्त देखिन्छन् । अन्य पदाधिकारीको पदका लागि पनि व्यवसायी प्रचारमा जुटेका छन् । टानको आगामी भदौँ २० गते ४१औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिका लागि निर्वाचन हुदैँछ ।

टानलाई व्यावसायिक संस्थाको रुपमा स्थापित गर्न सकभर सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयनको लागि पहल भइरहेको टानका अध्यक्ष नवराज दाहालले बताए ।
उहाँले व्यावसायिक एकताको सन्देश दिन पनि नेतृत्व सर्वसम्मत चयनका लागि पहल भइरहेको र त्यो सम्भव नभए निर्वाचनमा जाने उल्लेख गरे ।
नजिकिएको नेपाल भ्रमण वर्ष अभियानलाई पनि सार्थक तुल्याउन व्यावसायिक एकता अपरिहार्य रहेकाले पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक पहल गरिएको अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्षका दावेदारले संस्थाको नेतृत्वका लागि आ–आफ्नो अपरिहार्यता र महत्वकांक्षी कार्ययोजनासमेत अघि सारेका छन् । अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदीले टान नेतृत्वका लागि आफूले उम्मेदवारी घोषणा गरेको र समूह निर्माणमा जुटेको राससलाई जानकारी दिए ।

“आफूप्रति व्यवसायीको विश्वास रहेको र संस्थालाई फरक ढङ्गले अघि बढाउने उद्देश्यले प्रतिस्पर्धामा होमिएको छु”, उनले भने ।अध्यक्षको दावेदार पर्यटन व्यवसायी लम्सालले पदयात्राभित्रको विकृति नियन्त्रण गर्न एक मात्र अर्जुन दृष्टिसाथ नेतृत्वमा जान चाहेको स्पष्ट पारे । उनले छिट्टै आफ्नो समूह बनाएर निर्वाचनका एजेण्डा घोषणा गर्ने बताए ।

अध्यक्षका अर्का आकाङ्क्षी व्यवसायी थापाले व्यवसायीको सुझावका आधारमा टानलाई व्यावसायिक संस्थाको रुपमा स्थापित गर्ने लक्ष्यसाथ नेतृत्वमा जान चाहेको बताउँदैँ समूह बनाउन छलफल गरिरहेको उल्लेख गरे । त्यस्तै अर्का आकाङ्क्षी बाँस्तोलाले टानको विश्वसनीयता अभिवृद्धि गरी यसको भूमिकालाई बढाउँदै भ्रमण वर्ष २०२० लाई सफल बनाउन व्यवसायीको तर्फबाट आफूले पहल गर्ने बताए।

पछिल्लो समयमा विभिन्न पर्यटकीय संस्थामा राजनीतिक गुटबन्दी हुने गरेको छ । पर्यटन क्षेत्रसँग आवद्ध झण्डै ४० सङ्घ संस्था छन् । मुख्यतः टान, नेपाल पर्वतारोहण सङ्घ, नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभललगायत संस्थाको विगतमा भएका निर्वाचनमा विभिन्न राजनीतिक दल निकट भएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए ।

व्यावसायिक संस्थाभित्र राजनीति हाबी हुँदा समग्र पर्यटनका गतिविधिमा एकता र प्रवद्र्धन प्रभावकारी नहुने यस क्षेत्रका विज्ञ बताउँछन् । निर्वाचनका लागि कार्यसमिति बैठकले प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी कानूनी सल्लाहकार रमेश मैनालीलाई दिइएको छ ।

‘रवीन्द्र अधिकारी पर्यटन पुरस्कार’ स्थापना

टानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीको सम्मानमा रु ६० हजार राशिको ‘रवीन्द्र अधिकारी पर्यटन पुरस्कार’ स्थापना गरेको छ । कार्यसमिति बैठकले सर्वसम्मत् रुपमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको अध्यक्ष दाहालले जानकारी दिए। पुरस्कार साधारण सभामा दिइनेछ । पर्यटनकै गतिविधिमा क्रियाशील हुँदा विस २०७५ फागुन १५ गते ताप्लेजुङ्मा भएको हेलिकप्टर दुर्घटनमा परी दुःखद् निधन भएको थियो ।

टानले वितरण गर्ने पुरस्कारको छनोट गर्न पर्यटन व्यवसायी बोधराज भण्डारीको संयोजकत्वमा डम्बर पराजुली, पूर्णचन्द्र भुसाल, ङावा ङिमा शेर्पा र शीतलचन्द्र धरेल सदस्य रहेको समिति गठन गरेको छ । पुरस्कारमा नगद  २५-२५ हजार राशिको दुई जनालाई ‘टान पत्रकारिता पुरस्कार’ तथा रु ५० हजारको डा हर्क गुरुङ पुरस्कार,  ५० हजारकै टान पासाङल्हामु पुरस्कार,  १५ हजारको टान पेम्बा डोमा पुरस्कार र  ६० हजार राशिको टान रवीन्द्र अधिकारी पर्यटन पुरस्कार रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७