हराए २ हजार गाडी, दर्ता छ गाडी छैन


१२ श्रावण २०७६, आईतवार
kabad gadi 20190728002741

सुनसरी, १२ साउन । प्रदेश १ मा २० वर्ष पुराना गाडी २ हजार २ सय ५४ वटा छन् । नियमानुसार ती साधनको बक्यौता कर तिरेर लगत कट्टा गर्नुपर्छ । लगत कट्टा गरेर मात्र कबाडीका रूपमा बेच्न वा नष्ट गर्न पाइन्छ । २० वर्ष पुराना गाडी गुडाउन नपाइने नियम छ ।

अञ्चल यातायात कार्यालय इटहरीका अनुसार अहिलेसम्म ३९ वटा गाडीको मात्र लगत कट्टा गरिएको छ। तीमध्ये लगत कट्टाको निवेदन दिने त १८ वटा मात्र छन् । ३९ मध्ये २० वर्षभन्दा पुराना गाडी १८, आगजनीमा परेका ५, दुर्घटनामा परेका ६ वटा छन् ।

यातायात कार्यालयको यो तथ्यांक आधार मान्ने हो भने पनि १.७ प्रतिशत गाडीले मात्र लगत कट्टा गरेका छन् । बाँकी सवारी चलिरहेका छन् वा लगत कट्टा नै नगरी नष्ट भइसके, खोजी गरिएको छैन । दर्तामा देखिन्छन्, तर अस्तित्वमा भेटिँदैनन् ।

२० वर्ष पुराना सवारीसाधन प्रायः व्यवसायीले सुटुक्क कबाडीमा लगेर बेचिदिने गरेका छन् । केही समयअघि आफ्नो बस कबाडीमा बेचेका एक व्यवसायीले झन्झटिलो व्यवस्थाका कारण थाहा हुँदाहुँदै पनि लगत कट्टा नगरी कबाडीलाई सामान बेचेको बताए । ‘यातायात लग्यो भने कर तिर्नुर्पयो, चेसिस काटेर लानुपर्‍यो, धेरै झन्झट छ,’ उनले भने, ‘त्यसैले सुटुक्कै बेचिदिन्छौं ।’

प्रत्येक बसले वार्षिक ६० हजार रुपैयाँ हाराहारी राजस्व बुझाउँछ । आयकर, सवारीसाधन कर, पर्मिट, ब्लुबुक नवीकरण, जाँच पासलगायतका शीर्षकमा बक्यौता रकम अन्तिममा लगत कट्टा गर्दा बुझाउनुपर्ने हुन्छ । उक्त रकम नबुझाई साधन नष्ट गर्दा राज्यको लाखौं रुपैयाँ कर गुम्ने गरेको छ ।

कार्यविधि नहुँदा समस्या

यातायात व्यवस्था कार्यालय कोसीका प्रमुख भीम गौतमका अनुसार पुराना साधनको तथ्यांक निकाल्ने काम भइरहेको छ । कर्मचारी अभावमा त्यस्ता साधनको खोजी गर्न नसकिएको उनले बताए । गौतमले भने, ‘अहिले तथ्यांक तयार पार्दैछौं, त्यसपछि सूचना दिएर खोजी र अनुगमन शुरु गर्छौं ।’

गौतमका अनुसार त्यस्ता साधन सहरबजारभन्दा पनि पहाडी क्षेत्र वा ट्राफिकको पहुँच नभएका ठाउँमा हुन सक्छ । यातायात व्यवस्था कार्यालय आफैंले भने २० वर्ष बढी पुगेका तीनवटा सवारी जफत गरेको छ । गौतमका अनुसार जफत गरिएका साधन नै के गर्ने भन्ने पनि समस्या छ । ‘बक्यौता कर बाँकी हुने हुँदा कवाडीका रूपमा बेच्न वा लिलामी गर्न पनि सक्दैनौं,’ उनले भने, ‘थन्काउन पनि नियमकै अभाव छ ।’

उनका अनुसार कार्य्विधि आएपछि सजिलो हुनेछ । लगत कट्टाका लागि भने सूचना अभाव कारक हुन सक्ने उनी बताउँछन् । २० वर्ष पुराना सवारीसाधन चलाउन नपाइने नियम धेरैलाई थाहा भए पनि लगत कट्टा गर्नुपर्छ भन्ने थाहा नभएको पनि हुन सक्ने उनी बताउँछन् ।

लगत कट्टा गर्न झन्झटिलो

यातायात व्यवसायीले भने २० वर्ष पुराना सवारीका विषयमा सरकारले गरेको निर्णय अवैज्ञानिक भएको भन्दै विरोध जनाउँदै आएका छन् । उनीहरुले सवारीको इन्जिन फलामले बनेको हुँदा फलाम आफंैमा पुरानो नहुने बरु सर्भि्सिङ आवश्यक पर्ने बताउँदै आएका छन् ।

तर सरकारले ल्याइसकेको नियम मानेरै २० वर्ष पुराना सवारीसाधन सञ्चालन बन्द रहेको उनीहरूको भनाइ छ । २० वर्ष पुगेका सवारी साधनले न रुट पर्मिट पाउँछन्, न बिमा हुन्छ, न त ब्लुबुक नै नवीकरण हुन्छ ।

कोसी बस व्यवसायी तथा यात्रु सेवा प्रालिका अध्यक्ष कृष्णप्रसाद सुवेदीका अनुसार कम्पनीले त्यस्ता सवारीलाई दुर्घटना कोष पुर्जी पनि दिँदैन । तर, लगत कट्टा गर्ने प्रक्रिया नै अव्यावहारिक र झन्झटिलो भएकाले सवारीधनी सवारीलाई सीधै कबाडीलाई बेचिदिन्छन् ।

उनका अनुसार लगत कट्टा गर्नका लागि सवारीसाधनको चेसिस काटेर लानुपर्ने नियम छ। त्यस्तै इन्जिन नम्बरका लागि इन्जिनको प्लेट पनि काटेर यातायात कार्यालय लानुपर्छ । ‘कुनै गाडीको चेसिस काट्न धेरै गाह्रो हुन्छ,’ उनले भने, ‘लेलेन्ड गाडीहरुको त चेसिसमै इन्जिन नम्बर लेखेको हुन्छ, काट्न पनि गाह्रो हुन्छ ।’

सुनसरीकै हकमा चेसिस काट्ने सुविधा इटहरीमा छैन । इनरुवा पुग्नुपर्छ । जसले गर्दा ढुवानी लागत पनि महँगो पर्न जान्छ । एकातिर बक्यौता कर बुझाउनुपर्ने झन्झट त छँदैछ, अर्को्तिर चेसिस र इन्जिन काटेर ओसार्नुपर्ने बाध्यताका कारण कतिपय सवारीसाधनहरू यातायात कार्यालय नपुगी नष्ट पारिन्छन् । ‘बस र ट्रक एकदेखि दुई लाख रुपैयाँमा बेचिन्छ,’ उनी भन्छन्, ‘चेसिस काट्न, लगेर देखाउन र बक्यौता कर तिर्न थाल्यो भने त्यही पैसा पनि सकिन्छ ।’

‘सडकमा छैनन् सवारी’

१ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयले भने अनुगमना क्रममा २० वर्ष पुराना ४३ वटा सवारी नियन्त्रणमा लिई लगत कट्टाका लागी यातायात व्यवस्था कार्यालय पठाएको जनाएको छ । जसमध्ये ट्रक १२, जिप ८, भ्यान ८, पिकअप ६, ट्यांकर ३ र बस ६ वटा छन् ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालका अनुसार पुराना सवारी बाटोमा भने नदेखिएको तर घर वा ग्यारेजमा राखेको हुनसक्छ । त्यस्तै कति साधन सीधै कबाडीकहाँ लगेर नष्ट गरिएको हुनसक्ने उनले बताए । ‘पुराना सवारीसाधन सडकमा भने गुडेका छैनन्, भेट्ने बित्तिकै हामी समातेर कारबाही गरिहाल्छौं,’ उनले भने ।

ल्यान्डरोभर चल्ने

सरकारले पहाडी क्षेत्रमा गुड्ने ल्यान्डरोभर गाडीलाई भने २० वर्ष पुरानो भए पनि चल्न दिने निर्णय गरिसकेको छ । शक्तिशाली इन्जिन भएका दोस्रो विश्वयुद्धपछि नेपाल भित्रिएको यो गाडी पहाडी भू–भागको निर्विकल्प सवारी बनेको छ ।

इलाम, पाँचथर, संखुवासभा, ताप्लेजुङ लगायतका पहाडी क्षेत्रमा यी गाडी पुरानै भए पनि नयाँ अन्य सवारीसाधनभन्दा शक्तिशाली र भरपर्दो मानिन्छ । खाल्डाखुल्डी र भीर, पाखामा सजिलै चढ्ने भएकाले यसलाई बाँदरे गाडी समेत भनिन्छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७