एक्लिँदै आमा–बाबु


१२ श्रावण २०७६, आईतवार
Old women reading book PciEee8Mob

काठमाडौं, १२ साउन । हरेक वर्ष आमाबाबुको मुख हेर्ने दिन धेरैको सामाजिक सञ्जालमा आमा–बाबुको फोटो टाँसिएका भए पनि अचेल आमा–बाबु भने एक्लिँदै गएका छन् । खास गरी बुढ्यौली लागेपछि बाबु–आमा एक्लोपन, बेवास्ता, हिंसा र दुव्र्यवहारको सिकार हुनु परेको विभिन्न अध्ययनले देखाएको छ ।

रामेछाप बेथानकी माइली तामाङ (७९)का नाति नातिनीसहित छ सन्तान छन् तर उनी भने गाउँमा एक्लै बस्छिन् । छोरा बुहारी, नाति नातिनी सबै काठमाडौँ बस्छन् । वर्षको दुई–चार दिनका लागि घर आएर फर्कन्छन् उनीहरू ।

वर्षभरि एक्लै बस्ने उनका लागि कहिलेकाहीँ बिसन्चो हुँदा पानी खुवाउने साथी पनि कोही छैन । ‘छोरा बुहारी कामबाट फुर्सद पाउँदैनन्, नाति नातिनी पढाइबाट’, उनी भन्छिन् । रामेछापबाटै टेलिफोनमा उनले भनिन्, ‘एक्लै पकाउने खाने गर्दै काल कुर्दैछु । काम गर्न नसकेपछि कति कोदो मकै फल्ने बारीहरू बाँझै छन् ।’ यसरी छोराछोरी गाउँ छाडी सहर र विदेश जाँदा गाउँमा अचेल ज्येष्ठ नागरिक मात्र बाँकी रहेको उनले दुःखेसो पोखिन् ।

राष्ट्रिय मानवअधिकार आयोगले गएको चैतमा देशभरिका ज्येष्ठ नागरिक आश्रमको अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्‍यो । त्यस प्रतिवेदनमा एक दिवा सेवा केन्द्रमा भेटिएकी ज्येष्ठ नागरिकको गुनासोलाई यसरी लेखिएको छ, ‘घरको कुरा बाहिर भने इज्जत जान्छ ।

पति छउन्जेल दुःख थिएन, पीर थिएन, खान लाउन समस्या थिएन । गाउँमा परिवारको इज्जत पनि छ । छोरा बुहारी दुवै काममा जान्छन्, नाति नातिनी स्कुल । घरमा भए नि मसँग कोही बोल्दैनन्, सबै आ–आफ्नै धुनमा । मेरो जस्तै अवस्था छिमेकी दिदीको पनि छ । हामी घरमा खाना खाएर दिवा सेवा केन्द्र आउँछौँ । दिदी बहिनी कोठाको कुनामा बसेर दिनभरि रुन्छौँ, मनको बह पोख्छौँ । आँशु बगेपछि मन हलुका हुन्छ, घर फर्कन्छौँ ।’ गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७