टी–२० विश्वकप खेल्ने नेपालको सपना तुहियो, सिङ्गापुरसँग नमिठो पराजय


१२ श्रावण २०७६, आईतवार
cricket 2

काठमाडौं, १२ साउन । टी–२० विश्वकप खेल्ने नेपालको सपना तुहिएको छ । आईसीसी वरीयतामा आफूभन्दा निकै तल रहेको टिम सिङ्गापुरसँग ८२ रनले पराजित भएपछि नेपालको टी–२० विश्वकप सपना यो संस्करणमा पूर्णविराम लागेको छ ।

सिङ्गापुर प्रस्थान गर्नुअघि नेपाल उपाधिको प्रमुख दावेदार थियो । किनकी नेपाल आईसीसी वरीयतामा ११ औं स्थानमा थियो । बाँकी सबै निकै तल थिए । तर, पहिलो खेलमै २१ औं वरीयताको कतारसँग पराजित भएपछि नेपाललाई धक्का पुग्यो ।

त्यसपछिका बाँकी २ खेलमा ३५ औं वरीयताको मलेसिया र २८ औं वरीयताको कुवेतलाई नेपालले सजिलै हरायो । घरेलु टोली सिङ्गापुरविरुद्धको खेलमा पराजित भएपछि नेपाली खेलाडीका लागि बिर्सनलायक प्रतियोगिताको अनुभव रह्यो ।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी २० विश्वकप खेलेको थियो । दोस्रोपल्ट विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालले एसियाली छनोट नै पार गर्न सकेन । सिङ्गापुरले अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुने ग्लोवल क्वालिफायर खेल्ने भएको छ ।

फाइनलसरह रहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरबिरुद्ध नेपाली बलरहरु प्रभावहीन रहे । अविनाश बोहोराले अन्तिम ओभरतिर ४ विकेट झारे पनि अन्य सबै महंगा बने । सुपरस्टार स्पिनर सन्दीप लामिछाने र बसन्त रेग्मीले ४ ओभरमा ५० रन खाए ।

सिङ्गापुरले शुरुदेखि नै आक्रामक ब्याटिङ गर्‍यो । दोस्रो ओभरमा ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई गुमाए पनि त्यसपछि आएका तिमोथी डेविडले अर्का ओपनर रोहन रंगराजनसँग मिलेर दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे । १०.४ ओभरमा रंगराजनलाई अविनाश बोहोराले ४९ रनको व्यक्तिगत स्कोरमा आउट गरे ।

चौथो नम्बरमा ब्याटिङमा आएका मनप्रित सिंहसँग मिलेर डेविडले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । डेविडले ४३ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ७७ रन बनाए । बने मनप्रितले २७ बलमा ४२ रन जोडे । सिंगापुरले अन्तिम ३ ओभरमा ४ विकेट गुमाएको थियो ।

नेपालका लागि अविनाशले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीले २ विकेट झारे ।
विशाल लक्ष्य पछ्याएको नेपालका लागि ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्लले २७ रनको साझेदारी गरेका थिए । सिङ्गापुरका कप्तान अम्जाद मेहवुवको बलमा ठूलो शट प्रहार गर्न खोज्दा पारस मिडअन क्षेत्रमा क्याच आउट भएका हुन् ।

उनले १० बलमा १ चौका र १ छक्कासहित १२ रन जोडे । त्यसपछि आएका शरद भेषावकरसँग मिलेर ज्ञानेन्द्रले थप २७ रनको साझेदारी गरे । सेलाडोर विजयकुमारको बलमा बोल्ड हुनुअघि ज्ञानेन्द्रले २१ बलमा ३९ रन जोडे ।

नेपालले सातौं, आठौं र नवौं ओभरमा लगातार विकेट गुमायो । ज्ञानेन्द्र आउट भएको अर्को ओभरमा अनन्था कृष्णाले शरद भेषावकरलाई आउट गराए । उनले ११ बलमा ७ रनमात्र बनाउन सके । यू१९ कप्तान रोहित कुमार पौडेललाई विजयकुमारले ५ रनको ब्यक्तिगत स्कोरमा कट एन्ड बोल्ड गरे ।

विजयकुमारले ११ औं ओभरमा २ विकेट झारे । १०.२ ओभरमा विकेटकिपर ब्याट्सम्यान विनोद भन्डारी ९ रनको स्कोरमा आउट गराएका उनले १०.४ ओभरमा करण केसीलाई पनि पेविलियनको बाटो देखाए । करणले खाता खोल्नै सकेनन् ।

१३.२ ओभरमा सोमपाल कामी दुर्भाग्यबस रनआउटको शिकार हुँदा नेपाल १००–७ को नाजुक स्थितिमा पुग्यो । त्यही ओभरको पाँचौं बलमा सन्दीप लामिछाने पनि आउट भए । १५ औं ओभरको पाँचौं बलमा दीपेन्द्र सिंह ऐरी २२ रनको स्कोरमा आउट भएपछि नेपालको झिनो आशा पनि समाप्त भयो । नेपाल १५ ओभरमा १०९ रनमै अलआउट भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७