स्कुल विभागमै अड्कियो नेकपा, फेरि सर्‍यो सचिवालय वैठक


१२ श्रावण २०७६, आईतवार
ncp 1

काठमाडौं, १२ साउन । स्कुल विभाग र आयोगबारे अन्तिम छिनोफानो लगाउन आज (आइतबार) दिउँसो बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि सरेको छ ।

नेकपाका नेताहरुले अब एकीकरणको बाँकी काम धेरै नरहेको बताइरहेका बेला स्कुल विभागमा बढ्दै गएको विवादका कारण नेकपाको एकीकरण नै अड्किन पुगेको छ । नेकपाका सचिवालय सदस्यं एवं प्रवक्ता नाराणकाजी श्रेष्ठले बैठक सोमबारसम्मका लागि सरेको जानकारी दिएका छन् ।

नेकपाले आइतबार अपरान्ह ३ बजे सचिवालयको बैठक बोलाए पनि बैठक नबसी स्थगित भएको हो । अर्को बैठक सोमबार दिउँसो ३ बजे बोलाइएको प्रवक्ता श्रेष्ठले बताएका छन् । स्कुल विभागको नेतृत्व कसलाई दिने भन्ने विषयमा नेकपामा विवाद बढिरहेको छ । ऊ विभागमा पूर्व एमालेबाट ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठले दावी गर्दै आएका छन् ।

संगठन र विदेश विभाग पूर्व एमालेले लिन सहमति यसअघि नै भइसकेको छ । संगठन र विदेश पूर्व एमालेले लिएपछि स्कुल विभाग आफूले पाउनुपर्ने पूर्व माओवादी समूहले दावी गर्दै आएको छ ।

पूर्व माओवादीले स्कुल विभागलाई ‘बटमलाइन’ बनाउँदै कुनै पनि हालतमा लिइछाड्ने बताएपछि स्कुल विभागमा थप विवाद भएको हो । पूर्व एमाले समूहबाट झलनाथ खनाल, घनश्याम भुसाल र वेदुराम भुसालले पनि स्कुल विभागमा आफूलाई दिइनु पर्ने दावी गर्दै आइरहेका छन् ।
दुवै अध्यक्षको छलफलपछि बैठक सारिएको प्रचण्डका सचिवालय सदस्य विष्णु सापकोटाले जानकारी दिएका छन् ।

‘दुवै अध्यक्षबीच आइतबार बिहान भेटघाट भएको हो । स्कुल विभागमा सहमति नजुटेपछि सहमतिका लागि बैठक सारिएको हो’, सापकोटाले भने । स्कुल विभागमा सहमति जुट्न नसकेपछि यसअघि पनि सचिवालय बैठक पटक–पटक सरेको थियो । एउटा स्कुल विभागका लागि धेरै नेताहरुले दावी गरेपछि समस्या सुल्झाउन कठिन परेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७