कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प


१२ श्रावण २०७६, आईतवार
pahiron

सुर्खेत, १२ साउन । कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

उनका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । ‘यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो’, प्रजिअ कार्कीले भने, ‘ पहिरोको प्रकृति हेर्दा तुरुन्तै पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै समय लाग्ने अवस्था छ ।’

पहिरोको स्थिति बुझ्न प्रजिअ कार्कीसहितको टोली र सडक डिभिजन कार्यालयबाट इञ्जिनीयरसहितको टोली त्यसतर्फ गएको छ । कर्णाली राजमार्गअन्तर्गतको कालेखोलामा माथिबाट झरेको चट्टानसहितको पहिरोका कारण करिब ४० मिटर सडक भासिएकाले सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रजिअ दुर्गा बञ्जाडेले अबरुद्ध बाटोका कारण यात्रुलाई आवत–जावत नगर्न सचेत गराएका छन् । सडक अवरुद्ध हुँदा सुर्खेत, नेपालगञ्ज हुँदै कालीकोटका लागि छुटेका मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन् । सानो तिनो उपकरणले बाटो खुलाउन नसकिने भएकाले ठूलो उपकरणको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक यातायात अबरुद्ध भएपछि जुम्लाबासीलाई हवाई यातायातको भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७