ओठ फुट्नबाट बचाउने घरेलु उपाय


२ पुष २०७४, आईतवार
love lips wallpaper

ओठ शरीरको सानो भाग भए पनि यो फुट्यो भने धेरै समस्या पर्छ । केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ ।love lips wallpaper
केही सावधानी र घरेलु विधिले पनि ओठ फुट्नबाट बचाउन सकिन्छ । चिसो मौसममा बाहिर ननिस्केमा पनि ओठ फुट्नबाट बचिन्छ, तर यो सम्भव हुँदैन । त्यसैले बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सूतीको कपडाले हल्का पुछेर निस्केमा केही रक्षा हुन सक्छ ।
पहिलो विधि भनेको ओठ चुस्ने वा चाट्ने वानी हटाउनु पर्छ । ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन् । यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुख्खा हुन्छ ।  बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ । विशेष गरी यो बालबालिकालाई देखापर्ने समस्या भए पनि कहिलेकाहीँ ठूला व्यक्तिहरूमा पनि देखापर्छ ।
घरेलु उपचारमा ओठमा मह लगाउँदा ओठ फुट्दैन । त्यसैगरी घीउ र नरिवलको तेल लगाउँदा पनि ओठ फुट्नवाट बच्न सकिन्छ । राती सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ ।
शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ । त्यसैले  पानी धेरै पिउनु पनि यो समस्याबाट बँच्ने उत्तम विधि हो । वाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बँच्न सकिन्छ ।
जाडोमा दैनिक सुन्तला र वदाम सेवन गर्नाले पनि ओठ फुट्ने समस्याबाट बँच्न सकिन्छ । घरेलु विधि प्रयोग गर्दा पनि ओठ फुट्ने समस्या देखिएमा छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ । कहिले काँही रोगका कारण पनि ओठ फुट्न सक्छ । चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ । कहिले काँही शरीरले प्राकृतिक रुपमा ओठमा तेल उत्पादन गर्ने प्रक्रियामा कमी आएर पनि ओठ फुट्न सक्छ ।
ओठ फुट्दा सुरुआतमा ओठको माथिल्लो भागमा के–के भएजस्तो हुन सक्छ । ज्वरो आएको बेला वा जाडो भएको बेला यो बढी हुन्छ । यस्तो बेलामा पहिले छाला रातो हुन्छ, चिलाउँछ घाउजस्तो भएर सुन्निन्छ । यस्तो बेलामा ऐना हेरेर हातले ती घाउ वा फोकाहरू छुन मन लागिरहने वा जिब्रोले चलाइरहन मन लाग्ने हुन्छ । यस्तो किसिमको घाउ एक प्रकारको जीवाणुबाट हुन्छ । कसैकसैलाई यो बारम्बार भइरहन्छ । यो बेलामा घाउलाई सकेसम्म सफा र सुख्खा राख्नुपर्छ । कहिलेकाहीँ मात्रै यसमा पीप आउन सक्छ । हातले छुने गर्नु हुँदैन ।
यसै गरी हात खुट्टाका छाला खस्रो हुनु र फुट्नु पनि शरीरले तैलीय पदार्थ उत्पादन कम गरेका कारणले हुने अवस्थाहरू हुन् । यस कारण शरीरका हावा पर्ने भागमा चिल्लो पदार्थ/तैलीय पदार्थ दली फुट्न नदिन नरम पारेर राख्न सकिन्छ ।

-स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७