दीलिपकी छोरीले ‘लक्का जवान’ नखेल्ने


१३ श्रावण २०७६, सोमबार
Divya Rayamajhi2

काठमाडौं, १३ साउन । एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले आफ्नो पिताको बिंडो थाम्न लागेको चर्चाले केही दिनयता फिल्मवृत राम्रै तातेको छ ।

हाँस्य कलाकार शिवहरि पौडेलले फिचर फिल्म निर्देशनमा हात हाल्न लागेको ‘लक्का जवान’ बाट उनलाई डेब्यू गराउने तयारी चलेको थियो । तर, अध्ययनका कारण दिव्याले तत्काल फिल्म नगर्ने भएकी छन् ।

दीलिप रायमाझी र किरण केसी सहनिर्माता रहेको फिल्ममा दिव्यालाई लिन आफूले पहल गरेता पनि अध्ययन पूरा नभएका कारण सम्भव नभएको शिवहरिले बताएका छन् । उनी भन्छन्, ‘हो, हामीले दिव्यालाई फिल्ममा डेब्यू गराउन खोजेका थियौं । तर, उनको अध्ययन पूरा हुन अझै एक वर्ष लाग्ने रहेछ । अध्ययनका कारण समय निकाल्न नसक्ने भएपछि उनले फिल्म नगर्ने पक्का भइसकेको छ ।’

दिव्या केही वर्षयता अमेरिकामा अध्ययन गर्दै आइरहेकी छन् । फिल्ममा डेब्यू नगर्दै उनको सुन्दरताको फिल्म क्षेत्रमा चर्चा शुरु भएको छ । उनका क्यूट तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै छाएका छन् । उनलाई फिल्ममा ल्याउन फिल्मकर्मीले दीलिपलाई पनि आग्रह गरिरहेका छन् । दिव्या पनि फिल्ममा काम गर्न इच्छुक रहेको बताइएको छ । तर, तत्कालका लागि अध्ययन बाधक बनेको छ ।

‘लक्का जवान’ मा दीलिप स्वयंको प्रमुख भूमिका रहनेछ । फिल्ममा अभिनेत्री प्रियंका कार्की अनुबन्ध भइसकेकी छन् । शिवहरिका अनुसार, फिल्मका लागि अझै एक नायक र एक नायिकाको आवश्यकता छ । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । फिल्म कमेडी प्रधान हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७