प्रदेशको राजधानी कपिलवस्तु बनाउन सांसदको माग


२ पुष २०७४, आईतवार
kapilvastu

जितपुर (कपिलवस्तु): प्रदेशको राजधानी कपिलवस्तु बनाउन यहाँबाट नवनिर्वाचित प्रतिनिधिसभाका सांसद तथा प्रदेशसभाका विधायकले माग गरेका छन् ।  शनिबार तौलिहवामा राखिएको सम्मान तथा स्वागत कार्यक्रममा सांसद तथा विधायकले हरेक दृष्टिले प्रदेशको राजधानी कपिलवस्तु नै उपयुक्त हुने भन्दै राजधानी बनाउन जोडदार माग गरेका हुन् ।kapilvastu
भगवान् गौतम बुद्धका पिता शुद्धोधनको राजधानी तिलौराकोट रहेको र बुद्धसँग सम्बन्धित सयबढी पुरातात्विकस्थल यस जिल्लामा रहेकाले प्रदेश नं ५ को राजधानी कपिलवस्तु नै अति उत्तम हुनेमा सबैको जोड थियो ।
कपिलवस्तु क्षेत्र नं १ का नवनिर्वाचित सांसद चक्रपाणि खनाल (बलदेव)ले भौगोलिकरुपमा पनि ५ नं प्रदेशको केन्द्र कपिलवस्तु नै पर्ने र सांस्कृतिक, पुरातात्विक दुवै हिसाबले राजधानीका लागि उपयुक्त ठाउँ भएको विचार व्यक्त गरे ।
त्यस्तै अर्का सांसद बृजेशकुमार गुप्ताले पनि बौद्धकालीन संघीय राज्य कपिलवस्तु रहेको र गणतन्त्रको संघीय राजधानी पनि कपिलवस्तुमै हुनुपर्ने जिकिर गरे ।
कार्यक्रममा प्रदेश विधायक विष्णु पन्थी, दीर्घनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव, अर्जुन केसी लगायतले पनि प्रदेश राजधानी कपिलवस्तु बनाउन सदन तताउन परे पनि तयार भएको उद्घोष गरे ।
पूर्वाधार अध्ययनका लागि प्रधानमन्त्री कार्यालयबाट खटिएको सरकारी टोलीले बुटवलमा पर्याप्त पूर्वाधार भेटिएकाले तत्काल प्रदेश राजधानीका रुपमा बुटवल नै उपयुक्त हुने निष्कर्ष निकालेकै दिन कपिलवस्तुका सांसदको भने यस्तो भनाइ आएको हो ।
उता संविधानको धारा २८८ को उपधारा २ मा भने संविधानबमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ भन्ने कुरा उल्लेख छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७