मुक्तिनाथको रानीपौवामा यार्तुङ महोत्सव


१५ श्रावण २०७६, बुधबार
Basudev Paudel Pokhara RSS mukti chetra

मुस्ताङ, १५ साउन । हिमाल पारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा यही साउन २७ देखि ३० गतेसम्म यार्तुङ महोत्सव हुने भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले जानकारी दिए ।

हिमाली संस्कृतिको जीवन्तता र यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आयोजित महोत्सवमा याकमा सवार, ऐतिहासिक घोडा दौड, परम्परागत ताराखेल, सेवेन ए साइड फुटबल प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।

महोत्सवमा गाउँपालिकाभित्रका १९ वटा गाउँको परम्परागत वेषभूषा प्रदर्शनका साथै त्यहाँका विविध संस्कृति देखाइने छ । महोत्सवमा करीब १० हजारले अवलोकन गर्ने जानकारी दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले महोत्सवमा रु २० लाख खर्च लाग्ने अनुमान गरिएको बताए । उनका अनुसार महोत्सवमा करीब रु दुई करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको छ ।

हिमाली क्षेत्र र त्यहाँको संस्कृतिले पर्यटकीयरुपमा ठूलो महत्व राख्ने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए । मुक्तिनाथ यार्तुङ महोत्सवसँगै त्यहाँ हुने विविध सांस्कृतिक कार्यक्रमका साथै साहसिक पर्यटनका खेलका कारण त्यहाँको संस्कृति जगेर्नामा महत्वपूर्ण सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७