मोवाइल चार्जमा राखेर गेम खेल्दा गयो ज्यान


१६ श्रावण २०७६, बिहीबार
mobile current

विराटनगर, १६ साउन । मोबाइल चार्जमा राखेर गेम खेल्दा मोरङको लेटाङ नगरपालिकामा एक जनाको करेन्ट लागेर ज्यान गएको छ ।

बिहीबार बिहान मोवाइल चार्जमा राखेर गेम खेल्दा करेन्ट लागेर एक बालकको मृत्यु भएको हो । लेटाङ–३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय सौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले जानकारी दिएका छन् ।

डीएसपी खिउजुका अनुसार सौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुवै जना एउटै खाटमा सुतेका थिए । सौजनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको र मृत्यु भएको खिउजुले बताएका छन् । चार्ज गर्दै मोबाइलमा गेम खेलिरहेका उनलाई एक्कासी करेन्ट लागेको उनले बताएका छन् ।

खिउजुका अनुसार सुरजले खाटको भित्तापट्टी सुतेको साथी एक्कासी छट्पटाउन थालेपछि बुवा–आमालाई बोलाएका थिए । चार्जमा रहेको मोबाइलबाट सौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीको भनाइ छ ।

करेन्ट लागेका बेला मोबाइल सौजनको हातमै थियो । घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ । सौजनको घाँटीमा डढेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको डीएसपी खिउजुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७