मिरुनाले मुख खोलिन्, ‘प्रदीपसँग अफेयर थिएन’


१६ श्रावण २०७६, बिहीबार
miruna 3

काठमाडौं, १६ साउन । अभिनेत्री मिरुना मगरको सुन्दरता र मिठो मुस्कानको जोकोही प्रशंसक छन् । उनको अभिनय रुचाउने दर्शक पनि बढिरहेका छन् । लण्डनकी रैथाने उनले दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लालपूर्जा’ बाट डेब्यू गरेकी थिइन् । फिल्ममा उनी अभिनेता सौगात मल्लको अपोजिटमा थिइन् । रिलिजपूर्व फिल्मको चर्चा राम्रो भएता पनि हलमा व्यापार गतिलो गर्न सकेन । न त उनको अभिनयको प्रशंसा भयो ।

डेब्यू फिल्म फ्लप भएपछि उनी नराम्रोसँग हच्किइन् । तर, हार खाइनन् । केही महिना लण्डन बसेपछि उनको हातमा बिग प्रोजेक्ट पर्‍यो, ‘रोज’ । फिल्ममा अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्का प्रमुख भूमिकामा थिए । मिरुनासँगै अभिनेत्री परमिता आरएल राणाको पनि अभिनय थियो । लोभलाग्दो स्टारडम भएका प्रदीपका कारण रिलिजपूर्व फिल्मलाई ‘स्योर सट’ हिट मानिएको थियो । तर, यो फिल्मले पनि हलमा हावा खायो ।

यद्यपि, मिरुनालाई यो फिल्म असफल भएपछि खासै निरास हुनु परेन । किनकी उनको अभिनय रुचाइएको थियो । प्रदीपसँग उनको जोडीलाई पनि दर्शकले मन पराए । बजारमा गाईंगुईं प्रदीपसँग अफेयरको हल्ला पनि फैलियो । यसले उनलाई दर्शकमाझ अझ राम्रोसँग चिनायो । दुई फिल्मको असफलतापछि फिल्म छनोटमा गम्भीर देखिएकी उनको नयाँ फिल्म ‘साइनो’ यही साउन २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेका कारण यो फिल्ममाथि फिल्मकर्मी र दर्शक सबैमा ठूलो आशा छ । अभिनेत्री मिरुना पनि फिल्म दर्शकले रुचाउने र सफल हुनेमा विश्वस्त छिन् । राम्रो स्क्रिप्ट र राम्रो टीमका कारण फिल्ममा काम गरेको बताउँदै उनी भन्छिन्, ‘नेपालको प्रथम अभिनेत्रीको फिल्ममा आफू हुन पाउनु एकदमै लक्की फिल गरेकी छु । स्क्रिप्टमा जुन क्यारेक्टर थियो त्यसले लोभ्याएर पनि मैले यो फिल्म गरेकी हुँँ ।’

यो फिल्मले आफ्नो करिअर अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । यसअघि आफूले दुई फिल्ममा निर्वाहा गरेको भूमिकाभन्दा दर्शकले यसमा धेरै फरक पाउने उनको दाबी छ । मिरुना अगाडि भन्छिन्, ‘अघिल्ला दुई फिल्ममा मैले शहरकी युवतीको भूमिका निभाएकी थिएँ । यसमा ग्रामिण परिवेशमा हुर्किएको युवतीको भूमिकामा छु ।’ गाउँले भूमिका गर्न पाउँदा आफूलाई खुसी महशुस भएको उनी बताउँछिन् ।

उनले आफूलाई दर्शकमाझ चिनाएको फिल्मको नाम पनि खुलाइन् । ‘लालपूर्जा’ र ‘रोज’ मा तपाईंलाई दर्शकमाझ कुनले चिनायो जस्तो लाग्छ ? भन्ने प्रश्नमा उनले सोच्न समय लगाइनन् । आफूलाई दर्शकमाझ ‘रोज’ ले चिनाएको उनले बताइन् । प्रदीप खड्का भएका कारणले हो ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘हुनसक्छ । उहाँको पनि ठूलो योगदान छ । उहाँले गरेको फिल्ममा जुन प्रकारको प्रचार हुन्छ त्यसले पनि हो जस्तो लाग्छ ।’

प्रदीपलाई ‘सुपरस्टार’ भन्दै भविष्यमा पनि सँगै काम गर्ने इच्छा रहेको मिरुनाले बताइन् । तर, उनले प्रदीपसँग अफेयरको चर्चाको भने खण्डन गरिन् । उनी भन्छिन्, ‘हामी साथी मात्र हौं । बजारमा के हल्ला चल्यो मलाई थाहा भएन ।’ ‘रोज’ असफल भए पनि आफ्नो काम रुचाइएका कारण अहिले धेरै राम्रा फिल्मबाट अफर आइरहेको उनी बताउँछिन् । तर, स्क्रिप्ट र टीम राम्रो भए मात्र फिल्म गर्ने उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७