मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक, मेघगर्जनसहित पानी पर्ने


१९ श्रावण २०७६, आईतवार
raining

काठमाडौं, १९ साउन । नेपाल भन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतिर सरिरहेकाले आइतबार साँझदेखि मनसुनी गतिविधि सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशभरको मौसम आशिंकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम जनाइएको छ ।

महाशाखाकी मौसमविद् विभुति पोखरेलले भन्छन्, ‘अहिले तराई भू–भागभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा आइतबार साँझसम्म तराई आसपास आइपुग्ने भएकाले आइतबार बेलुकीदेखि मनसुन केही सक्रिय हुने देखिएको छ ।’

यसैको प्रभावले केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए । महाशाखाका अनुसार अहिले देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । पहाडी भेगको केही ठाउँमा हल्का पानी परिरहेको छ ।

यस्तै आइतबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम किसिमको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनी गतिविधि कमजोर बनिरहेको छ । यो रेखा नेपालतर्फ सरेपछि कमजोर बनेको मनसुन सक्रिय हुनेछ ।

सोमबार पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने र राति पश्चिमको केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७