भारतीय लगानीको अरुण तेस्रोको २२ प्रतिशत काम सकियो


१९ श्रावण २०७६, आईतवार
arun

काठमाडौं, १९ साउन । भारत सरकारको लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजनाको २२ प्रतिशत काम सकिएको छ ।

भारत सरकारको स्वामित्वमा रहेको एसजेविएन कम्पनीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आइतबार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई भेटी आयोजनाबारे जानकारी दिएका छन् ।

भेटमा मन्त्री पुनले सरकारले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सीमाभित्र नै अरुण तेस्रो परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले नयाँ कार्यकारी अधिकृतलाई सफल कार्यकालको शुभकामना दिंदै आयोजना निर्माणमा समस्या देखिए सरकार सहजीकरण गर्न तयार रहेको बताए ।

‘सरकार र उर्जा मन्त्रालयले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रवन्धको व्यवस्था पनि हामीले मिलाएका छौं । तपाईंहरुले समयसीमा भित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने विश्वास हामीलाई छ,’ मन्त्री पुनले भेटमा भने ।

एसजेविएनका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण तेस्रो जलविद्युत परियोजना समय सीमाभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छज् । उनले सरकारको तर्फबाट सहयोग प्राप्त भइरहेको भन्दै स्थानीय जनताले समेत परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी दिएका छन् ।

धिमानले टनेलको १२ प्रतिशत कामसहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको जानकारी गराएका छन् । भेटमा मन्त्री पुनले टनेल, आयोजनाको अवस्था, सुरक्षा व्यवस्थालगायतको बारेमा चासो राखेको बताइएको छ। जवाफमा कार्यकारी अधिकृत धिमानले जग्गा अधिग्रहण, सुरक्षा अवस्था र परियोजनाको प्रगतिको बारेमा मन्त्री पुनलाई जानकारी दिनुका साथै आवश्यक सहयोग गरिदिन आग्रह समेत गरेको जनाइएको छ ।

९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित कूल विद्युतको झण्डै २२ प्रतिशत बिजुली नेपाललाई निःशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको आयोजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने गरी सरकारले सम्झौता गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७