अनेरास्ववियूको अबको कार्यभार

एल.के राई

-एल.के राई / इतिहासका हरेक कालखण्डमा भएका विद्यार्थी आन्दोलनहरुको नेतृृत्व अनेरास्वयवियूले गर्दै आइरहेको छ । आम विद्यार्थीहरुप्रतिको जिम्मेवारी, राष्ट्रियता, जनजीविका र विद्यार्थी वर्गको हकहित र अधिकार प्राप्तीको संघर्षमा जहिल्यै आफूलाई अग्रमोर्चामा उभ्याएर अनेरास्ववियूले आफूलाई ‘सडक बाघ’ को रुपमा स्थापित गरेको छ ।

०६२–०६३ को दोश्रो जनआन्दोलनको सफलता र ०७२ मा संविधान निर्माणपछि मुलुक स्थिरता र समृदितर्फ अगाडि बढेको छ । राजनैतिक अधिकार प्राप्तीका लागि अब नेपाली नागरिकले संघर्ष गर्नुपर्ने आवश्यकता छैन् । त्यसैले अनेरास्ववियु पनि अब शैक्षिक अन्दोलनमा केन्द्रित हुनुपर्छ ।

हुन त विद्यार्थी आन्दोलन शैक्षिक मुद्दा र जनजीविकाको सवालमा जहिल्यै प्रतिपक्षी भूमिकामा रहनु पर्ने हो । तर, नेपाली विद्यार्थी आन्दोलनले कहिल्यै एकमत भएर प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन । वर्तमान अवस्थामा पनि विद्यार्थी संगठनहरु एक भएर शैक्षिक रुपान्तरणका लागि संघर्ष गर्नुपर्ने अवस्थामा सरकारको विरोध र बचाउमा आफ्नो संघठनको समय बर्बाद बनाउँदै गएका छन् ।

अहिले नेपालको विद्यार्थी आन्दोलन एउटा गोलचक्करमा फसेको छ । यो गोल चक्करबाट नेपाली विद्यार्थी आन्दोलनलाई निश्चित दिशामा डोर्‍याउन अनेरास्ववियूले भूमिका खेल्नु आवश्यक छ । नेपाली विद्यार्थी आन्दोलनलाई सहि दिशामा ल्याएर शैक्षिक आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन अनेरास्ववियूले निम्न कार्यभारको जिम्मेवारी वहन गर्नुपर्ने अनिवार्यता छ :- 

एकताप्रक्रियाको पूर्णता
अनेरास्ववियू अहिले ऐतिहासिक एकताको चरणबाट गुज्रिरहेको छ । साविक अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बीच एकता भएपछि बनेको अनेरास्ववियू पूर्णरुपमा एक हुन सकेको छैन ।

यहि एकता प्रक्रियामा नेताहरुले जिम्मेवारी नपाउँदा सांगठनिक गतिविधहरु ठप्प प्राय छन् । त्यसैले अहिले अनेरास्ववियूले एकताको सम्पूर्ण कार्यहरु यथाशिघ्र्र सम्पन्न गरी संगठनलाई चुस्त र क्रियाशिल बनाउनु पर्छ । सांगठनिक एकता मात्र होइन नेता–कार्यकर्ताबीच भावनात्मक एकता पनि यथाशिघ्र हुनु पर्दछ ।

शैक्षिक र सांंगठनिक मुद्दामा संगठनलाई स्वतन्त्र बनाउने
अनेरास्ववियू आफैमा एक स्वतन्त्र संगठन हो । विचार र आस्थाका हिसावले अनेरास्ववियू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट छ । त्यसैले राजनैतिक रुपमा यसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदिशा अनुसार कार्य गर्नुपर्छ तर, सांगठनिक गतिविधि र शैक्षिक मुद्दाहरुमा स्वतन्त्र छ ।

तर व्यवहारिक रुपमा स्वतन्त्र हुन सकेको छैन् । सांगठनिक संरचना र शैक्षिक मुद्दाहरुमा अनेरास्ववियूले आफूलाई पार्टी हस्तक्षेपबाट मुक्त गराउनु पर्छ । र, आफ्ना सांगठनिक र शैक्षिक गतिविधि स्वतन्त्र ढङ्गले अगाडि बढाउनु पर्छ र संगठनहरुको नामको स्वतन्त्र भन्ने शब्दलाई सार्थकता दिन सक्नु पर्दछ ।

स्ववियु निर्वाचनको सुनिश्चितता
स्ववियु सबै विद्यार्थीहरुको साझा संस्था हो । स्ववियु विद्यार्थी संगठनहरुलाई क्रियाशिल बनाउने, शैक्षिक मुद्दाहरुलाई सम्वोधन गर्ने विद्यार्थीहरुको आधिकारिक साझा मञ्च हो । तर, विभिन्न विद्यार्थी संगठनहरुको आपसी बेमेलले स्ववियुको निर्वाचन अनिश्चित बन्दै गइरहेको छ ।

अन्य विद्यार्थी संगठनहरु कोही आन्तरिक कलह, कोही सांगठनिक कमजोरी र केहि संगठनहरु जनाधारको अभावमा स्ववियू निर्वाचनबाट भाग्दै गइरहेका छन् । देशका लागि योग्य नेता–कार्यकर्ता उत्पादन गर्ने र विद्यार्थीहरुको शैक्षिक मुद्दा वैधानिक तवरले समाधान गर्ने बैधानिकस्थल स्ववियुको निर्वाचन गराउन अनेरास्ववियूले मुख्य पहल कदमी लिनुपर्ने छ ।

राजनैतिक र वैचारिक कार्यकर्ता उत्पादन
कुनै पनि विद्यार्थी संगठन पार्टीको योग्य नेता–कार्यकर्ता उत्पादन गर्ने नर्सरी हो । अहिलेको अवस्थामा विद्यार्थी संगठनहरुका बैचारिक गविविधिहरु ठप्प प्राय छन् । विद्यार्थी वर्ग आफैमा चेतनशिल र शिक्षित वर्ग हो । तर, आम शिक्षित वर्गमा अहिले राजनीतिप्रति वितृष्णा छ ।

विद्यार्थीहरु राष्ट्र निर्माणका लागि राजनीतिमा आउनै पर्छ । यसका लागि राजनैतिक चेत जाग्न जरुरी छ । अझ अखिल जस्तो वाम आदर्शमा झुकाव राख्ने संगठनका नेता तथा कार्यकर्ताहरु वैचारिक हिसाबमा अब्बल हुनै पर्छ । त्यसैले अनेरास्ववियूले आफ्नो नेता तथा कार्यकर्ताहरुलाई वैचारिक, राजनैतिक रुपमा प्रशिक्षित गरी योग्य नेता तथा कार्यकर्ता उत्पादन गर्नुपर्छ ।

दुई किसिमको शैक्षिक उत्पादन बन्द गराउने
नेपालको वर्तमान शिक्षा प्रणालीले हाल दुई किसिमको शैक्षिक जनशक्ति उत्पादन गरिरहेको छ । शिक्षामा रहेको वर्गीय विभेदले फरक शैक्षिक उत्पादन गरिरहेको छ । हुने खाने वर्गका छोराछोरीहरु महँगो शैक्षिक शुल्क तिरेर निजी शिक्षण संस्थाबाट गुणस्तरीय शिक्षा हासिल गरी विकसित मुलुकमा पलायन भइरहेका छन् भने हुँदा खानेका छोराछोरी सामुदायिक शिक्षण संस्थाबाट शैक्षिक बेरोजगार बनेर खाडी राष्ट्रमा श्रम बेच्न बाध्य छन् । नेपालको वर्तमान राज्य व्यवस्थाले खुल्ला अर्थनीति अवलम्वन गरेकाले निजी शिक्षण संस्थामाथि अंकुश लगाउन सक्रिदैन ।

यो समस्याको समाधान निजी शैक्षिक संस्था बन्द गरेर वा निजी क्षेत्रलाई गाली गरेर हुँदैन । यसका लागि सर्वप्रथम शिक्षा ऐन संशोधन गरेर सामुदायिक शिक्षण संस्थाको गुणस्तर वृद्धि गर्नु र निजी शिक्षण संस्थाको सामाजिकीकरण गरी दक्ष र सामाजिक जनशक्ति उत्पादन गरी नेपालको विकासमा योगदानको इँटा थप्ने कार्यमा अनेरास्ववियूले पहलकदमी गर्नु पर्दछ ।

अनिवार्य र निःशुल्क शिक्षाको कार्यान्वयन
नेपालको संविधान २०७२ ले शिक्षालाई नैसर्गिक अधिकारको रुपमा व्याख्या गरेको छ । माध्यमिक शिक्षासम्म निःशुल्क व्यवस्था गरेको छ । तर, पनि नेपालका धेरै बालबालिकहरु अहिले पनि विद्यालय भन्दा बाहिर रहेका छन् । जबसम्म शिक्षालाई अनिवार्य गरिंदैन तबसम्म निःशुल्क शिक्षा प्रभावकारी हुँदैन । त्यसैले उच्च माध्यामिक तहसम्म शिक्षालाई निःशुल्क र अनिवार्य बनाउन अनेरास्ववियुले सरकारलाई दबाब दिनु पर्छ ।

अन्य विद्यार्थी संगठनसँग सांगठनिक र कार्यगत एकता
विगतदेखि नै मुलुकको शैक्षिक र राजनैतिक रुपान्तरणका लागि भएका संघर्षहरुमा अन्य विद्यार्थी संगठनहरुलाई पनि गोलबन्द गरी अनेरास्ववियूको नेतृत्वमा आन्दोलनको मोर्चामा होमिएका थिए । तर आज विद्यार्थी संगठनहरुमा विभाजन आएकाले शैक्षिक आन्दोलन आशातित ढङ्गले सञ्चालन हुन सकेको छैन ।

त्यसैले शैक्षिक रुपान्तरणका लागि वृहत विद्यार्थी एकता हुन जरुरी छ । यसको पहलकदमी अनेरास्ववियूले गर्नु पर्दछ । विचार मिल्ने संगठनहरुसँग सांगठनिक एकता र मुद्दा मिल्ने संगठनहरुसँग कार्यगत एकता गरी अनेरास्ववियूले आफ्नो नेतृत्वमा वृहत विद्यार्थी शक्तिको निर्माण गर्नु आवश्यक छ ।

जनवादी शिक्षा प्राप्तीका लागि संघर्ष
अनेरास्ववियूले आफ्नो स्थापनाकालदेखि नै जनवादी शिक्षा प्राप्तीलाई आफ्नो प्रमुख लक्ष्य बनाएर सांगठनिक क्रियाकलाप गरिहरेको छ । पहिले विशिष्ट परिस्थितिमा अनेरास्ववियूले शैक्षिक भन्दा राजनैतिक गतिविधि गर्नु परेको थियो । त्यहि कारणले जनवादी शिक्षा प्राप्तीका लागि अनेरास्ववियूले खास पहल गर्न सकेन । यो बीचमा प्रतिक्रियावादी शक्तिले जनवादी शिक्षाको भ्रामक प्रचार गरी आम जनतामा गलत सन्देश प्रवाह गरेको छ ।

अब अनेरास्ववियूले आम विद्यार्थी तथा अभिभावकको बीचमा गएर जनवादी शिक्षाको महत्व बुझाउने, सरोकारवाला पक्षसँग जनवादी शिक्षा लागू गराउन विचार, विमर्ष र छलफल गर्ने तथा जनवादी शिक्षा प्रणाली लागू गर्न वर्तमान शिक्षा ऐनको संशोधन तथा जनवादी शिक्षा प्रणाली कार्यान्वयनका लागि सरकार तथा सम्वन्धित पक्षलाई दवाव दिने तथा त्यसका लागि संघर्ष गर्न अनेरास्ववियू तयार रहनु पर्छ ।

अबको अनेरास्ववियूले यी कार्यभारहरु पूरा गर्न नसक्ने हो भने विगतमा निर्माण गरेको गौरवमय स्वर्णिम इतिहासलाई मात्र रटेर आम विद्यार्थी र विद्यार्थी संगठनहरुको नेतृत्व गर्न सक्दैन र नेता बन्न सक्दैन । साथै अनेरास्ववियूको भविष्य पनि अनिश्चत र अन्धकार हुनेछ । आम सरोकारवालाहरुमा अनेरास्ववियूप्रतिको आस्था र विश्वास घट्ने छ । जसले गर्दा अनेरास्ववियूको आयु र औचित्य दीर्घायु हुन सक्दैन–हुँदैन ।

प्रतिक्रिया दिनुहोस्