चर्चित सेलेब्रिटी जो २७ वर्षमै बिते


३ पुष २०७४, सोमबार
Amy Winehouse

काठमाडौं: २७ क्लब (ट्वान्टी सेभेन क्लब), २७ वर्षको उमेरमा मुत्यु भएका कलाकारहरूको सूची हो । २७ क्लबका सदस्यहरू मुख्यतः लागुपदार्थ वा मादकपदार्थ अत्यधिक सेवन, दुर्घटना र आत्महत्याजस्ता अप्राकृतिक कारणले मरेका छन् । सन् १९६९ देखि १९७१ को अवधिमा यस्ता धेरै कलाकारको २७ वर्षको उमेरमै मृत्यु भएको थियो । चर्चामा रहेका सेलेब्रिटीहरूको २७ वर्षमै मृत्यु हुने क्रम बढेपछि मनोवैज्ञानिक कारण हुन सक्ने अनुमान पनि गरियो । तर, अनुसन्धान तथा सर्भेबाट यसको पुष्टि हुन सकेको छैन । जिम मोरिसन र जिमी हेन्ड्रिक्सको मृत्युपछि चर्चा हुन थालेको २७ क्लब कर्ट कोबेनको पनि २७ वर्षमै मृत्यु भएपछि बढी चर्चामा आयो । यसबारे अहिलेसम्म धेरै चलचित्र र नाटक बनिसकेका छन् भने कैयौँ किताब, शोधपत्र र जर्नलहरू लेखिएका छन् । यसमा सामेल सेलेब्रिटीको संख्या हरेक वर्ष बढिरहेको छ र यीमध्ये चर्चित १० सेलेब्रिटी यस्ता छन् ,

जिमी हेन्ड्रिक्सAmy Winehouse
लन्डनको अपार्टमेन्टमा गल्फ्रेन्डसँगै रहेका जिमी हेन्ड्रिक्सले एक मुठी स्लिपिङ पिल्स नखाएको भए १८ सेप्टेम्बर १९७० को दिनलाई सांगीतिक इतिहासले खासै ख्याल गर्ने थिएन होला । ‘भेस्पारेक्स’ नामको औषधि केवल आधा टुक्रा खाँदा पनि एक वयस्क मान्छेलाई ८ घण्टा सुताउन काफी हुन्थ्यो । तर, नौवटा ट्याब्लेट खाएर सुतेका हेन्ड्रिक्स फेरि कहिल्यै उठेनन् । मृत्युको त्यो क्षणमा उनले मद्यपान पनि गरेका थिए ।

सडकमा हुर्केर आफ्नो कला निखार्दै चर्चामा पुगिसकेका हेन्ड्रिक्सलाई लागुपदार्थ सेवन सामान्य लाग्थ्यो । उनी जुनसुकै ड्रग्स पनि भेटेपछि एकैपटक सुइँक्याइदिन्थे । यसको पुष्टि उनका साथी डिरिङ हावेले बताएका छन् । ‘जिमीले मूर्खता गरे, तर उनी पहिल्यैदेखि यस्तै थिए,’ उनले भनेका छन् । हेन्ड्रिक्स दुवै हातले उत्तिकै राम्रो गितार बजाउन सक्ने सीमित कलाकारको सूचीमा पर्छन् ।

जिम मोरिसन
जिम मोरिसन ज्युँदो छँदाभन्दा मृत्युपछि बढी चर्चित भए, त्यो पनि किस्ताबन्दीमा । १९७१ मा पेरिसस्थित भाडाको अपार्टमेन्टको बाथरुममा मृत भेटिएका मोरिसनको मृत्युको कारण मुटुको खराबी बताइएको थियो । जीवित छँदै ‘द डुवर्स’ ब्यान्ड सुरु गरी ६ वटा सुपरहिट एल्बम निकालेर अमेरिकामा ख्याति कमाएका मोरिसन, हेन्ड्रिक्सलगत्तै २७ वर्षमै बितेपछि चर्चाको परिधि बढ्यो ।
फ्रान्सेली कानुनमा पोस्टमार्टम अनिवार्य नभएका कारण उनको मृत्युको वास्तविक कारण कहिल्यै पत्ता लागेन । चलचित्र ‘एपोकेलिप्स नाउ’ले ओस्कार जितेपछि मृत्युको ८ वर्षपछि उनी झन् चर्चामा आए । दुईवटा ओस्कार जितेको यो फिल्ममा उनको गीत ‘द इन्ड’को साउन्डट्र्याक प्रयोग भएको थियो । १९९४ मा अर्का चर्चित गायक कर्ट कोबेन ‘२७ क्लब’मा प्रवेश गरेपछि जिम मोरिसनको चर्चा झन् चुलियो । मोरिसनकी प्रेमिका पनि २७ वर्षकै उमेरमा बितेकी थिइन् ।

कर्ट कोबेन
१९९४ मा आत्महत्या गर्दाताका कर्ट कोबेन यति धेरै चर्चित थिए कि उनको मृत्युले ‘२७ क्लब’को अवधारणालाई विश्वभर नै चर्चित बनायो । उनको मुत्युअघि यो अवधारणा पश्चिमा मुलुकमा मात्र सीमित थियो । ८ अप्रिलमा एक इलेक्ट्रिसियनले कोबेनको शव भेटेपछि सबैमाझ एउटै प्रश्न उब्जियो, ‘चर्चाको शिखरमा भएका वेला कोबेनले किन मृत्युको बाटो रोजे रु’ उनका वकिलले बताएअनुसार कोबेन बस्ने घरमाथि मुद्दा चलिरहेको थियो र उनले मुद्दा हारे घर गुमाउनुपर्ने थियो । उनी त्यो घर गुमाउन चाहँदैनथे र अदालतमै ‘तिमीहरूले मबाट मेरो घर खोस्न सक्दैनौ’ भन्दै धम्की दिएका थिए ।

अन्ततः मुद्दा हार्ने डरले उनले आत्महत्या गरेको हुन सक्ने अड्कल गरियो । ‘हु किल्ड कर्ट कोबेन’ पुस्तकका लेखकहरूले उनको मृत्युको सम्भावित कारण र कारक खोज्ने प्रयास गरे पनि ठोस जवाफ भेट्न सकेनन् । तर, उनीजस्तो विश्वचर्चित गायकले एउटा घरका लागि आत्महत्या गरेका होइनन् भन्नेहरूको पनि जमात ठूलो छ । आफूले पाएको चर्चा र स्टारडमदेखि विरक्तिएर उनी एकान्तमा बस्न रुचाउन थालेका थिए । आफ्नो व्यक्तिगत जीवनबारे खुल्न छाडेका थिए । कसैले चासो लिन खोजे झर्किन्थे । एक्लोपन रुचाउने उनको मानसिकता नै आत्महत्याको प्रमुख कारण हुन सक्छ ।

एमी वाइनहाउस
२४ वर्षको उमेरमा एमी वाइनहाउसले छिट्टै मर्छु कि भन्ने डरले सताइरहेको बताएकी थिइन् । २०११ को सुरुतिर एमीले एक अन्तरवार्तामा आफ्नो जीवनमा धेरैथोक गर्न बाँकी रहेको पनि बताएकी थिइन् । तर, जुन २०११ मा लन्डनस्थित आफ्नै घरमा उनले आत्महत्या गरिन् । भोड्कासँग निद्राको गोली खाएर आत्महत्या गरेकी एमीले भोड्काको अन्तिम सिप लिँदा के सोचिरहेकी थिइन् होला भन्ने प्रश्नले उनका फ्यान तथा मृत्युमा आहत सबै संगीतप्रेमीलाई सतायो । एमी खुला विचारकी, इमानदार र स्पष्टवक्ता थिइन्, तर व्यक्तिगत जीवनबारे खासै खुल्दैनथिन् । नजिकका साथीहरूलाई पनि उनको जीवनका घटनाक्रमबारे खासै पत्तो हुँदैनथ्यो ।

‘एमी पछिल्लो समय आफ्नो करिअरमा खुसी थिइनन् । गायन छविका कारण व्यक्तिगत जीवन बन्दी बनेको गुनासो गरिरहन्थिन्,’ एक मिल्ने साथीले बताएकी थिइन् । हेन्ड्रिक्स र कोबेनझैँ चर्चाले दिक्क भइसकेकी एमी जीवनमा भरपर्दो साथीको अभावले पनि एक्लिएकी थिइन् । २००६ को एल्बम ‘ब्याक टु ब्याक’का लागि पाँचवटा ग्राम्मी अवार्ड जितेकी उनको सो एल्बम मृत्युपछि निकै बिक्यो । यो एल्बम केही समयका लागि २१औँ शताब्दीमा सबैभन्दा बढी बिकेको बेलायती एल्बम बनेको थियो ।

एन्टन येल्चिन
२७ वर्षमै मृत्यु भए पनि एन्टन येल्चिनले छोटो समयको करियरमै धेरैथोक हासिल गरे । जीवनको अन्तिम चार वर्षमा मात्रै १८ फिल्ममा अभिनय गरे, धेरैमा आवाज दिए । चर्चाले शिखर चुम्दै गर्दा उनको मृत्यु भयो । सुनौलो समय भेट्टाउन पाएनन् । ओरालोमा रोकेको आफ्नै गाडीले ठेलेर भित्तामा किच्दा ‘स्टार ट्रेक’ फिल्मका कलाकार एन्टनको मृत्यु भएको हो । उनले केही ब्लकबस्टर चलचित्रको सफलता मनाउन पनि पाएनन् ।

ब्रायन जोन्स
‘रोलिङ स्टोन’ ब्यान्डका संस्थापक तथा लिड गिटारिस्ट ब्रायन जोन्सले जति बुद्धिमत्तापूर्वक हरेक सदस्य आफैँले छानेर ब्यान्ड बनाए, उनको मृत्यु त्यति नै मूर्खतापूर्ण रह्यो । रक्सीमा लागुपदार्थ मिसाएर पिएपछि स्विमिङ पुलमा हामफालेका ब्रायनले पौडी खेल्न होइन, मर्न यसो गरेका थिए । सन् १९६९ को त्यो दिन वास्तवमा के भयो, कसरी भयो, कसैलाई थाहा छैन । उनले किन त्यसो गरे भनेर रोलिङ स्टोन ब्यान्डका सदस्यहरूलाई पनि थाहा छैन । अमेरिकामा समेत चर्चा बटुल्न सफल पहिलो बेलायती ब्यान्ड रोलिङ स्टोन स्थापना गरेर मार्गनिर्देश गर्दै अघि बढेका ब्रायनलाई अन्य सदस्यले ब्यान्डबाट अलग्याउँदै लान खोजेकाले उनले आत्महत्या गरेका हुन सक्छन् भन्ने अड्कल पनि गरिएको थियो ।

जेनिस जोप्लिन
अन्तिम गीत ‘अ वुमन लेफ्ट लोन्ली’ रेकर्ड गराएर होटेलको कोठामा फर्केकी जेनिस जोप्लिनलाई सायद जीवनले अन्तिम ऐना देखायो होला । उनले राति अत्यधिक हिरोइन सेवन गरेर आत्महत्या गरिन् । प्रेमीले हेला गर्ने भएकाले सधैँ पीडामा हुने जेनिस त्यो रात सुईमार्फत नसामा हिरोइन चढाएर निर्वस्त्र सुतेकी थिइन् । अक्टोबर १९७० मा आत्महत्या गरेकी उनी समकालीन गायिकामाझ सबैभन्दा चर्चित थिइन् । रक गायनमा दख्खल भएकी उनको एल्बम ‘पर्ल’ बिलबोर्डको नम्बर एकमा रहन सफल भयो ।

रोबर्ट जोन्सन
डेल्टा ब्लुज विधाका सबैभन्दा सफल गायक रोबर्ट जोन्सनले आफ्नो जीवनमा ५० भन्दा कम गीत मात्र गाए । तर, रक एन्ड रोल विधालाई समेत ब्लुज शैलीले प्रभावित पार्न सफल रहे । उनका गीतहरू मृत्युपछि अरू धेरैले गाए र उनलाई थप चर्चित बनाए । १९३८ मा निमोनिया भएका वेला रक्सी सेवन गरेका कारण मृत्यु भएका जोन्सनको शव उनकै चाहनाअनुसार नाम नलेखी मिसिसिपीमा गाडियो ।

एलेन विल्सन
१९६९ मा एलेन विल्सनको ब्यान्ड ‘क्यान्ड हिट’ चर्चाको चुलीमा थियो । उनलाई कन्सर्टमा भ्याइनभ्याई थियो । तर, परिवारले वास्ता नगरेपछि एक्लिएका उनले चर्चा र सफलता छाडेर मृत्युको बाटो रोजे । घरबाहिर जहाँ पनि सुत्ने उनी सेप्टेम्बर १९७० मा हाइट यार्डमा मृत भेटिएका थिए । उनको मृत्यु ‘बार्बिट्युरेट’ नामको औषधि अत्यधिक सेवनबाट भएको हो ।

रोनाल्ड म्याकेर्नन ‘पिगपेन’
१२ वर्षको उमेरबाट रक्सी खान सुरु गरेका रोनाल्डको कलेजोमा २५ वर्षको हुँदा सिरोसिस र अल्सर भइसकेको थियो । उनले आफ्नै पहलमा १९६४ मा सुरु गरेको ब्यान्ड ‘ग्रेटफुल डेड’ चर्चा र सफलतातर्फ अघि बढ्दै गर्दा रोनाल्डले भने आफैँलाई मृत्युको बाटोतिर अघि बढाए । ८ मार्च १९७३ मा घरबेटीले उनको शव भेट्दा मृत्यु भएको दुई दिन भइसकेको थियो ।

प्रस्तुति स् निर्वान झापाली (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७