चोर्न घर फुटाएको मान्छेले अर्कै ‘मस्ती’ गर्न पाएपछि


२२ श्रावण २०७६, बुधबार
chori thiper

बुटवल, २२ साउन । गुल्मीको धुर्कोट गाउँपालिका–६ बेलटारीका युवा व्यवसायी मेघनाथ अर्यालको घरमा मंगलबार राति चोरी भएको छ ।

चोरीमा संलग्न आठ जनामध्ये एकलाई चोरी भएकै अर्यालको घरबाट बुधबार बिहान गुल्मीको धुर्कोटवस्तु प्रहरी चौकीद्धारा प्रहरीले पक्राउ गरेको हो । अर्याल बुटवलमा ब्यवसाय गरे पनि गाउँ सजाउनु पर्छ भनेर साढे दुईतले पक्की घर बनाएर राखन–धरान समेत त्यही गरेका थिए । सामान त्यहाँ राखेर उनी बुटवल र घर आवतजावत गर्ने गर्थे ।

पक्राउ परेका युवाले भने, ‘हामी आठ जनाको टोली मिलेर रडले ढोका फोडेर मेघे दाइको घरमा चोर्न पसको हौं, दराज–सराज फोरफार पछि म पिउन थालें र निदाएछु । बिहान निद्राले छाडेर हेर्दा साथीहरु हिंडेछन् ।’

घटनाको मुख्य योजनाकार आशिष बिसी भनिएका (विक) रहेको प्रहरी चौकीका प्रमुख असई लोकमान ताम्राकार जानकारी दिएका छन् । विकको वयान अनुसार अन्य सातै जनाको घर काठमाडौं रहेको र आफू रक्सीले मातेर चोरी गरेको घरमै निदाएको बताएका छन् । बिहान उठेर साथीहरु कता गए भन्दै खोज्दै जाने क्रममा छतमा पुगेका विक बाहिरबाट मान्छेले देखेपछि ढोकामा चुक्कल लगाएर भित्रै लुकेर बसेका थिए ।

एउटा होटलमा लोकल रक्सी एक बोत्तल, एक प्लेट माछा र जुस पिएपछि तम्घासबाट केटाहरुसहित चौरासी पुलको फलामको रड लिएर त्यस घरमा चोरी गएका थिए ।
प्रहरीका अनुसार ‘लोकल रक्सी खाइरहेको मान्छेले चोर्न पसेको घरको बैठक कोठामा ब्राण्डेड रक्सीका बोत्तल पाएपछि मख्ख परे । रक्सीको मातले आशिषलाई स्वर्गीय आनन्द मिल्न थाल्यो र मस्त निदायो । बिहान उसलाई छिमेकीले छतमा देखेपछि ५०–६० जनाको समूहले लाठी बोकेर घर घेरेका थिए ।

उ बाहिर निस्केको भए रामधुलाई गर्ने थिए । तर उ बाठो मान्छे । हामी प्रहरी नपुगेसम्म ढोका नखोली भित्रै बस्यो’, असई ताम्राकार भन्छन्, ‘मैले ढोकाको जाली तोडेर भित्र पस्दा बैठक रुमको टि–टेबुल मुनी लुकेर बसेको थियो । आफूलाई निकै पहुँचवाला भएको र ठूलै रकम दिन्छु बाटैमा छाडिदिनुस् समेत भन्दै थियो ।’

ताम्राकार भन्छन्, ‘अहिलेसम्म जाँड गन्हाइरहेको छ । आशिषले चुल्ठो बाँधेका छन् । टि–सर्टसहित खानदानी नै हो कि भनेर अनुमान गर्न पनि सकिन्छ । उमेर करिब २० बर्षको रहेको छ । उनले घर गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँ बताएका छन् । उनी चौरासीको पुल निर्माणको काम गर्दै आएका थिए ।

उनले तम्घासबाट बोलाएको भनिएका ती सात जनाको घर ठेगना खुल्न सकेको छैन । विकलाई जिल्ला प्रहरी कार्यालय पठाउन लागिएको असई ताम्राकारले बताए । चारवटा मोटरसाइकलमा आठ जना चोर्न पुगेको र ती अन्य सात जना गाँजाको कारोबार समेत गर्ने गरेको आशिषको भनाई थियो ।

चोरी भएको घरमा पुगेका छिमेकीले एटएट फोर एट नामक मदिराको दुई दिन बोतल पिएर सकेको र एक–दुई पेटी अन्य रक्सी समेत चोरेर लगेको बताए । धनमाल चोरीसहित टन्न महँङ्गो रक्सी पिएपछि अरु सात जना बिहान करिब चार बजेतिर भागेको तर आशिष भने एट एट फोर एटको बोत्तल छतमा लैजादै पिउँदै घर मालिककै रवाफ देखाउँदा देखाउँदै निदाएको जनाइएको छ ।

धुर्कोट गाउँपालिका–६ का वडा सदस्य शालिकराम आर्यालले आफ्ना भाइ मेघनाथको घरमा चोरी भएको बताउँदै अहिले आफू सोही घरमा रहेर चोरीको विवरण तयार गर्दै रहेको बताए । उनले करिब ८ देखि १० लाख रुपैयाँ बराबरको चोरी भएको सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७