प्रधानमन्त्री बाघचालमा बाघ थुनिए जस्तै थुनिनु भयो : रामकुमारी झाँक्री {अन्तरवार्ता}

‘स्कुल विभागमा सबैभन्दा उपयुक्त घनश्याम भुसाल नै हो’


२२ श्रावण २०७६, बुधबार
Ram kumari jhakri youth leader

अहिले दुई तिहाई सहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छ । संघमा मात्रै होइन प्रदेश र स्थानीय सरकारमा समेत नेकपाको सुबिधाजनक बहुमत छ । सरकारले चाहेमा जस्तोसुकै अबरोध भएपनि त्यसलाई पन्छाएर काम गर्न सक्ने अवस्था छ । तर नेकपाको नेतृत्वमा सरकार बन्दै गर्दा जस्तो उत्साह र आशा थियो । त्यो उत्साह र आशामा कमी आएको बिश्लेषण हुन थालेको छ । नेकपामा जम्बो केन्द्रीय समिति छ । तर, सरकार र पार्टी नेतृत्वलाई प्रश्न गर्नेहरुको संख्या भने औलामा गन्न सकिने मात्रै छ । त्यो मध्येको एक हुन् पछिल्लो पुस्ताकी नेतृ रामकुमारी झाँक्री । प्रतिनिधिसभाका सांसद तथा पार्टीकी केन्द्रीय सदस्य रहेकी झाँक्री पार्टीको आन्तरिक फोरम होस् वा बाहिर दुबैमा खुलेर आलोचना र प्रश्न गर्छिन् । नेतृ झाँक्रीसँग नयाँ पेजले गरेको संवाद :

योगेश भट्टराई भएपछि तपाईले ‘यो सरकारको अलोकप्रियताको भुङ्ग्रो उहाँ पनि पर्नु भयो’ एउटा स्टाटस हाल्नु भयो । त्यस स्टाटसमाथि विभिन्न बहस भए । तपाईले त्यसो किन भन्नु भयो ? सरकारमा अहिले जानु हुँदैन भन्ने भावना हो ?
-दुई वटा कुरा छ । योगेश दाइसँगको लामो राजनीतिक सहयात्रा छ । त्यो हिसाबले योगेश दाइप्रति हाम्रो ठूलो विश्वास र भरोसा छ । यो एक–डेढ वर्षमा सरकारका कामहरु सन्तोषजनक छैनन् । मन्त्रीहरुले गर्दा एकदमै दवाब सिर्जना गरेको देखिन्छ । मन्त्रीहरु मात्र होइन व्यक्तिगतरुपमा कुरा गर्दा सचिवहरुले समेत दबाव छ भन्नु हुन्छ । त्यो दबाव बालुवाटारको हो । वालुवाटारमा के त्यस्तो तत्व छ, जसले यति धेरै त्राहीमाम दबाव दिन्छ । यी सबै कारण योगेश दाइको अग्नीपरीक्षा हो । सरकारलाई प्रारम्भका दिनमा एकदमै ठूलो समर्थन थियो । हाम्रो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री जे बोल्नु हुन्थ्यो निर्णायक हुन्थ्यो । कसैले प्रश्न उठाउँदैन्थे, सक्दैनथे । १७–१८ महिना गुज्रेर आउँदा त्यो परिस्थितिमा बदलाव आएको छ । अनि एकातिर मन्त्री दबावमा अनि सचिव पनि दबावमामै छन् भन्ने सुनिरहेको छौं ।

आशातित परिणाम दिने गरी काम नगरेको, जनअपेक्षा अनुसार काम नभएको बेलामा एक जना मन्त्रीले मात्र सरकारको छवीमा परिवर्तन ल्याउनु कति सम्भव हुन्छ ? एउटा प्रश्न हो । तर, योगेश दाइप्रतिको विश्वास के हो भने व्यक्तिगत रुपमा गर्न सक्नु हुन्छ । समन्वय गर्ने, लगातार लाग्ने, अप्ठ्याराहरुको समाधान खोज्ने, तौरतरिका पहिल्याउने, आवश्यक सबैलाई सम्मान गर्ने उहाँको बानी छ । उहाँ पूर्णत काममा दत्तचित हुने स्वभावको भएकाले सबै किसिमका काम गर्नु सक्नु हुन्छ । मन्त्रालयमा तमाम समस्याहरु छन् । समाधान गरेर जानुहुन्छ भन्ने विश्वास छ ।

यो बेला दवाब, समय, सन्दर्भ परिस्थिति एकदमै प्रतिकूल भएका बेला मन्त्री हुनुभएको छ तर, पनि हाम्रो विश्वास छ, तपाई सफल हुनुहुनेछ । शुभकामना छ । भनेर लेखेको हो ।  यही कुरा अर्कै भाषामा लेखेको भए पनि हुन्थ्यो । तर, देखिँदो कुरा शब्दमै व्यक्त गरेको भएकाले स्टाटसको अलिअलि चर्चा भयो । मान्छेहरुले गाली गरे, समर्थन गरे । राजनीतिमा दुबै कुरा हुन्छ । शतप्रतिशत समर्थक र शतप्रतिशत विरोधी हुँदैनन् । राजनीतिमा विचारको आधारमा लागिन्छ । मलाई लागेको विचारमा उनीहरु असहमत हुन पनि पाउँछन् । उनीहरुलाई लागेको विचारमा म पनि असहमत हुन पाउँछु । यसलाई स्वभाविक ठान्छु ।

तपाईको आफ्ना पनि ‘फलोअर्स’हरु छन्, बिरोधी पनि । तपाईको विरोधीहरुले रामकुमारी झाँक्री जहिले विरोध मात्रै गर्छिन्, प्रतिपक्ष जस्तो भइन् भन्छन् नी । तपाई के भन्नु हुन्छ ?

समाजमा दार्शनिक हिसाबका भिन्न–भिन्न विचार छन् । अनि वैचारिक हिसाबले फरक पार्टी छन् । त्यही पार्टीभित्रमा एउटा पार्टी रोजेका छौं । यो भित्र पनि भिन्न–भिन्न विचारहरु अभ्यास गरिआएका छौं । तर, साझा विचारका आधार चलेका छौं । मैले बुझेका, मेरो दृष्टिकोणमा वस्तु र घटनालाई कसरी हेर्छु भन्ने कुरा हुन्छ । हेर्ने दृष्टिकोण भनेको मेरो ‘आइडोलोजी’ हो । मैले हेर्ने भनेको म जुन राजनीतिक आर्दश, दर्शनबाट निर्देशित छु त्यही आधारमा गर्छु ।

कहिलेकाँही म बहुसंख्यक जनताको कुरा गर्छु, राष्ट्रको हितको कुुरा गर्छु, अनुशासन, भ्रष्टाचारीको कुरा गर्छु, भ्रष्टाचारमा शून्य सहनशिलताको कुरा गर्छु । यी कुराहरुमा रमाउनेहरुका लागि म विरोधी देखिन्छु । यस्तो कुरा राख्नेहरुका लागि पक्षधर हुन्छु । जस्तो इतिहासमा जग्गा अधिग्रहण गरी बस्नेलाई लालपुर्जा दिऊ भनेर प्रस्ताव गर्दा म विपक्षमा भएँ । जमिनको अधिग्रहण त शक्ति हुनेले कब्जा गरेरै बसेका छन् । उनलाई यति दिन हुन्न भन्ने मेरो विचार हुन्छ ।

यो ‘आइडोलोजिकल’ प्रश्न हो । त्यसकारण म कहिलेकाँही यस्तो विचार गर्छु म, बाहिर कति बोल्नु पर्ने, पार्टीभित्र कति बोल्नु पर्ने, सार्वजनिक मञ्चमा कति बोल्नु पर्ने कुरा कति हो, त्यसको लेखाजोखा गरेर बोल्छु । आज पनि बोल्छु, भोलि पनि बोल्छु । म मुलतः उनीहरुको आवाज बोल्छु जुन सामान्यता उनीहरुको आवाज बोलिदैन । दबाइएका छन् । उनीहरुको आवाज निर्धक्क साथ बोल्छु । त्यसो हुँदा मान्छेहरु ढुङ्गा हान्न त आउँछन् नै ।

तपाईहरुको आवाज पार्टीभित्र वा सरकारमा दबिने किसिमको हो र, त्यस्तो अवस्था छ र ?
पार्टीभित्रको विचार समूहको कुरा गर्दा आठौं महाधिवेशनमा दुई नेताहरु फरक–फरक रुपमा लड्नु भयो । उहाँहरुकै प्यानलमा रहेर केन्द्रीय सदस्य निर्वाचित भयौं । यो कुरा सत्य नै हो । त्यसदेखियता निर्देशत भूमिकामा छैन ।

सरकार भन्दा, संसदीय दलको नेता बन्दा, चाहे केन्द्रीय सदस्यको कार्यविभाजन गर्दा, मन्त्रीहरु बन्दा, विभिन्न ठाउँहरुमा नियुक्ति गर्दा हिजो आठौं महाधिवेशनको एउटा विचार समूहमा लागेका हामी निर्णायक भूमिकामा छैनौं । आवाजहरु दबिएका छन् । र, कहिलेकाँही म जस्ता मान्छेहरु माध्यमबाट पनि बोलिएका छन् । 

पछिल्लो समयमा तपाईहरु जस्ता मान्छेका आवाज प्रधानमन्त्रीले सुन्न थाल्नु भएको हो ? सञ्चार माध्यममा कहिल्यै नबोलाइएका नेता घनश्याम भुसाल बोलाइए, छलफल सुरु भयो भनिन्छ नी !
बोलाइनु र छलफल गर्ने परिस्थिति फरक हुन सक्छ । बोलाइएको सत्य हो । सुन्नु पर्नाका कारण हुन्छ । सुन्नु पर्ने, बोलाउनु पर्ने परिस्थिति, विद्यमान वस्तुगत परिस्थितिले माग गरेको हुन सक्छ । ऐतिहासिक भौतिकवादमा विश्वास गर्ने हामी परिस्थितिजन्य कुराहरु पूरा नगरी यतिकै बोलाए भनेर ताली पिट्ने कुरा आएन । त्यसको आधारमा बोलाएर संवाद गरेको कुरा सत्य हो । त्यसको पृष्ठभूमिमा अनेक ऐतिहासिक कारण होलान् । 

Ram kumari jhakri 1

 

यसरी बोलाइनुमा रहर, वाध्यता वा आवश्यकता तपाई के देख्नु हुन्छ ?
– बाध्यता । २०७४ साल भदौ–असोजको कुरा गर्ने हो भने पार्टी अध्यक्षले जे भन्नु भयो हामीले ठाउँको हल्लाएर हिंडेका थियौं । कसैले प्रश्न गरेका थिएनन् । हामी दुई पार्टी सँगै लड्छौं । को उम्मेद्वार हुन्छौं हुन्नौं गौण कुरा हो । यो पार्टीको पक्षमा उर्लियो भनेपछि हस् भनेर हिंडेका थियौं । घुम्दै यहाँ पुग्दा प्रधानमन्त्रीले भनेको कुरा जति भरोसा भएको थियो । त्यही कुराहरुमा तमाम प्रश्नहरु, कमजोरी देखिए । प्रधानमन्त्रीले जे सोच्नु हुन्छ त्यही सत्य होइन । त्यो त टिममा कुरा गर्नुपर्छ । एक्लै कहीँ पुगिन्दैँन । उहाँलाई पनि लाग्थ्यो होला सबै ठेगान लगाई दिन्छु । म चलाउँछु भन्ने लाग्थ्यो होला । तर, अहिले त्यसो होइन रहेछ भन्ने लाग्यो । यही खालको बाध्यता होला ।

केन्द्रीय कमिटी एउटा ठूलो ‘टिमवर्क’ हो । त्यसबाट स्थायी कमिटीमा गयो । स्थायी कमिटी नि टिमवर्क नै हो । त्यहाँबाट पनि उहाँ नौ जनाको सचिवालयमा जानु भयो । सचिवालयमा पनि महत्वपूर्ण मान्छेहरुको ‘टिमवर्क’ थियो । तर, उहाँ त्यहाँबाट पनि बालुवाटारको घेराभित्रको सल्लाहकारको टिममा हुनुु भयो । त्यसपछि त तमाम समस्या आए । कसले ‘डिफेन्स’ गरिदिन्छ ?  पार्टीभित्र ‘डिफेन्स’ गर्न त निर्णय तहमा ‘अर्नरसिप’ हुनुपर्‍यो नि । निर्णय प्रक्रियामा भाग लिएको हुनुपर्‍यो । त्यसो भएपछि पो हाम्रो पनि स्वामित्व छ भनेर ‘डिफेन्स’  गर्छन् नि । तर, त्यो नभएपछि अहिले वाध्यताबस सामुहिकता देखाउनु पर्ने भयो ।

जतिबेला गठनबन्धनको नेतृत्वमा दुई–तिहाई आयो, पार्टी पनि एक भयो । त्यति बेला केन्द्र, प्रदेश, क्षेत्रमा उत्साह, शक्ति थियो । तपाई त्यो पार्टीको केन्द्रीय सदस्य, सांसद र आन्दोलनमा निरन्तर लागिरहेको हिसाबमा सरकारको कामप्रति कति उत्साहित हुनुहुन्छ ?
प्रारम्भको दिनको कुरा गर्दैछु । गत सालको माघ–फाुगनको सरकार बन्दै गरेका बेलाको कुरा गर्दै गर्दाखेरी हामी कति उत्साहित थियौं नै ।  नेविसंघ, नेपाली कांग्रेसको युवा साथीहरुले पनि भन्नु हुन्थ्यो कि जसको नेतृत्वमा पनि सरकार बने हुन्छ, देश बन्ने स्वार्थमा हामी सबैको समर्थन हुन्छ । सरकार त जसले बनाए हुन्छ । केपी ओलीमा केही सपना छ । उहाँ देश बनाउनु हुन्छ भने हाम्रो समर्थन छ । विपक्षी दलका र्सासद, युवा साथीहरु पनि यस किसिमको अभिव्यक्ति दिन्थे ।

गत वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको थियो । गएको वर्ष यस्तो दिन थियो । समय गुज्रदै जाँदा प्रधानमन्त्रीले संसद वक्तव्य दिनसम्म नपाउने अवस्था बन्यो । यसकारण हिजो दिनको उत्साहमा त विस्तारै पानी खन्याए जस्तो भयो । ‘क्याटेगोरीकल्ली’ विपक्षी कांग्रेस, फोरमका साथीहरु समेत हाम्रो पार्टीका भइहाले । नेता भनेको केपी ओली जस्तो हुनुपर्छ भन्थे । देश बन्नुपर्छ । जसले बनाए पनि बनाओस् । हामी भन्दा पछाडिको पुस्ताले दुःख पाउनु हुन्न । यो खालको भावना थियो । डेढ वर्षमा संसदमा उभिएर बोल्छु है भन्दा पनि बोल्न नपाउने परिस्थिति आयो ।

केन्द्र सरकारसँग दुई तिहाई बहुमत छ, प्रदेशहरुमा आफनै सरकार छ, स्थानीय तहमा पनि बहुमत छ । यहाँ केही अवरोध भयो भने संविधान कानुन नै परिवर्तन गरेर काम गर्न सकिन्ने स्थिती छ । यस्तो अवस्थामा समस्या कहाँ नीर छ जस्तो लाग्छ ?
एउटा व्यक्तिले सोचेको कुरा सर्वव्यापी हुँदैन् । टिमवर्क नगर्नु, टिममा विश्वास नगर्नु प्रधानमन्त्री एक्लै हिंड्न खोज्नु हो । मैले प्रधानमन्त्री नै उस्थित हुनुभएको दलको बैठकमा पनि भनेकी छु, ‘प्रधानमन्त्री ज्यू समृद्ध नेपाल, सुखी नेपाली जनताको आकांक्षा एक्लै हिंडेर पूरा गरिंदैन ।’

यहाँभित्र लाखौं संख्यामा भएको कर्मचारीतन्त्र, लाखौंमा भएको पार्टी सदस्य, सयौं सख्ंयामा भएको पार्टीका केन्द्रीय टिमहरु, सँगसँगै सहयात्री, प्रतिष्पर्धी दलहरुलाई कन्फिडेन्समा राखेर मात्र अघि बढ्न सकिन्छ । अरुलाई हेपाइँचो गरेर, मानमर्दन गरेर, खिसीट्यूरी गरेर, एक्लै हिंडेर कहीं पुगिदैन् भनेको थिए ।

सत्य कुरा पनि यही हो । आज जे समस्या आएको छ, प्रधानमन्त्री एक्लै हिड्न चाहनु हो । उहाँले टिमवर्कलाई मतलव नै दिनुहुन्न । किनभने सबैको चरित्रको बारेमा भन्न सक्नु हुन्छ । फलानो मैले किन गन्ने, तिलानोको बारेमा किन्न भन्ने, तिलानो यस्तो हो । हरेक मान्छेको बारेमा, चरित्रको बारेमा एक–एक घण्टा भनिदिन सक्नुहुन्छ । यी मान्छे गन्न नपर्ने हुन् । दुई कौडीका मान्छे हुन् । यिनलाई नसुने पनि हुन्छ भन्ने उहाँको जुन भावना छ, त्यसले घेराबन्दीमा बाघचालको बाघ थुनिए जस्तो बनाएको छ ।

Ram kumari jhakri 3

पछिलो समयमा नेकपामा खुलेर सुझाव दिने, आलोचना गर्ने तपाईहरु औंलामा गन्न सकिन्ने संख्या मात्र हुनुहुन्छ । के नेकपाभित्र आलोचनात्मक चेत कमी भएको हो ? आलोचना गर्नेहरु बहिष्करणमा पर्नु पर्ने अवस्था आएको हो ?
औसत मान्छेहरु शक्ति र सत्तासँग नै रमाउँछ । शक्ति र सत्ताले गरेको कुराहरु निश्चित फाइदाका लागि स्वीकार गर्छन् । औसत मान्छेहरुको बहुमत हुन्छ । त्यस्तो ठूलो अपेक्षा गरिंदैन् । मान्छेहरु मलाई पनि भन्छन्, अनि प्रतिक्रिया लेख्छन्, ‘यो रुखको हाँगो नै बाङगो हो कि घाँटी चिलाएको हो’ भनेर । त्यसकारण कसैले न कसैले ‘आइसब्रेक’ त गर्न पर्‍यो । ठिक हुँदै छैन भन्न पर्‍यो । यसको वातावरण केन्द्रीय कमिटीको बैठकमा होस् भन्न चाहन्थे । हामी ठूलो संख्यामा केन्द्रीय सदस्य साथीहरुले केन्द्रीय कमिटी बैठकको माग गर्‍यौं । त्यतिबेला सरकार सञ्चालनको शैली, व्यवहारको बारेमा खुलेर छलफल गर्न पाइन्थ्यो होला ।

त्यहाँ भनेका कुरा बाहिर पनि जाँदैन थियो । कन्फिडेन्स लेभलमा पनि हुन्थ्यो । केन्द्रीय कमिटीको बैठक पनि राखिएन् । त्यसपछि दलको बैठक राम्रो कुरा गरौं भन्ने भएको थियो । त्यहाँ पनि समय अभावका कारणले वस्तुगत छलफल भएन । त्यसले गर्दा आफ्ना कुराहरु सार्वजनिकरुपमा भन्न बाध्य भइयो । र, यसले गर्दा कहिलेकाँही अनुशासनको सीमा मिचेको हो कि भन्ने देखाउँछ । तर, म सीमा र मर्यादाभित्रै भन्छु । कति ठूलो स्टेन्थ छ, न भुत हो, न भविष्य । भविष्य चाँही हुन सक्ला । भूत थियो असफल भयो ।

२०१५ सालमा कांग्रेसको दुई तिहाइ थियो । २०४८ सालमा राम्रो बहुमत थियो । ३० वर्षको पञ्चायत थियो । यी इतिहासमा भएको कुरा हुन् । तर कुनै संख्याले शासन चीरञ्जीवि हुँदैन रहेछ । कामले जनतासँगै विट्याज गर्‍यो, जनतालाई कामले प्रभावित गर्न सकिएन । जनताबाट सत्ता र सरकारलाई अलग–थलग गर्‍यो भने नटिकिंदो रहेछ ।

Ram kumari jhakri 2
यसप्रति चाँही गम्भिर हुनुपर्छ । सरकार, नेता–कार्यकर्ता जनतासँग डिट्याज हुने अवस्था आउनु हुँदैन । लाइभली छलफलको वातावरण हुनुपर्छ । हामी आठ लाख पार्टी सदस्यको एक लाख पार्टी प्रणाली छ । त्यसलाई रिएक्टिभेट गरेको भए, पार्टी सहि ढङ्गले चलाएको भए आज लाखौं पार्टी संगठनले काम गर्ने, सरकारका कामका, प्राथमिकताका वडा, प्रदेश, केन्द्रमा यी सारा कुरा छलफलको वातावरण हुने, रोजगारीको सिर्जना कसरी गर्ने, गरिबी कसरी अन्त्य गर्ने, शतप्रतिशत लेभटेसी कसरी पुर्‍याउने, बाल विबाहको अन्त्य कसरी गर्ने, घरेलु हिंसा कसरी अन्त्य गर्ने, महिलामाथिको हिंसा कसरी अन्त्य गर्ने यस्तो विषयमा नगरपालिका, गाउँपालिका तहमा छलफल हुनुपर्ने, केन्द्रीय तहमा सरकारलाई कसरी जवाफदेही बनाउने, भ्रष्टाचार कसरी कम गर्ने, भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउने जस्ता सारा कुराहरु छलफल गर्ने, यस्तो चिज भई दिए, पार्टीलाई राजनीतिक–बैचारिक रुपले चलाउन पाउने भए यी चिज आउने नै थिएन ।

यहाँ त पार्टी र सरकार एक्कै ठाउँ । यहाँ त सरकारले पार्टी चलाउने जस्तो भयो । त्यसो हुँदा राजनीतिक र वैचारिक रुपमा राम्रो ढङ्गमा भई देखेको भए यो समस्या आउने नै थिएन । डेढ वर्षदेखि त पार्टीमा पनि लाखौं सदस्य बेरोजगार । सबै बेरोजगार भइसकेपछि त्यस पनि समस्या नै बनाउँछ ।  पछिल्लो समय सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिने विषयमा सहमति भयो । खासगरी जिल्ला इञ्चार्च र संयोजक बनाउने विषयमा । तर, आफैले लिने विषयमा चाँही विवाद भयो । अहिलेसम्म गतिरोध छ । आफूले बाँडेर लिने विषयमा विवाद देखियो । तपाईहरु केन्द्रीय सदस्यलाई कस्तो लाग्छ ?

सचिवालयमा भएका नेताहरुमा सरकारमा भएका र नभएका छुट्याउने, सरकारमा हुनेले सरकारको काम गर्ने र नहुनेले पार्टीको, संगठनको काम गर्ने गर्नुपर्छ । अनि स्थायी कमिटीमा पनि सरकारमा भएका र नभएका छुट्याउने र नभएकालाई पार्टी संगठनको जिम्मेवारी दिंदा सही बाटो र सुल्टो बाटो जान्छौं । तर, खाली संयन्त्र कब्जा गर्ने नियत राखेर हलो अड्काई राख्यौ भने हामी कहीं पुगिदैन् । कुनै परिणाम दिंदैन् । म लेखेर राख्छु । म लेखेर राख्न भन्छु । संयन्त्र कब्जा गरेर मात्र केही कब्जा हुनेवाला छैन् । अरुलाई काम नदिने अनि पार्टी मेरो कब्जा जस्तो कुरा गरियो भने यो बेठिक हो ।

पछिल्लो समय स्कुल विभागको गतिरोध र समस्या बाहिर आएको देखिएको छ । त्यसमा पनि ईश्वर पोखरेल र नारायणमान विजुक्छेको दावी छ भन्ने कुरा छ । घनश्याम भुसालले पनि दावी गर्नु भएको छ , तर उहाँले जहाँ दावी गर्नुपर्ने हो त्यहाँ गर्नु हुन्न्, यसलाई कसरी लिनु भएको छ ?
विश्वकै कम्युनिष्ट पार्टीहरुको नीति नै जसको नीति उसैको नेतृत्व भन्ने हुन्छ । हाम्रोमा पनि छैटौं महाधिवेशनसम्म व्यक्तिमा होइन नीतिमा भोटिङ हुन्थ्यो । कार्यक्रममा डकुमेन्टमा भोटिङ हुन्थ्यो । सातौँ, आठौँ र नवौँ महाधिवेशनमा डकुमेन्ट एकातिर फाल्यौं, त्यसको काउन्टर डकुमेन्ट कसैले निकाल्न सकेन् । यो भन्दा राम्रो प्रोगेसिप डकुमेन्ट बनाउन सकिएन । त्यसले गर्दा त्यही विचारमा सहमति गरे ।

अनि नेतृत्वमा भोट हाल्यौ । कम्युनिष्ट पार्टीमा नेतृत्वलाई मात्र ढ्वाङ थापेर भोट हाल्ने कुरा एकदमै दुःखद हुँदोरहेछ र गलत अभ्यास हुँदोरहेछ भन्ने कुरा चाँही पछिल्लो १०–१५ वर्षको अभ्यासले देखिंदैछ । त्यसै नवौं महाधिवेशनमा जसको डकुमेन्ट पास भयो । विचारको हिसाबले घनश्याम भुसाल नै नेता हो । अब पार्टी अध्यक्षमा दावी गर्नु भएन्, सक्नु भएन्, आँट नै गर्नु भएन । पार्टी स्कुल विभागसम्म दावी गरेको जायज हो । मुलतः घनश्याम भुसालको डकुमेन्ट पास भएको हो । त्यसलाई चाँही त्यतिकै काउन्टर अरुले डकुमेन्ट दिन नसकेर त्यसैलाई स्वीकार गरिएको हो । त्यसैले घनश्याम भुसालको दावा नै ठिक हो ।  सचिवालयको कुरा गर्ने हो भने अब दुई कमरेडहरुको कुरा रह्यो । ईश्वर कमरेडले स्कुल विभागको दावा चाँही किन गर्नु भएको मैले बुझिन् । उहाँ त सरकारको उपप्रधानमन्त्री तथा रक्षा मन्त्री हुनुहुन्छ ।

डिपिएम पनि हुनुभएकाले उहाँले आफनो सारा शक्ति त्यहीं लगाएर काम गरे भयो नि । स्कुल विभाग न चलाउने सक्ने, न गर्न सक्ने, न समय दिन सक्ने ।  त्यसलै उहाँलाई स्कुल विभाग चाहिएको जस्तो होइन् । उहाँले कब्जा गर्न लागेको जस्तो देखिन्छ । आफूले नगरे अरुलाई पनि काम गर्न नदिउँ भने जस्तो देखिन्छ । अब पार्टी एकता प्रक्रियाका बेला भएको हुँदा नेकपा एमालेमै स्कुल विभाग रहँदा सबैभन्दा उपयुक्त दाबेदार घनश्याम भुसाल हो । नेकपा एमालेमा नरहँदा पूर्ववर्ती माओवादी जाने भयो । नारायणकाजी कमरेड नेता हुनुभएको हिसाबले उहाँको दावा ठिकै होला । 

रामकुमारी झाँक्रीले केपी ओली सरकारको आलोचना मात्र गर्छिन्, केपी शर्मा ओलीप्रति पूर्वाग्रह मात्र राख्छिन् भन्ने छ । दुई तिहाईको सरकार छ, अझै समय छ, राम्रो गर्न चाँही के गर्नुपर्छ ?
प्रधानमन्त्री ज्यूसँग म बच्चोले केको पूर्वाग्रह राख्नु ? म जन्मिँदा उहाँहरु जेल परेर बस्नु भएको थियो । ‘झिंगाको सरापले डिंगा मर्दैन्’ भन्छन् नि मैले पूर्वाग्रह राखेर के हुन्छ र ? दोस्रो कुरा, भिन्न कुराबाट पनि सोचौँ । ‘इम्पेरिएर न्यू क्लोथ’ भन्ने अग्रेजीमा लोककथा कथा छ । त्यस्तो सबैले ठिक हो ठिक भनेर हामी सबै खाल्डोमा पर्नु भन्दा कम्तीमा प्रश्न गरौँ । तिमी उभिएको धर्ती ठिक त छ ? आफू ठिकै ठाउँमा खुट्टा राख्दैछौं ? हर मान्छे सोच्ने काम चाँही गर्नुपर्छ । भनेर नै मैले प्रश्न गरेको हुँ । यस्तो स्कुलिङ, परिवारबाट आइएछ कि खाली प्रश्न गर्ने । वाहवाह ! भनेर देवत्वकरण गर्न आएन । बच्चादेखि त्यो बानीले पनि आएन । त्यही भएर पनि मैले आवाजविहीनको आवाज मुखरित गर्नुपर्छ भन्ने नै बाटो रोजे ।

अँ हामीसँग तीन वर्ष–साढे तीन वर्षको समय छ । प्रधानमन्त्रीको हातमा धेरै कुरा छ । पार्टी अध्यक्षको हातमा छ । उहाँले न्यायोचित पार्टीको कामलाई विनियोजित गर्नु भयो भने सरकारलाई ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’ भन्ने होडिङ बोर्ड लेखेर होइन्, साँच्चै व्यवहारमा भ्रष्टाचार नगर्ने, सदाचारको नीति अवलम्बन गरियो भने सबै मान्छेलाई विश्वास गर्ने अनि परिणाम आएन भने कारबाही पनि गर्न सक्छु, त्यसकारण तिम्रो यो काम हो भनेर । प्रष्ट काम दिने हो भने अथवा प्रष्ट काम नदिए पनि आफूले के गर्न सक्छु त्यो काम सबैको बारेमा सोचेर पनि सक्नु हुन्न । तर, सबैलाई एक वर्षमा तिमीले के प्रगति गर्छौ भनेर उहाँले काम दिनुभयो र मुलतः सरकारको सन्दर्भमा व्याप्त भ्रष्टाचारलाई अन्त्य गर्ने, जवाफदेही हुने, डेलिभरीमा चुस्त हुने र टिमवर्कमा काम गर्ने, पार्टीका सदस्यहरु न्यायोचित काम दिने, पार्टीलाई फुलफेजमा कार्य गर्न दिने हो भने सरकारले गरेका नराम्रो काम मात्र होइन्, सरकारले कैयौँ राम्रा काम गरेका छन्, ऐतिहासिक काम पनि छन् ।

त्यस्ता कामहरुको त मैले मुक्तकण्ठले संसदमा, सोसल मिडियामा प्रशंसा नै गरेकी छु । कतिपय मान्छेहरुलाई विरोधी मात्र देख्नु उनीहरुको दृष्टिदोष हो । उनीहरुलाई म के भन्न चाहन्छु भने, केही पनि भन्न चाहन्न् । कैयौँ सरकारको राम्रो कामहरुको संरक्षण गरेर, सुरक्षा गरेर लैजानु पर्छ भनेर लागेका छौँ । कुनै ऐनहरु आउँदा पनि कसरी राम्रो भन्दा राम्रो बनाएर लैजाने भनेर मेहनत पनि गरिरहेका छौँ । यसो गर्दा अझै पनि समय गुज्रि गएको छैन् तर ‘मर्निङ सोज द डे’ भने जस्तै आगामी दिन युटर्न भएर जान सम्भव छ कि छैन् भन्ने मात्र हो ।


हेर्नुहोस् पुरा भिडियो :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७