टौदहमा पानीको फोहरा निर्माण स्थगित


२३ श्रावण २०७६, बिहीबार
tau daha 3

काठमाडौं, २३ साउन । कीर्तिपुर नगरपालिकाले ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिले महत्वपूर्ण टौदहमा पानीको फोहरा (वाटर फाउन्टेन) निर्माण स्थगित गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७५–७६ को योजनामा टौदहमा पानीको फोहरा निर्माण गर्ने कार्यक्रम अघि सारेको थियो । आर्थिक वर्षको शुरुमै पानीको फोहरा निर्माणलाई अघि बढाए पनि स्थानीयवासीले सिमेन्ट प्रयोग गरेर संरचना निर्माण गर्दा सिमसार क्षेत्रमा प्रभाव परी प्राकृतिक अवस्थामा असर गर्ने भन्दै विरोध गरेका थिए ।

विरोधपछि निर्माण बन्द भएकामा गत आर्थिक वर्षको अन्त्यमा पुनर्निर्माण गर्ने तयारी भएको थियो । पटक–पटक पानीको फोहरा निर्माण गरी सांस्कृतिक सम्पदा मास्न खोजेको भन्दै स्थानीयवासीले पुरातत्व विभाग र जिल्ला प्रशासन कार्यालयमा उजूरी गरेका थिए ।

दुवै कार्यालयले अध्ययन गरेर मात्र काम गर्न निर्देशन दिएका थिए । स्थानीयवासी एवं टौदह संरक्षण अभियानका अभियानकर्मी उपेन्द्रप्रसाद नेपालले नगरपालिकासँग वातवारणीय प्रभाव मूल्याङ्कन गरे नगरिएको सूचना माग गरेका थिए ।

सूचना अधिकारी परशुराम चौँलागाईंले कुनै अध्ययन नभएकाले हाललाई पानीको फोहरा निर्माण स्थगित गरिएको जानकारी गराएका छन् । पानीको फोहराले वातावरण, सिमसार, सांस्कृतिक एवं धार्मिक पक्षमा पार्ने प्रभावका बारेमा अध्ययन गरेपछि निर्माण हुने–नहुने निश्चित गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७