वहुप्रतीक्षित जनकपुर–जयनगर रेल कातिकदेखि चल्ने, लिक विच्छ्याउने काम सकियो


२३ श्रावण २०७६, बिहीबार
rail janakpur

धनुषा, २३ साउन :  भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौं आउने दूरी मौजुदा घटाउने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बहुप्रतीक्षित जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने दावी गरेका छन् ।

उनले कात्तिक महिनाभित्रमा नै सो रेलसेवा सञ्चालनमा ल्याउने गरी द्रुत गतिमा काम भइरहेको बताएका छन् । यो रेलसेवा सञ्चालनसँगै दोस्रो विश्वयुद्ध भन्दा पहिले नै १९९४ सालमा शुरु भएको नेपालको एक मात्र रेलमार्गले पुनर्जीवन पाउने छ ।

मन्त्री महासेठले ट्रलीमा चढेर जनकपुरदेखि इनरुवासम्म २६ किलोमिटर रेलवे लिकको मङ्गलबार निरीक्षण गरेका छन् । उनले सो रेलमार्गअन्तर्गत नेपालतर्फको अन्तिम स्टेसनका रूपमा रहेको इनरुवाको नजिकमा बाढीले बगाएको रेलवे लिकको निरीक्षण गरे । गत असार अन्तिममा आएको बाढीले सो लिकमा क्षति पुर्‍याएको थियो ।

निरीक्षणका क्रममा उनले रेलवे लिकको बेस बगाएको ठाउँमा चाँडै नै मर्मतसम्भार गरी निर्धारित समयमा नै रेलसेवा सञ्चालनमा आउने गरी काम अगाडि बढाउन रेल विभागलाई निर्देशन दिएका छन् । बाढीले रेलवे लिकको बेस बगाए पनि निर्धारित समयमा नै रेल सञ्चालनमा कुनै समस्या नहुने उनले स्पष्ट पारेका छन् ।

सो ठाउँमा बाढीले एक सय मिटर रेलवे लिकको बेस बगाएको छ । यसअघि उनले जनकपुर रेलवे स्टेसनको निरीक्षण गर्दै उनले रेलसेवा सञ्चालनका लागि बाँकी रहेका संरचनाहरूको निर्माण समयमा सम्पन्न गर्न तथा रेलवेको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउन कार्बाही अगाडि बढाउन निर्देशन समेत दिएका छन् ।

भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्म सञ्चालनमा ल्याइने सो रेलमार्गको अहिलेसम्म रेलवे लिक बिछ्याउने काम पूरा भएको छ । ट्रयाक वेड, दुवैतर्फ स्टेसन, कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीका लागि आवास गृहलगायतको आवश्यक संरचनाको निर्माण कार्य भइसकेको छ ।

भारतको राइट्स कम्पनीले तयार पारेको ढाँचाका आधारमा यस रेलमार्गको स्टेसनहरूको निर्माण गरिएको छ । सरकारले यसअघि नै सो रेलसेवा सञ्चालन गर्न दुईवटा डेमो रेल खरिद गर्नका लागि करिब ८५ करोड रुपैयाँ निकासा गरिसकेको छ । सो रेल अहिले भारतको मद्रासमा निर्माणाधीन अवस्थामा रहेको रेल विभागले बताएको छ ।

मुलुकको छोटो रेलवे इतिहासमा यो रेलसेवा ‘ब्रोडगेज’ हुनेछ । यसअघि नेपालमा सञ्चालन भएका रेलसेवाहरू ‘न्यारोगेज’ मात्र रहेको थियो । दुई फिट छ इञ्च चौडाइ भएको लिकलाई ‘न्यारोगेज’, एक मिटर चौडाइ भएको लिकलाई ‘मिटरगेज’ र पाँच फिट ६ इञ्च चौडा भएको लिकलाई ‘ब्रोडगेज’ भनिन्छ । जनकपुर–जयनगर रेलवे लिकको चौडाइ ‘ब्रोडगेज’ आकारको रहेको छ ।

जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेसन र छ हल्ट अर्थात् रेल रोक्ने ठाउँ गरी १४ विश्रामस्थल निर्माण गरिने रेल विभागले बताएको छ । जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठवटा स्टेसन तोकिएको छ । त्यसैगरी महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगरमा हल्ट निर्धारण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७