शिवपुरीमा रिसोर्ट र केबलकार सञ्चालनका लागि लविङ, संरक्षणकर्मीहरु चिन्तित

‘शिवपुरीको जैविक विविधता नष्ट भए उपत्यकाको पानीको स्रोत नै संकटमा’


२४ श्रावण २०७६, शुक्रबार
sibhapuri

काठमाडौं, २४ साउन । वातावरण संरक्षणकर्मीहरुले काठमाडाँंसँग जोडिएका एक मात्र संरक्षित क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई ‘शान्त पार्क’ का रुपमा विकास गर्न सुझाव दिएका छन् ।

सो निकुञ्ज क्षेत्रमा केबलकार र होटेल रिसोर्ट बनाउन केही व्यक्ति र समूहले वन तथा वातावरण मन्त्रालयमा लबिङ गरिरहेको भन्ने सूचनाप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरुले पर्यापर्यटनका नाममा सो क्षेत्रको जैविक विविधता नष्ट हुने कुनै पनि क्रियाकलाप भए काठमाडौं उपत्यकाको पानीको मुख्य स्रोत नै सङ्कटमा पर्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. प्रभु बुढाथोकीले संरक्षण क्षेत्रको व्यापारीकरण गर्ने नीति संरक्षणको सिद्धान्तभन्दा बाहिर रहेको उल्लेख गर्दै यसले पर्यावरणीय सन्तुलनमा विकृति ल्याउने चिन्ता व्यक्त गरे । त्यस्ता क्रियाकलापले जैविक विविधा नष्ट हुने भन्दै उनले प्रकृति एकचोटी गुमेपछि फर्काउन गाह्रो हुने उल्लेख गरे ।

वातावरण पत्रकार समूहले आयोजना गरेको अन्तरक्रियामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव कमलजङ्ग कुँवरले संविधान र अन्य कानूनअनुसार पनि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकका लागि वातावरणको संरक्षण अनिवार्य रहेको बताए ।

साथै उनले जैविक विविधताको धनी मानिने शिवपुरी जलाधार क्षेत्रबाट काठमाडौैँ र वरपरका बासिन्दाका लागि दैनिक करीब चारदेखि पाँच करोड लिटर पानी उपलब्ध हुने गरेको जानकारी गराए । निकुञ्ज क्षेत्रमा स्थापना हुने भौतिक संरचना तथा पर्यापर्यटन गतिविधिबाट केही राजश्व प्राप्त हुने भए पनि संरक्षित क्षेत्रले मानव स्वास्थ्यमा पुर्‍याइरहेको अमूल्य योगदानलाई अवमूल्यन गर्न नहुने उनको भनाइ थियो ।

सो निकुञ्जमा विभिन्न तीन समूहले एक वर्षदेखि केबलकार र होटेल रिसोर्ट सञ्चालनका लागि पहल गरिहेका छन् । मन्त्रालयले संरक्षित क्षेत्रमा पर्यापर्यटन विस्तार गर्ने कार्यविधिको मस्यौदा तयार गरिरहेको जनाएको छ । साथै सो निकुञ्जको नियमावली पनि संशोधन प्रक्रियामा छ ।

शिवपुरी निकुञ्ज २०५८ सालमा स्थापना भएको हो । यो निकुञ्ज काठमाडांँ, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ्ग जिल्लाको आंशिक भू–भागमा फैलिएको छ । शिवपुरी जलाधार क्षेत्रका रूपमा सन् १९८९ मा स्थापित यसको क्षेत्रफल १४४ वर्ग कि.मी. थियो ।

सन् २००२ मा यसलाई शिवपुरी राष्ट्रिय निकुञ्ज नाम दिइयो भने २०६५ सालमा नागार्जुन क्षेत्रको १५ वर्ग कि.मी. क्षेत्रफल समेटेर १५९ वर्ग कि.मी. क्षेत्रफलको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज घोषित भएको हो ।

वनस्पति विज्ञ डा. तीर्थबहादुर श्रेष्ठले सो निकुञ्ज संरक्षणको इतिहासका बारेमा अवगत गराउँदै यसलाई काठमाडौंका जनताका लागि आवश्यक पर्ने शान्त पार्कका रुपमा विकास गर्न सकिने सुझाव दिए । साथै उनले चरालगायत विभिन्न जीव र वनस्पतिको उत्तम बासस्थान भएकाले पनि शिवपुरीलाई शिवपुरी नै रहन दिनुपर्ने बताए ।

वरिष्ठ पत्रकार भैरव रिसालले हरेक क्षेत्रमा पैसा कमाउने सोच राख्न नहुने भन्दै शिवपुरी मात्र होइन काठमाडौंको सुरक्षित भविष्यका लागि यसका वरपरका सबै डाँडामा वातावरण बिग्रने कुनै पनि गतिविधि गर्न नपाइने कानून बनाउनुपर्ने सुझाव दिए ।

शिवपुरी क्षेत्र काठमाडौंको खानेपानी आपूर्तिको मुख्य स्रोत हो । विभागका अनुसार यस क्षेत्रबाट प्रतिदिन करीब १० लाख घन लिटर पानी उपलब्ध हुन्छ । यहाँ ३१८ प्रजातिका पक्षी, २३ प्रजातिका स्तनधारी, १०२ प्रजातिका पुतली र १२९ प्रजातिका च्याउ पाइन्छन् ।

यो निकुञ्जमा दुर्लभ वन्यजन्तु ध्वाँसे चितुवा, कालो भालु, चितुवा, रतुवा, बँदेल, जङ्गली बिरालो, लङ्गुरलगायत वन्यजन्तु पाइन्छन् । यस निकुञ्जअन्तर्गत हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका महत्वपूर्ण धार्मिकस्थलहरू रहेका छन् । बागद्वार, जामाचो, विष्णुद्वार, तारेभिर, नागी गुम्बा आदि प्रमुख तीर्थस्थल हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७