भारतीय चलचित्रलाई पाकिस्तानमा प्रतिबन्ध


२४ श्रावण २०७६, शुक्रबार
mission

काठमाडौं, २४ साउन । भारत सरकारले जम्मू–कश्मिरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० खारेज गरेपछि भारत–पाकिस्तान तनाव बढ्दो छ ।

यो तनाव राजनीतिक तहमा मात्र होइन अन्य क्षेत्रमा समेत विस्तारै बढ्न थालेको छ । जम्मू–कश्मिरको विशेष दर्जा खोसिएपछि पाकिस्तानले विभिन्न कदम चाल्दै आएको छ ।

गएको बिहीबार मात्रै पाकिस्तानले लाहोरबाट भारतको अटारीबीच चल्ने रेल ‘सम्झौता एक्सप्रेस’ सधैंका लागि बन्द गर्ने घोषणा गरेको थियो । अहिले फेरि पाकिस्तानले आफ्नो चलचित्र घरहरुमा बलिउड (भारतीय) चलचित्रलाई प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानका सूचना तथा प्रसारण मामलाका विशेष सल्लाहकार फिरदौस आशिक अवाजले भने, ‘पाकिस्तानको सिनेमा घरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गरिने छैन । नाटक, चलचित्रलगायत भारतीय सामग्री पाकिस्तानमा पूर्णरुपमा प्रतिबन्ध हुनेछ ।’

पाकिस्तानले भारतीय चलचित्रमा प्रतिबन्ध लगाएको यो पहिलो पटक भने होइन । यसअघि गएको फेब्रुअरीमा भारतले बालाकोटमा गरेको हवाई आक्रमणपछि पनि पाकिस्तानले यस्तै घोषणा गरेको थियो ।

भारत सरकारले जम्मू–कश्मिरको विशेष राज्यको दर्जा खारेज गर्दै लद्दाखलाई पनि केन्द्रशासित प्रदेशमा विभाजन गरेपछि पाकिस्तानले व्यापारिक र राजनीतिक सम्बन्ध सीमित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७