फर्केर हेरौँ को कता छुट्यौ ?


२४ श्रावण २०७६, शुक्रबार
sushila ninam 1

-सुशिला निनम

आज ठूलो–ठूलो ब्यानर
हातमा झण्डा, प्लेकार्ड बोकेर
यो सडकबाट
आदिवासी जनजाति जिन्दावाद
सम्पूर्ण आदिवासी जनजाति एक होऔं
गइरहेको छ जमात, नारा लाउँदै
धेरै गईसके यो सडक टेकेर

जमातमा कतै देखिएनन् सूर्यनारायण राउटे
दिलमाया चेपाङ, राजामामा कुसुण्डा
जङ्गलमा रुख ढालेर मधुस ताछ्दा ताछ्दै
ढिलो भयो कि सूर्यनारायणलाई
सिस्नोको मुन्टा टिपि पकाएर
चित्रा चोया बनाईरहेको छोरालाई
खुवाउँदा खुवाउँदै ढिलो भो कि
दिलमाया चेपाङलाई
कता अलमलिए ?
राजामामा कुसुण्डा
आउँदा–आउँदै बाटोमा पत्रकारसँग भेट भयो कि
सोध्न थाले होलान्
पत्रकारले नाम ?
भन्न थाले होला
नाम थाहा छैन
सबैले राजामामा भन्छन्
त्यसैले ढिलो भो कि उनलाई
हतार–हतार हस्याङ–फस्याङ
आइपुग्छ्न कि भनेर
हेरिरहेको छु यो सडक छेउ उभिएर
तर, आउँदै आएनन्
सूर्यनारायण राउटे, दिलमाया चेपाङ र राजामामा कुसुण्डा
ब्यानर, प्लेकार्ड बोकेर
सुनिएन कतै
तिनीहरूले भनेको
आदिवासी जनजाति जिन्दावाद
धेरै पछाडि पो छोडी आएछन्
यी फर्केर नहेरी
अगाडि जाने जमातले
उनीहरूलाई
अब कहिले आइपुग्लान् उनीहरू ?
कसरी आइपुग्लान् उनीहरू ?
यो सडकसम्म
अनि कहिले भन्लान् ?
आदिवासी जनजाति जिन्दावाद ।।

खाेटाङ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७