इपिएलमा ललितपुरको विजयी सुरुवात


प्रकाशित मिति : December 18, 2017

काठमाडौं: काठमाडौंमा सोमबारदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको पहिलो खेलमा जीत निकाल्दै ललितपुर प्याट्रिअट्सले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा ललितपुरले काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले पराजित गरेको हो ।

काठमडौंले दिएको ९० रनको सामान्य लक्ष्य राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टोली ललितपुरले १६।४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । ललितपुरका लागि भारतीय ब्याट्सम्यान जयकिसन कोल्सावालाले सर्बाधिक अविजित ४४ रन बनाए । ओपनर कोल्सावालाले ४८ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे ।

ललितपुरका लागि कप्तान मल्लले पनि २० रन बनाए । अर्का ओपनर पवन सर्राफ खाता नखोली आउट भएपछि मल्ल र कोल्सावालाले दोस्रो विकेटका लागि ५४ रनको अर्धशतकीय साझेदारी गरेका थिए । ललितपुरका लागि अर्का भारतीय खेलाडी योगेश नागरले २ रनमात्र बनाउँदा राजवीर सिंहले अविजित १४ रन बनाए । काठमाडौंका लागि मेरेनागे फर्नाण्डोले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८।३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८९ रन बनाएको थियो । काठमाडौंका लागि अ‍ोपनर अमित श्रेष्ठले २७ रन बनाउनुबाहेक अन्यले सन्तोषजनक रन बनाउन सकेनन् । उसका लागि श्रीलंकाली ब्याट्सम्यान अक्षु पर्नाण्डेजले १५ र सोमपाल कामीले १४ रन बनाएका थिए । काठमाडौंका चार व्याट्सम्यान खाता नखोली पेविलियन फर्केका थिए ।

बलिङतर्फ ललितपुरका भारतीय बलर सुबोध भाटीले सर्बाधिक ४ विकेट लिँदा ललित राजवंशीले ३ तथा मेहवुव आलमले २ र योगेश नागरले १ विकेट लिए । ४ ओभरमा १४ रन दिएर ३ विकेट लिएका नेपाली युवा बलर ललित भण्डारी खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतिक्रिया दिनुहोस्