स्वयम्भू गोली प्रकरण : ‘५० लाख दिए हुन्छ, बाँकी विस्तारै दिनूँ’

‘एक पटकलाई केही नगरौं भनेर छाडेका हौं र आज त बाँचिस्, सधैं यस्तो हुन्न, भनेर भन्यो’


२५ श्रावण २०७६, शनिबार
lopsang

काठमाडौं, २५ साउन । रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का विगत एक महिनादेखि निक्कै तनावमा थिए ।

अपरिचित व्यक्तिबाट फोनमार्फत रु दुई करोड पैसा नदिए अपरहण गर्ने र मार्ने धम्की लगातार आइरह्यो । त्यसैले उनी पछिल्लो समयमा गाउँपालिका फर्किएका थिएनन् । काठमाडौंस्थित घरमा बस्थे ।

खड्काले भने, ‘यति बजे त घरबाट निस्किस्, फलानो ठाउँमा पुगिस्, तैले यस्तो कपडा लगाएको छस्, एक पटकलाई केही नगरौं भनेर छाडेका हौं र आज त बाँचिस्, सधैं यस्तो हुन्न, भनेर भन्यो ।’

‘मैले जे गतिविधि गरिरहेको हुन्छु त्यो सबै फोनबाट भन्थ्यो, यस्तो भएपछि कसलाई डर लाग्दैन ?’ उनले थपे । विक्षिप्त मन लिएर बस्दै गर्दा एकाएक शुक्रबार उनलाई प्रहरीबाट फोन आयो, ‘ल तपाईंलाई धम्की दिने मान्छे हामीले पक्राउ गरेका छौं, ट्रमा सेन्टरमा राखिएको छ ।’

आफूलाई पैसा मागेर मार्ने भन्दै दिनहुँ धम्की दिएर सताइरहने व्यक्ति पक्राउ परेको खबरले उनी खुशी हुँदै ट्रमा सेन्टरमा गए । जब त्यो व्यक्तिलाई देखे, त्यसपछि उनी छाँगाबाट खसे जस्तै भए । आफ्नै गाउँपालिका–७ का व्यक्ति थिए उनी । उनको वास्तविक नाम बाबुराम तामाङ हो । तर उनले लोप्साङ र मिलनको नाम समेत प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

खड्काको उजूरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले शुक्रबार काठमाडौं महानगरपालिका–१५ स्वयम्भूको विजेश्वरी हाउजिङस्थित एक क्याफेमा बाबुराम तामाङलाई फेला पारेको थियो ।

नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण गरेको र आत्मसमर्पण गर्न आदेश दिंदा समेत अटेर गरी भाग्न खोजेपछि प्रहरीले घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको थियो । उनका सहयोगी अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
खड्काका अनुसार उनले रु दुई करोडको माग गर्दै पैसा नदिए परिवारकै अपहरण गरेर मार्ने धम्की तारन्तार दिएका थिए ।

यो कुरा फोन रेकर्डमा समेत छ । कुराकानीका क्रममा अहिले किस्तामा रु ५० लाख दिए हुन्छ बाँकी विस्तारै दिनुहोला भनेको थियो । यति गरेपछि गाउँपालिकाको विवाद सल्टिने कुरा समेत फोनमै भनेको थियो ।

गाउँपालिका अध्यक्ष खड्काले गत वैशाखमा वडा नं–७ का वडाध्यक्ष सुवास बोहरासँग गाउँपालिकाको सभामा विवाद भएको कुरा बताए । सो बेला बोहराकै पक्ष लिनेमध्येका एक बाबुराम रहेको उनको भनाइ छ । उनी वडाध्यक्ष सुवास बोहराको छिमेकी समेत हुन् । बोहराले समेत बाबुराम आफूले चिनेको आफ्नै वडाको भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७