बोल्ड तस्वीरले चर्चामा रहेकी साम्राज्ञी भन्छिन्, ‘साडी लगाउन असहज लाग्छ’


२५ श्रावण २०७६, शनिबार
samragyee

काठमाडौं, २५ साउन । बोल्ड अभिनेत्रीको छवि बनाएकी साम्राज्ञी आरएल शाह वर्षमा दुई भन्दा बढी फिल्म गर्दिनन् । गएको वर्ष उनको दुई फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ र ‘कायरा’ रिलिज भएका थिए ।

यस वर्ष पनि उनका दुई फिल्म ‘मारुनी’ (भाद्र १३) र दशैंमा ‘रातो टिका निधारमा’ रिलिज हुँदैछ । एक महिनाको अन्तरमा दुई फिल्म रिलिज हुन लागेका कारण गत वर्षझैं यसपटक पनि उनलाई प्रचारमा समय मिलाउन चटारो पर्ने देखिन्छ । दुबै फिल्मले प्रचार सुरु गरिसकेका छन् ।

डेब्यू फिल्म ‘ड्रिम्स’ पछि साम्राज्ञीले एकैखाले भूमिकामा अभिनय गर्दै आएकी छन् । न त उनले अभिनयमा विविधता नै पस्किन सकेकी छन् । उनी यसको दोष स्क्रिप्टलाई दिन्छिन् । बुधबार फिल्म ‘रातो टीका निधारमा’ को पहिलो गीत सार्वजनिक कार्यक्रममा उनले भनिन्, ‘अहिले फिल्म इन्डस्ट्री विकशित भइरहेको छ । स्क्रिप्टमा निकै परिपक्वता र भर्सटालिटी छ ।’ उनले गत वर्षसम्म आफूलाई एकैखाले स्क्रिप्टबाट अफर आउने गरेको बताइन् ।

काम नगरी बस्न नसक्ने भएका कारण स्क्रिप्ट एकैखाले भए पनि आफूले छानेर गरेको उनी बताउँछिन् । ‘गत वर्षसम्म अफर आएका स्क्रिप्टमध्ये सबैभन्दा राम्रो छानेर गर्दै आएको थिएँ । तर, यस वर्ष चाहिँ मलाई निकै राम्रो राम्रो स्क्रिप्टबाट अफर आएको छ । ‘मारुनी’ र ‘रातो टिका निधारमा’ दुबै फिल्मको स्क्रिप्ट राम्रो लागेर गरेको हुँ । यसपटक मलाई दुबै फिल्ममा फरक भूमिका देख्न पाउनुहुनेछ’, उनी सुनिइन् ।

उनले आफूलाई पहिलादेखि नै महिला सशक्तिकरणको कथामा फिल्म गर्न निकै मन भएको बताउँदै अगाडि भनिन्, ‘अशोक (शर्मा) दाइले स्क्रिप्ट सुनाउने वितिक्कै एकदमै राम्रो लागेको थियो । मलाई पनि अलि बलियो र फरक भूमिका गर्न मन थियो । त्यसमाथि म महिला सशक्तिकरणको कथामा काम गर्न चाहन्थें । ‘रातो टिका निधारमा’ ले महिला सशक्तिकरणलाई टेवा पुर्‍याउँछ ।’ उनी आफूलाई गाह्रो लाग्ने काम गर्न मन लाग्ने बताउँछिन् ।

‘मारुनी’ र ‘रातो टिका निधारमा’ को भूमिका निकै गाह्रो भएकै कारण आफू गर्न उत्सुक भएको उनको कथन छ । गीतको थिमअनुसार हरियो साडी लगाएर सम्भवतः पहिलो पटक सार्वजनिक कार्यक्रममा पुगेकी उनले भनिन्, ‘जे कुरा गर्न गाह्रो हुन्छ त्यही गर्न उत्सुकता आउँदो रहेछ । ‘रातो टिका निधारमा’ को डाइलग एकदमै गाह्रो थियो । ‘मारुनी’ मा चाहिँ एकदमै बोल्ड हुनु थियो । यसपटक अभिनयमा पनि विविधता पस्कने प्रयास गरेको छु ।’

प्रायः सार्वजनिक कार्यक्रममा बोल्ड पहिरनमा पुग्न रुचाउने अभिनेत्री साम्राज्ञी ‘रातो टिका निधारमा’ को गीत सार्वजनिक कार्यक्रममा हरियो साडी सम्हाल्दै पुगेकी थिइन् । सम्भवतः उनी साडीमा पहिलो पटक सार्वजनिक कार्यक्रममा भेटिएकी हुन् । तर, उनी आफ्नो रहरले साडी लगाएर पुगेकी भने थिइनन् । फिल्मको सार्वजनिक गीतको थिमअनुसार उनले पहिरन छनोट गरेकी थिइन् । ‘मेरो माया के हो ?’ बोलको गीतमा उनले साडीमा नै ठुम्का लगाएकी छन् ।

उनी आफूलाई साडीमा राम्री देखिने भएता पनि असहज लाग्ने बताउँछिन् । ‘हिलमा साडी मिलाएर हिँड्न निकै गाह्रो हुन्छ । त्यसमाथि कसैले पल्लुमा टेकिदिन्छ । साडी राम्रो लाग्छ तर लगाएर हिंड्न असहज महसुस हुन्छ’, उनले भनिन् । उनी अधिकांश चलचित्रमा बोल्ड देखिए जस्तै व्यक्तिगत दुनियाँमा पनि बोल्ड छिन् ।

केहि दिनअघि सार्वजनिक उनको बोल्ड तस्विरको बजारमा निकै चर्चा भएको थियो । ‘रातो टिका निधारमा’ मा उनले नव नायक अंकित शर्मासँग रोमान्स गरेकी छिन् । उनले आफूले यसअघि काम गरेका अभिनेताभन्दा अंकित इनोसेन्ट लागेको बताइन् । अंकित पनि साम्राज्ञीबाट आफूले धेरै कुरा सिकेको बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७