ऋण लिएका श्रीमान् आठ वर्षदेखि साउदीमा, यता अदालतको आदेशमा घरमा डोजर लगाइयो


२७ श्रावण २०७६, सोमबार
rin

महोत्तरी, २७ साउन । विदेश पठाउँदा दिएको ऋण नतिरेको भन्दै महोत्तरीमा एक एजेन्टले गरिब परिवारको घर डोजर लगाएर भत्काइदिएका छन् ।

सम्पत्तिको नाममा पाँच धुर जग्गामा बनेको फुसको टहरो पनि भत्किएपछि परिवारको वास सडकमा भएको छ ।महोत्तरी भंगहा नगरपालिका–१ कविलासका मोहम्मद शेषको घर अदालतको आदेशमा शनिबार भत्काइएको हो ।

शेषलाई पैसा दिने स्थानीय एजेन्ट बद्री ठाकुरको पक्षमा फैसला दिएको अदालतका अधिकारीहरू आदेश कार्यान्वयन गराउन गाउँमै आएका थिए । अदालतका ६ जना अधिकारीलाई सुरक्षा दिन प्रहरी पनि खटिएको थियो । अदालतका हाकिमहरू, प्रहरी र ऋण दिने साहुका अगाडि शेषकी श्रीमती जहिरा खातुनले हारगुहार गरेकी थिइन् । तर, अदालतको आदेश सर्वमान्य हुने भन्दै टहरो भत्काएर मात्र टोली फर्केको थियो ।

बकरिद पर्वको पूर्वसन्ध्यामा घरबारविहीन भएका खातुन र उनको परिवार बिचल्लीमा छ । नगरपालिकाका मेयरले दिएको त्रिपाल टाँगेर खातुनको परिवार अहिले सडकमै बसेको छ । ‘घर नभत्काउनुस्, तपाईंको पैसा जे–जति छ, सबै तिर्छु । छोरीहरू छन्, कहाँ लिएर जानू भन्दा पनि उनीहरूले मानेनन्,’ खातुनले भनिन्, ‘प्रहरीलाई पनि गुहार गरेँ । तर, उनीहरूले सुनेनन् ।’ उनले आफूहरूको घरमा रहेका अनाज, लत्ताकपडा सबै पुरिएको बताइन् ।

‘सोमबार हाम्रो बकरिद पर्व छ । जसोतसो केही सामान किनेर ल्याएका थियौँ । सबै बर्बाद भयो,’ उनले भनिन्, ‘पर्वको वेला सडकमा आइयो,’ दुई छोरा र चार छोरीका बाबु भने आठ वर्षदेखि वैदेशिक रोजगारमा साउदी अरबमा बस्दै आएका छन् ।

१२ वर्षअघि एजेन्ट ठाकुरले विदेश पठाइदिन्छु भन्दै शेषबाट २० हजार रुपैयाँ लिएका थिए । तर, ठाकुरले शेषलाई चार वर्षसम्म विदेश पठाएनन्, पैसा पनि फिर्ता गरेनन् । दैनिक ज्यालादारी गरेर घर चलाउने शेषले आफ्नो समस्या गाउँसमाजका भद्रभलाद्मीलाई सुनाए ।

त्यसपछि एजेन्ट ठाकुरले थप ५० हजार रुपैयाँ दिए मात्रै विदेश पठाउने बताए । ‘राम्रो कम्पनीको भिसा हो, महिनाको हजार रियाल कमाइ हुन्छ भन्दै ठाकुरले ५० हजार रुपैयाँ माग्यो,’ खातुन भन्छिन्, ‘विदेश पुगेर कमाएर पठाउँछु भनेपछि ठाकुरले मेरो श्रीमानलाई विदेश पठाइदिएको हो ।’ तर, शेषले साउदीमा भनेअनुसारको काम पाएनन् ।

उनले मासिक चार सय रियल मात्रै तलब पाए । त्यसपछि उनले ठाकुरसँग गुनासो गरे । तर, ठाकुरले तलब बिस्तारै बढ्छ भनेर टारे । ‘वर्षौँ बित्दा पनि तलब बढेन । थोरै कमाइले घरपरिवार चलाउनै पुग्दैनथ्यो । दुई छोरीको बिहे गर्नुपर्ने थियो, त्यसकारण ठाकुरको पैसा दिन सकेनौँ,’ खातुनले भनिन् ।

शेष विदेश गएको केही दिनमै एजेन्ट ठाकुरले शेषका बुबा अहमद शेषलाई ५० हजारको तमसुक बनाइसकेका थिए । अहमदको ६ वर्षअघि नै मृत्यु भइसकेको छ । त्यही तमसुकको भरमा पैसा असुली गर्न जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरे । उनले मुद्दा जिते पनि ।

जिल्ला अदालतको फैसला चित्त नबुझेपछि खातुनले उच्च अदालत जनकपुरमा निवेदन दिएकी थिइन् । तर, मुद्दा विचाराधीन रहेकै वेला ठाकुरले प्रहरी ल्याएर घर भत्काइदिएको उनले बताइन् । तर, स्थानीय प्रहरीले भने उच्च अदालतबाट पनि ठाकुरकै पक्षमा फैसला भएको बताएको छ ।

इलाका प्रहरी कार्यालय लोहारपट्टीका सई पुरुषोत्तम द्विवेदीले नयाँ पत्रिकासँग भने, ‘उच्च अदालतले पनि घरजग्गा खाली गराउन भनेर आदेश दिएको छ, त्यही कागज बोकेर जिल्ला अदालतका ६ जना प्रतिनिधि आउनुभएको थियो, अदालतकै आदेशअनुसार घर भत्काइएको हो, हामी त अदालतका कर्मचारीको सुरक्षामा मात्र गएका हौँ ।’

एजेन्ट ठाकुरले शेषको घर आफूले नभई जिल्ला अदालत महोत्तरी र प्रहरी प्रशासनले भत्काएको दाबी गरे । ‘सात वर्षअघि शेषले मसँग दुई लाख ५० ऋण लिएको थियो, तर पटक–पटक ताकेता गर्दा उनले पैसा दिन मानेन,’ ठाकुरले भने, ‘पछि पैसा असुल गर्न मुद्दा दिएपछि अदालतले घरघडेरी लिलाम गरी पैसा असुल गर्न आदेश दियो ।’ त्यही आदेशले प्रशासनले शेषको घर भत्काएको एजेन्ट ठाकुरले बताए ।

पैसाको विषयलाई लिएर एजेन्ट ठाकुरले आफूलाई वर्षौँसम्म दुव्र्यवहार गरेको खातुनले बताइन् । ६ वर्षअघि श्रीमान् विदेशमै रहेका वेला राति १२ बजे ठाकुरले घरमै आएर आफूलाई जबर्जस्ती गर्न खोजेको उनको आरोप छ । ‘म बालबच्चासहित घरमा सुतिरहेकी थिएँ । ठाकुर रक्सी खाएर घरमै आयो र मलाई जबर्जस्ती गर्न खोज्यो । जसोतसो मैले ज्यान जोगाएँ,’ उनले भनिन्, ‘त्यो राति आफूसँग सम्बन्ध राखे ऋण माफ गरिदिने प्रस्ताव पनि ठाकुरले राखेको थियो ।’

घटनाबारे पञ्चायत पनि बस्यो । ठाकुरले आफू पैसा माग्न गएको र आफ्नो नियत खराब नभएको दाबी गरे । उनले आइन्दा त्यस्तो नगर्ने भनेर माफी पनि मागे । गाउँ–समाजमा ठाकुरले गल्ती स्वीकार गरे पनि विभिन्न बहनामा आफूलाई दुव्र्यवहार गर्न नछोडेको खातुनको भनाइ छ ।

दोषीलाई कारबाही हुनुपर्छ : मेयर सञ्जीवकुमार साह
भंगहा नगरपालिका मेयर सञ्जीवकुमार साहले शेष परिवारमाथि अन्याय भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

‘यो लेनदेनको मुद्दा मिलाउन मैले पनि पहल गरेको थिएँ,’ उनले भने, ‘तर, एजेन्ट ठाकुरले यो विषयमा समझदारी देखाउन चाहेनन् । अहिले गरिब असहायको घर नै भत्काएछन् । मानवता नै बिर्सेर यो घटना भएको छ । यसका दोषीलाई कारबाही गर्न प्रशासनसँग जोडदार माग गर्छु ।’ नयाँ पत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७