सोमपाल कामीको टोलीलाई टी–२० क्यानडा लिगको उपाधि


२७ श्रावण २०७६, सोमबार
Sandeep Sompal

काठमाडौं, २७ साउन । ग्लोबल टी–२० क्यानडा लिग क्रिकेटको उपाधि नेपालका फास्ट बलर सोमपाल कामीको टिमले हात पारेको छ । सोमपालको टोली विनिपेग हक्सले आइतबार भएको खेलमा भान्कुभर नाइट्सलाई सुपर ओभरमा हराउँदै उपाधि जितेको हो।

भान्कुभर नाइट्सले टस जितेर पहिले बलिङ रोजेको थियो । पहिले ब्याटिङ गर्दै विनिपेग हक्सले २० ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो । १९३ रनको लक्ष्य पछ्याएको भान्कुभर नाइट्सले २० ओभरमा ६ विकेट गुमाएर १९२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा भान्कुभर नाइट्सले दिएको १० रनको लक्ष्य विनिपेग हक्सले ४ बलमा पूरा गरी जित निकाल्यो ।

ब्याटिङमा विनिपेग हक्सका लागि यूएईका खेलाडी साइमन अलवारले आक्रामक इनिङ खेले । उनले४५ बलमा ८ चौका र ७ छक्कासहित ९० रन बनाएका थिए । क्रिस लिनले ३७ र जेपी डुमिनीले ३३ रन जोडे। भान्कुभर नाइट्सका लागि आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिन सफल भए ।

भान्कुभर नाइट्सका लागि पाकिस्तानी खेलाडी कप्तान सोयब मल्लिक, वेस्ट इन्डिजका आन्द्रे रसेल र अस्ट्रेलियन खेलाडी डेनियल साम्सले आक्रामक ब्याटिङ गरेपनि टोलीलाई जित दिलाउँन सकेनन । मल्लिकले ३६ बलमा ६४, साम्सले ९ बलमा २१ रन बनाउँदा रसेल २० बलमा ४६ रन बनाएर नटआउट रहे । रसेल र क्यानडाका खेलाडी सादमिन जफरले अन्तिम २ ओभरमा ३८ रन जोडेका थिए ।

विनिपेग हक्सका लागि कप्तान राएद इम्रिट र पाउल मीेकेरेनले २–२ विकेट लिए । सोमपाल कामी भने फाइनलमा पनि बेञ्चमै सीमित भए । यस प्रतियोगितामा सोमपालले जम्मा एक खेल मात्रै खेल्न पाए । पहिलो पटक मौका पाउँदा नै उनले राम्रो प्रदर्शन नगरेपछि पछिल्ला खेलमा अन्तिम ११ मा पर्न सकेनन् । २ ओभर बलिङ गर्दा उनले बिना विकेट ३३ रन दिएका थिए । सो खेलमा ब्याटिङ गरी ५ बलमा १ रन बनाएका थिए ।

टी–२ं० लिगमा नेपालका खेलाडी सम्मिलित टोलीले उपाधि जितेको हो । गत वर्ष सन्दीप लामिछानेको टोली अस्ट्रेलियन लिग विगबासको फाइलनमा पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७