२०४ सैनिकमाथि कार्बाही, दुई जर्नेलमाथि छानविन चल्दै


२७ श्रावण २०७६, सोमबार
army 2

काठमाडौं, २७ साउन । सैनिक आचरण र मर्यादा विपरीत काम गर्ने अधिकृतविरुद्ध जङ्गी अड्डाले धमाधम कार्वाही अगाडि बढाएको छ ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा रहेको सैनिक प्रहरी गणले आचरण विपरीत काम गर्ने सैनिक अधिकृतमाथि तीब्र र कठोरताका साथ अनुसन्धान थालेको छ । सैनिक अदालतले सचेत गराउनेदेखि बर्खास्तसम्मको सजाय सुनाइसकेको छ । सैनिक २४ भदौ २०७५ यताको ९ महिनामा २०४ जना सैनिक कार्बाहीमा परेको स्रोतले जानकारी दिएको छ ।

सैनिक प्रहरीको तथ्यांकअनुसार, ४ जना अधिकृतलाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य ठहरिने गरी बर्खास्त गरिएको छ । अन्य दर्जाका १६५ जना बर्खास्त भएका छन् । यो अवधिमा एक अधिकृतसहित अन्य दर्जाका २८ जनालाई घटुवा गरिएको स्रोतले जानकारी दिएको छ ।

सरकारी सेवामा भविष्यमा अयोग्य नठहरिने गरी अन्य दर्जाका ६ जना कर्मचारी कारबाहीमा परेका छन् । अनियमिततामा मुछिएकादेखि लागूपदार्थ सेवन, वैदेशिक रोजगारीसम्बन्धी घटना, बुहविवाह, साइबर अपराध, आर्थिक लेनदेनलगायतका कसूरमा सैनिक अधिकृतमाथि अनुसन्धान भएको स्रोतले जानकारी दिएको छ ।

सिपाहीले पैसा लिएर फिर्ता नदिएको भन्ने उजुरी सैनिक प्रहरीमा बढी पर्ने गरेको बताइन्छ । यो अवधिमा नेपाली सेनाको रिपुमर्दिनी सैनिक विद्यालयको विद्यार्थी भर्नामा अनियमितता गर्ने प्रधानाध्यापक, शिक्षक र कर्मचारीसहित ३ जनालाई पनि कारबाही गरिसकेको छ ।

सेनाले ०७१ सालदेखि हालसम्म ५ वर्षको अवधिमा ४१२ जनालाई कारबाही गरिसकेको देखिन्छ । जसमा भविष्यमा समेत सरकारी सेवामा आयोग्य हुने गरी ६ जना अधिकत बर्खास्तमा परेका छन् भने अन्य दर्जाका २४६ जना बर्खास्तीमा परेका छन् । भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरीचाहिँ अन्य दर्जाका १० जना अधिकृत कारबाहीमा परेका छन् । एक जना अधिकृतसहित अन्य दर्जाका ५५ जना सैनिकको घटुवा भएको तथ्यांक छ ।

दुई जर्नेलको नक्कली नागरिकता छानविनमा

प्रधानसेनापति पूर्णचन्द्र थापाले नियुक्ति लिएपछि पहिलो पटक २५ असोजमा पत्रकार सम्मेलन गर्दै सेनाभित्र थुप्रै विकृति रहेको स्वीकारेका थिए । विकृति हटाउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सेनामा हुने भ्रष्टाचारको घटनामा शून्य शहनशीलता अपनाइने बताएका थिए ।

सेनाभित्र रहेको नक्कली प्रमाण पत्र र नागरिकता कीर्तेविरुद्ध छानविन शुरु भएको जंगी अड्डाले जनाएको छ । १३ भदौदेखि अहिलेसम्म ११ जनालाई नक्कली प्रमाण पत्र र कीर्ते नागरिकता प्रकरणमा कारबाही गरिसकेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।
सहायक रथीको संयोजकत्वमा छानविन समिति समिति गठन गरेर सैनिक अधिकृतको कागजपत्रबारे छानविन थालिएको छ ।

पछिल्लो समय दुई उच्च सैनिक अधिकृतको जन्ममिति शंकास्पद देखिएको छ । स्रोतका अनुसार उपरथी ताराध्यव पाण्डे र सहायक रथी अशोकराज सिग्देलको जन्ममिति शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरक–फरक देखिएको हो ।

पाण्डेलाई २५ माघ ०७५ को मन्त्रिपरिषद स्तरीय वैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । अनुसार पाण्डेको शैक्षिक योग्यताको प्रमाण पत्रमा जन्म मिति १२ माघ २०२१ भनिएको छ । तर, सेनालाई बुझाएको अभिलेखमा २३ मंसिर २०२३ देखिएको छ ।

उनी अहिले सेनाको मध्य पृतना, हेटौंडाको प्रमुख छन् । उपरथीमा बढुवा पर्खिरहेका सिग्देलले पनि दुई वर्ष उमेर घटाएको विषयमा छानविन भइरहेको छ । सिग्देलको जन्ममिति शैक्षिक प्रमाण पत्रमा १९ माघ २०२१ र नागरिकतामा १९ माघ २०२३ देखिएको छ । यसअघि बढुवाका लागि जन्ममिति सच्चाएको आरोपमा केही सैनिक अधिकृत बर्खास्तीमा परेको रेकर्ड छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७