द्वन्द्वमा ध्वस्त भएको प्रहरी चौकीले पायो नयाँ जीवन


२७ श्रावण २०७६, सोमबार
keladi

पाल्पा, २७ साउन । द्वन्द्वकालमा ध्वस्त बनेको प्रहरी चौकी केलादीले अहिले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिन थालेको छ ।

विसं २०१२ मा पाल्पाको बल्डेङगढीबाट ल्याइएको प्रहरीचौकीले साविक दर्छा गाविसको केलादीबाट सेवा दिएको थियो । विसं २०१५ को साउनमा थानाका रूपमा स्थापना भएको उक्त चौकीले आफ्नो सेवा प्रारम्भ गरेको थियो ।

विसं २०५१ मा साविक रामपुर गाविसका स्थानीय, बुद्धिजीवी, समाजका अगुवा व्यक्ति, राजनीतिक दलको जोडबलमा उक्त चौकी सारेर रामपुर बेझाड बजार नजिकैबाट सेवा दिन थालिएको थियो ।
द्वन्द्वकालीन समय विसं २०५८ को माघमा भवन पूरै ध्वस्त बन्यो ।

यस क्षेत्रका नागरिकले असुरक्षाको महसुस गर्न थालेपछि सुरक्षा व्यवस्थालाई बलियो बनाउन पुनः यहाँका स्थानीय सरोकारवाला, राजनीतिक दलले प्रहरीचौकी माग गरेपछि २०७० देखि प्रहरीचौकी केलादीको नामबाट सेवा दिन थालियो ।

द्वन्द्वकालीन समयमा ध्वस्त बनेको प्रहरी चौकी फेरि गाउँमा आउने भएपछि यस क्षेत्रका स्थानीय तथा सरोकारवालाले ध्वस्त बनेको पहिल्यैको भवनलाई मर्मत सम्भार गरी पुनः सेवा लिन थालियो । प्रहरी चौकी पुनः गाउँमा आएपछि सुरक्षा व्यवस्था पनि सुदृढ बन्दै जाँदा त्यसले सुरक्षाको राम्रो प्रत्याभूतिको महसुस भएको समाजसेवी उमानाथ अर्याल बताउँछन् ।

विसं २०७० मा तत्कालीन गृहसचिव लोकदर्शन रेग्मीले शिलान्यास गरेको भवन अहिले सुविधा सम्पन्न नयाँ भवनबाट सेवा दिन थालिएको छ । नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माण अन्तर्गत रु एक करोड आठ लाख ३५ हजार ९१६ मा निर्माण गरिएको हो ।

आरसिसी अवधारणाअनुसार दुई तले कार्यालय भवन, एक तले भान्सा घर, स्नानगृह र शौचालयसहित प्रतीक्षालय, पार्किङस्थल र गार्डपोष्ट रहेको छ । सो भवन प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीले उद्घाटन गरेपछि अहिले नयाँ भवनबाट सेवा दिन थालेको हो ।

यहाँका स्थानीय ज्ञानीलाल रिमाल, पारेश्वर भण्डारी र मनिकला भण्डारीले रु ३० लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएपछि नयाँ भवन बनाइएको हो । यसअघि पुरानो कच्ची भवनबाट दुःखसँग सेवा दिँदै आएको प्रहरीचौकी केलादीका प्रहरी सहायक निरीक्षक जङ्गबहादुर श्रेष्ठले बताए ।

‘पहिला विभिन्न घटनामा संलग्न, अपराधजन्य क्रियाकलाप गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछका लागि कोठा अभावमा इलाका प्रहरी कार्यालय रामपुर बेझाडमै पठाउने गरिन्थ्यो, अब त भवन पर्याप्त भएपछि सजिलो भयो’, उनले भने ।

यस चौकीले रामपुर नगरपालिका–१, २, ३, निस्दी गाउँपालिकाको वडा नं १ र २ मा सेवा दिँदै आइरहेको छ । पहिला पूर्वी पाल्पाकै एकमात्र प्रहरी चौकी थानाको रूपमा रहेको थियो ।

त्यस समयमा पूर्वी पाल्पाका साविक दर्छा, रामपुर, सहलकोट, बाकामलाङ, झिरुवास, मित्याल, गेझा, हुगी, खालिवन, विरकोट, सिलुवा, गल्धा, अर्चले, गाँडाकोट, रिङनेरह, ताहुँलगायत धेरै गाउँ विकास समितिमा सेवा प्रवाह गर्दै आएको पूर्व सिपाही तथा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य देवबहादुर नेपालीले बताए ।

‘पूर्वी क्षेत्रकै एक मात्र थानाका रूपमा रहेको हुँदा सेवाको क्षेत्र ठुलो थियो, गाउँ–गाउँमा अरोहात्र नागरिकको सेवामा तल्लीन भएर काम गरिन्थ्यो’, उनले भने । विगतमा कच्ची भवन सुत्न बस्न, पानी पर्दा चुहिएर हैरान हुने गरेको अनुभव सुनाउँदै उनले वर्तमानमा आइपुग्दा चौकीले ठूलो फड्को मारेको बताए । नेपालीले पाँच वर्षसम्म यहीँ सिपाही भएर काम गरेका थिए ।

यस प्रहरी चौकीमा १३ जनाको दरबन्दी भएपनि हाल एक प्रहरी सहायक निरीक्षक, एक हवल्दार, चार सिपाही कार्यरत छन् । नयाँ भवनसँगै सुरक्षा व्यवस्था प्रभावकारी बन्दै गाउँघरमा हुने आपराधिक क्रियाकलापमा न्यूनीकरण हुने ८२ वर्षीय डिल्लीराज दुवाडी बताउँछन् ।
‘द्वन्द्वकालमा ध्वस्त बनेको यहाँबाट विस्थापित भएको चौकी पुनः गाउँमा ल्याएर अहिले सुविधा सम्पन्न भवनमा सञ्चालन गरिएको छ, अब गाउँमा घटना घट्यो भनेर सुन्न नपरोस्’, दुवाडीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७