सन् २०२३ मा भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेटको तीन ढाँचा तयार


२८ श्रावण २०७६, मंगलवार
cricket

काठमाडौं, २८ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२३ मा भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक गरेको छ ।

आयोजकको हैसियतमा भारतले सिधै विश्वकपमा स्थान बनाउँदा अन्य सबै टोलीहरु छनौट हुनुपर्नेछ । विश्वकप छनौटका लागि आइसीसीले तीन फरक ढाँचाको प्रतियोगिता गर्ने भएको छ ।
टेष्ट मान्यताप्राप्त १२ टोली र विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्याण्ड्स गरी १३ देशबीच एक दिवसीय सुपर लिग हुनेछ । सुपर लिगमा भारत बाहेक शीर्ष ७ मा रहने टोली सोझै विश्वकपमा पुग्ने छन् ।

पुछारका पाँच टोलीले २०२२ मा हुने विश्वकप छनोट खेल्नु पर्ने हुन्छ । यसैगरी एक दिवसीय मान्यता पाएका अन्य ७ एशोसिएट टोलीहरुबीच विश्वकप लिग–२ प्रतियोगिता हुनेछ ।
आइसीसीको एक दिवसीय वरियतामा १४ देखि २० औं स्थानसम्म रहेका नेपाल, ओमान, नामिविया, पपुवा न्युगिनी, स्कटल्याण्ड, यूएई र अमेरिकाबीच विश्वकप लिग दुई अन्तर्गत कूल २१ त्रिकोणात्मक श्रृंखला हुनेछ ।

यसमा शीर्ष तीन स्थान हात पार्ने टोलीले सन् २०२२ मा हुने विश्वकप क्वालिफायर खेल्न पाउने छन् । पुछारका चार टोलीले विश्वकप छनोट प्ले–अफ खेल्ने छन् । आइसीसीले अन्य एशोसिएट राष्ट्रका लागि पनि विश्वकप छनौटको अवसर दिएको छ ।

यसका लागि १२ राष्ट्रबीच च्यालेञ्ज लिग खेलाइने छ । यी १२ राष्ट्रमा क्यानडा, डेनमार्क, मलेसिया, कतार, सिंगापुर, भानुआतु, बर्मुडा, हङकङ, इटाली, जर्सी, केन्या र युगाण्डा रहेका छन् ।
यो प्रतियोगितालाई लिष्ट ‘ए’ को मान्यता दिइएको छ ।

आगामी सेप्टेम्बरदेखि शुरु हुने यस च्यालेञ्जेज लिगका शीर्ष दुई टोलीले विश्वकप छनोटको प्लेअफमा स्थान बनाउने छन् । सुपर लिगबाट शीर्ष ७ टोली, फाइनल क्वालिफायरबाट आउने दुई टोली र आयोजक भारत गरी कूल १० देशले सन् २०२३ मा एक दिवसीय विश्वकप खेल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७