सुनका ‘शौखिन’ शाहीको घाँटी रेटी हत्या, विद्यालय कर्मचारी शंकास्पद रुपमा मृत्त फेला


२८ श्रावण २०७६, मंगलवार
KN Palpa

दमौली, २८ साउन । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो ।

शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता भएका थिए । शाही खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ ।

सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

‘घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम शुरु गरिसकेका छौं’, प्रहरी उपरीक्षक सिलवालले भने, ‘शंका लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छौं ।’ हत्यामा संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताए ।

शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिंड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको हत्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन् । ‘चार–पाँच तोला सुन र रु ४०–५० हजार उहाँसँग सधैं हुन्थ्यो’, एक स्थानीयवासीले भने, ‘त्यही प्रलोभनका कारण उनको हत्या भएको हुनसक्छ ।’

विद्यालयका कर्मचारी मृत फेला
यता गोरखाको गोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यामिक विद्यालयमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् । सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर फर्किएका सोही ठाउँका ५० वर्षीय श्यामहरि घिमिरेको शव स्थानीय कवाडी सामुदायिक वनमा फेला परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले जानकारी दिए ।

हरेक दिन विद्यालयको काम सकेर साँझ घर फर्कने गरेका घिमिरे हिजो घर नफर्किएपछि परिवारले खोजी गरेको थियो । अध्यक्ष रेग्मीले भने, ‘विद्यालयमा सोधीखोजी गर्दा बेलुकी खाना खाएर घर गएको भन्ने जानकारी पाएपछि घर जाने बाटो हुँदै खोज्दै जाँदा सडकमा चप्पल र उनले बोकेको प्लाष्टिकको झोला देखेपछि प्रहरीलाई खबर गर्‍याैं, प्रहरी आएर जङ्गलतर्फ खोजी गर्दा सडकदेखि करीब १०० मिटर तल मृतावस्थामा शव फेला पर्‍यो ।’

घिमिरेले बोकेको प्लाष्टिकको झोला, झोलामा रहेका टर्चलाइटलगायतका सामान र एउटा चप्पल भने सडकको किनारामा भेटिएको र मृतकको शव भने झाँडीमा फेला परेको हो । घटनास्थलमा पुगेर मृतकको शवको मुचुल्का गरी परीक्षणको तयारी भइरहको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

मृतक घिमिरेको टाउको र घुँडामा गम्भीर चोट भेटिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । ‘हत्या हो, होइन भन्नेबारेमा अहिले नै केही पुष्टि भइसकेको छैन’, उनले भने, ‘घटनामा बारेमा थप अनुसन्धान भएपछि मात्र केही भन्न सकिन्छ ।’ मृतक घिमिरे उक्त विद्यालयमा कार्यालय सहायकको रुपमा १८ वर्षदेखि काम गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७