प्रहरीले निकाल्यो चालीसौं करोडको १४ ‘आइटम’ को टेण्डर

टेण्डरमा गत वर्ष गुणस्तरहीन भन्दै ‘फेल’ गरिएका सामानहरु समेत समावेश


२८ श्रावण २०७६, मंगलवार
Nepal police

काठमाडौं, २८ साउन । नेपाल प्रहरीले २०७६–०७७ आर्थिक वर्षका लागि विभिन्न सामान खरिदको टेण्डर प्रकाशित गरेको छ ।

प्रहरी कर्मचारीहरुका लागि आवश्यक लत्ता कपडा लगायत रुकस्याक ब्याग समेत १४ थरी सामानहरुका लागि २०७६ साउन २६ गते टेण्डर आह्वान गरेको हो । टेण्डरमा सार्वजनिक खरिद ऐनरनियम अन्तर्गत इवाडिङका लागि योग्यता पुगेका सप्लार्यसहरुलाई भाग लिन आह्वान गरिएको छ ।

टेण्डर आह्वान गरेको एक महिना पछि २०७६ भाद्र २४ गते २ बजे टेण्डर खोल्ने समय तोकिएको छ । प्रहरी प्रधान कार्यालयको प्रबन्धले आह्वान गरेको टेण्डरमा कटन सर्ट एक लाख तीस हजार मिटर, कटन पाइन्ट एक लाख साठी हजार मिटर, उलन सर्ट पचार हजार मिटर, उलन पाईन्ट सत्ताइस हजार मिटर, चुस्ता एक लाख उनान्सत्तरी हजार मिटर, डीएमएस बुट चौबीस हजार जोर, उलन स्वीटर पच्चिस हजार थान, पार्क ज्याकेट सोह्र हजार थान, पन्चो चौध हजार आठ सय थान, मस्क्वीटो नेट अठार हजार थान, बेरेट क्याप तीस हजार थान, पीटी सुज अठ्ठाइस हजार जोर, टप बुट एक हजार जोर र रुकस्याक ब्याग पांच हजार थानका लागि आर्थिक वर्षको शुरु महिनामै टेण्डर आह्वान गरिएको छ ।

स्रोतका अनुसार, लगभग चालीस पैंतालीस करोडको टेण्डरमा गत वर्ष फेल भएका आईटमहरु समेत समावेश गरिएका छन् । २०७५–७६ को आर्थिक बर्षमा गरिएको टेण्डर आह्वान पछि ठेक्का पाएका केही ठेकेदारहरुको सामान गुणस्तरहीन र नमुना अनुसारको नभएको भन्दै प्रहरीको प्रबन्ध शाखाले टेण्डर नै रद्द गरेको थियो ।

जसमा रञ्जन कडरियाको कम्पनी यूरो एसियाले सप्लाईृको ठेक्का पाएको चौबीस हजार झुलको ठेक्का रद्द गरिएको थियो । तर यस पटक अठार हजार थान झुलको लागि मात्र टेण्डर गरिएको छ ।
त्यस्तै पहरीका रैथाने सप्लायर्स ठेकेदार राजमान मिश्रको कम्पनीले पाएको छब्बिस हजार पाँच सय मिटर उलन पाईन्टको कपडाको ठेक्का पनि नेपाल प्रहरीको प्रबन्धले गुणस्तरहीन भन्दै रद्द गरेको थियो ।

यस पटक भने सत्ताईस हजार मिटर उलन पाईन्टका लागि टेण्डर आह्वान गरिएको छ ।
आर्थिक बर्ष २०७६–७७ को दोस्रो चौमासिक बजेट अगावै यी टेण्डरहरुको छिनोफाने भैसक्ने छ ।

यो आर्थिक वर्षको छ महिने पूरा भएपछि बर्तमान आईजीपी सर्बेन्द्र खनाल पनि अवकास हुनेछन् । आईजीपीको अबकास पछि प्रबन्धको टिम पनि तत्काल फेरिने परम्परा रहेकाले खरिदको टेण्डर छिटो छिटो आव्हान गरिएको चर्चा प्रहरी प्रधान कार्यालयमा हुने गरेको छ ।

जसले जे भने पनि समयमै टेन्डर आव्हान भएपछि प्रहरी कर्मचारीले यस पटकको जाडो महिनामा उलन पाइन्ट र उलन स्वीटर लगाउन पाउने भएको खबर साँघु साप्ताहिकले छापेको छ । सरकारको नीति पनि खरिद र निर्माण जस्ता शीर्षकको बजेट असार मसान्त भन्दा अघि नै खर्च गरिसक्नु पर्ने रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७