फास्ट ट्रयाक ‘सुस्त’, सेनाका हाकिमको कमाई ‘कुस्त’


२८ श्रावण २०७६, मंगलवार
army

काठमाडौं, २८ साउन । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुतमार्ग आयोजना (फास्ट ट्रयाक) आयोजनाका प्रमुखबाट २०७६ असार १२ गते अवकास भएका योगेन्द्रबहादुर खाँडलाई अहिले भ्रष्टाचारको सम्पति व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको चर्चा सेनाभित्र हुने गरेको छ ।

स्रोतका अनुसार फास्ट ट्रयाक आयोजनामा आर्जित सम्पति उनले व्यवस्थापन गर्न नसकेर हुण्डीमार्फत अमेरिकामा रहेका दाजुलाई पठाएको चर्चा पनि चलेको छ । नेपालगञ्जमा रहेका उनका सालाको नाममा पनि लगानी गरेको चर्चा छ ।

२०७४ बैसाखमा सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई दिएको थियो । आयोजना प्रमुखमा तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँडसँग थर मिलेको मात्र नभई ठूलै रकम बुझाएर योगेन्द्रबहादुर खाँड तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीको सिफारिस विपरीत राजनीतिक दवावमा आयोजना प्रमुख भएका थिए ।

fast track

आयोजना प्रमुख भएपछि जर्नेल खाँडले निर्माणलाई भन्दा कमाउ धन्दालाइ प्रश्रय दिए । फास्ट ट्रयाकको प्रगति मन्द तर, उनको प्रगति रात दुई गुणा रात चौगुणाका दरले हुँदै गएको स्रोतले बताउँछ ।

श्रीमती सरिता शाहदेखि ससुराली खलकका नाममा काठमाडौं उपत्यकामा एक सय रोपनी भन्दा बढी जग्गा जमिन र जायजेथा जोड्न सफल भएको चर्चा उनी अवकास भएपछि शुरु भएको छ । स्रोतका अनुसार ललितपुरको टीकाथली क्षेत्रमा मात्रै श्रीमती सरिता शाहको नाममा बीसौं रोपनी जग्गा जोडेको समेत स्रोतको दावी छ ।

भारतीय कम्पनी इन्फ्रास्टक्चर लेजिङ एण्ड फाइनान्सियल सर्भिस लिमिटेड (आइएलएफएस) लाई दिंदा महँगो पर्ने भनेर सेनालाई जिम्मा दिइएको थियो । तर, हालसम्म डीपीआरको अत्तोपत्तो नभएको र नेपाली सेनाको प्रतिष्ठासँग जोडिएका सेनाका जर्नेल खाँडले गरेको अनियमित कामको रफ्तारले निरन्तरता पाउने हो भने फास्ट ट्रयाकको लागत (आइएलएफएस) को भन्दा बढी पर्न सक्ने अनुमान गर्न थालिएको छ ।

आइएलएफएसले फास्ट ट्रयाक निर्माणका लागि एक खर्ब ११ अर्ब रुपैंयाँको स्टिमेट निकालेको थियो । भारतीय कम्पनीलाई सरकारले ९० अर्ब अनुदान र ऋण दिएर बनाउने र टोल ट्याक्स उसले उठाउने कुराको चर्को विरोध भएपछि सरकारले सेनालाई दिएको थियो । तर, सेनाले जिम्मा लिएको फास्ट ट्रयाक भ्रष्टाचारका कारण भारतीय कम्पनीको भन्दा बढी लागत पर्न जाने चिन्ता प्रकट गर्न थालिएको छ ।

सेनाले प्रमुख सेनानी कर्णेल केशवराज कार्कीलाई ४९ लाख भ्रष्टाचार गरेको आरोपमा कोर्टमार्सल गरी ३ महिना जेल सजाय तोकी जागिरबाट बर्खास्त गरेको छ । तर, फास्ट ट्रयाक आयोजनामा साढे पाँच अर्ब भ्रष्टाचार भएको सम्बन्धमा सेनाको नेतृत्व मौन रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकासप्राप्त जर्नेल, कर्णेलकोहरुको अकूत सम्पती छानविन गर्ने कानूनी व्यवस्था छ । जर्नेल, कर्णेलहरुको सम्पती अख्तियारले गर्नुपर्ने माग पनि सेनाबाटै भइरहेको छ ।

मोटो कमिसन लिएर खाँडले फास्ट ट्रयाकको ठेक्का दिने गरेको आरोप पनि लागेको थियो । एक अर्ब ४० करोडको परामर्शको ठेक्का पनि उनले इआरएमसीसँग मोटो रकम लिएर दिन खोजेका थिए । तर, मिडियामा चर्को विरोध भएपछि उक्त ठेक्काको निर्णय नगरी जर्नेल खाँड विदा भएका थिए ।

खाँड मात्र होइन नेपाली सेनाको इन्जिनियरिङ विभागका कर्णेलदेखि माथिल्लो पदका सबै फास्ट ट्रयाकको भ्रष्टाचारमा मुछिएको स्रोतको दावी छ । छानविन गरेमा कर्णेलदेखि माथिल्लो पदका हरेकसँग स्रोत नखुलेको करोडौं सम्पति भेटिने स्रोतलाई दावी गर्दै साँघु साप्ताहिकले समाचार प्रकाशन गरेको छ । कर्णेल कमलविक्रम शाह, विकास पोखरेल, इन्द्रवीर गुरुङदेखि धर्मेन्द्र झासम्म पनि यहि कोटीमा पर्ने दावी स्रोतको रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७