कलङ्की-चाबहिल सडक विस्तार शुरु, सडक छेउका संरचना खाली गराउन थालियो


२८ श्रावण २०७६, मंगलवार
ring road

काठमाडौं, २८ साउन । चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ ।

सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो । सडकमा रहेका रूख, बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन लागिएको योजनामा कार्यरत इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए ।

उनका अनुसार कतिपय संरचना हटाउनका लागि विभिन्न निकायसँग सहकार्य हुनेछ । उनले भने, ‘ठेक्का गरेर भएका रूख कटाउनेलगायतका काम शुरु गरिएको छ ।’

चक्रपथको चौडाइ सडकको मध्य भागबाट ३१ मिटर रहेको छ । चिनियाँको प्रतिवेदन आएपछि नै सडकको चौडाइ कति कायम हुने भन्ने टुङ्गो लाग्ने इञ्जिनियर शर्माले बताए । उनले भने, ‘अहिले हामीले चक्रपथको मापदण्डका आधारमा सडक खाली गराउन लागेका छौं ।’

चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक सम्पन्न हुनासाथ दोस्रो खण्डको अध्ययन शुरु भएको हो । नेपाल सरकारलाई गत वर्ष नै चीन सरकारले निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरिसकेको छ । अध्ययन गरिरहेको चीन सरकारले नै सो सडकको समेत विस्तारको काम गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७