क्यान्सरसँग लडिरहेकी जनप्रतिनिधि रुपा भन्छिन्, ‘मैले धेरै काम गर्नुछ, मर्न चाहन्न’


२९ श्रावण २०७६, बुधबार
Rupa Khulal

मकवानपुर, २९ साउन । ‘भाइ मलाई कहिले लाने इण्डिया ? छिटो गरन, छिटो नगरे त म मरिहाल्छु नि । मलाई जे गरेर भए पनि बचाइदेउ ।’

चितवनको एउटा अस्पतालको शैंयामा आफ्नो भाइलाई बचाई दिन एक महिला यसरी हारगुहार गर्दैछिन् । पुरुषहरुको झै छोटो कपाल भएकी ती बिरामी महिला एक जनप्रतिनिधि हुन् । मृत्युसँग जुधिरहेकी उनी हेटौंडा उपमहानगरपालिकाकी नगरकार्यपालिका सदस्य रुपा खुलाल हुन् ।
ठूला नेताहरु राज्यको ढुकुटीमा सानो उपचारका लागि समेत विदेश गइरहेका बेला समाजसेवाकै काम गरिरहेकी एक जनप्रतिनिधि भने उपचारका लागि भिख माग्दै अस्पतालको शैंयामा आँशु खसालिरहेकी छन् ।

क्यान्सर पीडित खुलालबारे उनका आफन्त तथा हेटौंडा–१३ का वडाध्यक्ष मनोज वाईबाले भने, ‘आँट, साहस र उत्प्रेरणाकी स्रोत थिइन् रुपा । छिमेकी, टोलवासी र गाउँ शहरकै दाहिने हात नै थिइन् उनी । विद्यालय नजाने बालबालिकालाई विद्यालय पठाउने, अन्यायमा परेका दिदीबहिनीहरुलाई न्यायको ढोकासम्म पुर्‍याउने, दुःखीहरुका घाउमा सधैं मलम पट्टि लगाई लिने गर्थिन् रुपा ।’

rupa lama

हेटौंडा–१३ घर भएकी र लामो समयदेखि राजनीति तथा समाजसेवामा सक्रिय खुलालले आफूलाई बाँच्ने चाहना भएको तर पैसाको अभावले मृत्यु कुरेर बस्नुपरेको भन्दै सहयोगको याचना गरेकी छन् । चिकित्सकहरुले क्यान्सरको थप उपचारका लागि तत्काल भारत वा अन्य सुविधा सम्पन्न अस्पताल नलगे ज्यान नै जान सक्ने बताए पनि उनी पैसाको अभावमा चितवनकै एक अस्पतालमा सामान्य उपचार गरेर बस्न विवश छिन् । स्तन क्यान्सरले पीडित उनले अस्पतालकै शैंयाबाट सहयोगको अपिल गरिरहेकी छिन् ।

‘म बाँच्न चाहन्छु, मेरा दुई छोरीहरुको भविष्यको लागि मात्रै भए पनि मैले बाँच्नु पर्छ । मलाई जीवनमा धेरै काम गर्न मन छ, मलाई बचाउनुहोस्’, क्यान्सरले ग्रस्त खुलाल भकानिँदा त्यहाँ उपस्थित धैरैका आँखा रसाएका थिए ।

क्यान्सर लागेको ढिलो गरी थाहा पाएकाले उनका दुबै स्तन काटिएका छन् । चुनावताका उपचारका लागि अस्पतालमा भर्ना भएका कारण निर्वाचनमा आफंैलाई समेत मत हाल्न नपाए पनि लोकप्रियताका कारण उनले हार ब्यहोर्नु परेन ।

दुबै स्तन काटिएको २ वर्ष भयो । स्तन क्यान्सरले ग्रसित खुलाल स्तन काटिएसँगै पूर्ण उपचारपछि स्वास्थ्यलाभ गरी समाजसेवा र राजनीतिमा फेरि सक्रिय हुन थालेकी थिइन् । केही महिना अघिदेखि उनलाई रिङ्गटा लाग्ने, बान्ता हुनेलगायतको समस्या देखा पर्न थाल्यो । कुनै पनि खानेकुरा पेटमा पर्नै नहुने, बान्ता भइहाल्ने भएपछि उनी ३ महिनाअघि अस्पतालमा भर्ना भइन् । भरतपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरुले कारण पत्ता लगाए । कारण थियो–निको भइसकेको भनिएको स्तन क्यान्सर फैलिएर शरीरका अन्य भागमा पुग्नु ।

‘भारतमा उपचार गराउन शुरुमै २० लाख बुझाउनुपर्ने रहेछ’, रुपाका भाइ रत्नसिंह स्याङ्तानले भने, ‘हामीसँग त्यत्रो पैसा छैन । दिदीले जहिले पनि मलाई जसरी भए पनि बचाई देउ भन्नुहुन्छ, भाञ्जीहरु पनि ममीलाई बचाई दिनुस् भन्नुहन्छ तर पैसा नभए मृत्यु कुर्नुको विकल्प छैन ।’

उनका अनुसार खुलालकी २० वर्षीया जेठी छोरी मकवानपुर टेक्निकल इन्स्टिच्युटमा स्वास्थ्य सहायक पढ्दैछिन् भने १२ वर्षीय कान्छी ७ कक्षामा । खुलालको ज्यान बचाउन थुपै्र सङ्घसंस्थाहरुले आर्थिक सहयोग दिन शुरु पनि गरिसकेका छन् । हेटौंडा उपमहानगरपालिकाले रु ५ लाख सहयोग दिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७