एजेण्डाविहीन प्रतिपक्ष


२९ श्रावण २०७६, बुधबार
rajendra aryal 2

-राजेन्द्र अर्याल 
पटक–पटक प्रधानमन्त्री भइसकेका र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकसेवा आयोगलाई भनसुनको अखडा भएको बताएपछि यो बिषय बहस र चर्चामा छ । २०४८ सालदेखि अधिकांश समय सत्तामा रहेको नेपाली कांग्रेस पछिल्ला दिनमा लोकसेवा आयोगप्रति अनुदार मात्र होइन आयोगलाई प्रहारको निशाना बनाइरहेको छ ।

केही समयअघि मात्र स्थानीय तहका लागि कर्मचारीको विज्ञापन भयो । त्यसपछि पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता देउवाको यस्तो धारणा आएको छ । यसले धेरै प्रश्न उब्जाएको छ । लामो समय सत्तामा रहँदा आयोगलाई कांग्रेसले आफ्नो अनुकूल परिचालन गरेको रहेछ भन्ने आशंका पनि उठेको छ भने अर्कातिर सत्ता बाहिर रहेका बेला आफूले भनेको नमानेका कारण त्यसरी प्रहार भईरहेको छ कि ? यो बहसको विषय बनेको छ ।

लोकसेवा आयोग अहिलेसम्म सबैभन्दा जनविश्वास गरिने संस्था रहँदै आएको छ । संबैधानिक अङ्गका रुपमा रहेको यो आयोग पूर्व प्रधानमन्त्री देउवाले बाहेक अहिलेसम्म शायदै प्रश्न उठाएका होलान् । लोकसेवा आयोगलाई विवादित बनाएर त्यसप्रतिको जनविश्वास गिराउँदा कसलाई फाइदा पुग्छ ? हेक्का राख्नुपर्ने विषय हो त्यो ।

त्यससँगै लामो समय सत्ताको बागडोर सम्हालेका देउवाले सत्तामा रहँदा आयोगलाई मातहतकै कुनै सरकारी अड्डा जस्तै बनाएर विगतमा आर्थिक लाभ र अनुचित फाइदा उठाउँदै आफन्त र आफ्ना कार्यकर्तालाई उत्तीर्ण गराएका रहेछन् भन्ने संकेत मिल्छ । होइन भने लोकसेवा आयोगविरुद्ध साँच्चै यसरी प्रहार हुनु एउटा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको अभ्यासमा यो दुर्भाग्यपूर्ण विषय हो । यसमा सबै गम्भिर बन्न जरुरी छ ।

यसको अर्को पक्ष पनि छ । त्यो भनेको प्रतिपक्षी दल नेपाली कांग्रेससँग अहिले न त सरकारमाथि प्रहार गर्ने हतियाररुपी एजेण्डा छन् न त जनताका बीचमा जाने एजेण्डा नै । त्यसैले विवादित कुरा बोलेर चर्चामा आईरहने कोशिस गरिरहेको हुनसक्छ ।

प्राकृतिक विपती आइरहँदा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पाँच दर्जन भन्दा बढी नेपालीले अनाहकमा ज्यान गुमाउँदाको पीडा भन्दा संसदमा सरकारको विरोध गर्न नपाएकोमा छट्पटाहट देखिन्थ्यो । प्राकृतिक विपतीमा उद्धार गर्नेतर्फ भन्दा नेपाली कांग्रेस विरोध गर्न नपाएकोमा छटपटाएको सहजै देखिन्थ्यो ।

प्राकृतिक विपतीमा उद्धार गर्नेतर्फ भन्दा नेपाली कांग्रेसले सरकारको कामको अनुगमन गर्न कार्यकर्तालाई आदेश फर्मान ग¥यो । गएको सोमबार प्रतिनिधिसभाको बैठक स्थगन गरेर सभामुख कृष्णबहादुर महराले जनताका प्रतिनिधिलाई उद्धार र राहतमा खट्न आह्वान गरिरहँदा सभापति देउवा भने समामुख महराप्रति औंला ठड्याउँदै हुनुहुन्थ्यो । यसले के संकेत गर्छ भने प्रतिपक्षी दल कांग्रेस जनताको सुख–दुःख भन्दा काठमाडौंको सिंहदरबार र बानेश्वर वरिपरी रमाउन चाहन्छ ।

त्यसो त संसदीय अभ्यासको मसिहा ठान्ने नेपाली कांग्रेसले केही दिनअघि संसदमा प्रधानमन्त्री केपी ओलीलाई संसदमा बोल्न नदिई अवरोध सिर्जना गरेर संसदीय अभ्यासको खिल्ली उडाएको घटनाप्रति कुनै पश्चाताप छैन सभापति देउवालाई । त्यसो त एजेण्डाविहीन बनेको नेपाली कांग्रेस संसदीय निर्वाचन सकिएको डेढ वर्षभन्दा बढी बितिसक्दा पनि पराजयको पीडामै छ । त्यसैले कांग्रेस अहिले पनि रिसाएको विरालोले खाँबो चिथोर्न पुगे जस्तो गर्छ ।

नेपाली कांग्रेस यतिबेला इतिहासको निम्छरो बाटोमा छ । झण्डै सात दशकसम्म प्रजातन्त्रका लागि लडेको र बहुदलपछि अर्थात् २०४६ सालपछि अधिकतम समय शासनसत्तामा बसेर ब्रम्हलुट गरेको नेपाली कांग्रेस इतिहासमै कमजोर प्रतिपक्षका रुपमा रहेको छ । एक हिसाबले नेपाली कांग्रेसका लागि यो संगीन मोड हो । जहाँ कांग्रेस अहिले उभिएको छ । एकातिर जनमत नराम्रोसँग खस्कनु र अर्कातर्फ आन्तरिक जीवन समेत भद्रगोल अवस्थामा पुगेको छ ।

पार्टीलाई संघीय संरचनामा ढाल्न नसक्नु, प्रादेशिक संरचना बनाउन नसक्नु, पार्टीको केन्द्रीय विभाग कार्यकाल पूरा गर्ने अवधि हुनलाग्दा पनि गठन गर्न नसक्नु र पार्टीलाई विधान अनुसार चलायमान र गतिशील बनाउन नसकिरहेको आरोप खेपिरहेका सभापति देउवाले संसदीय अभ्यासको पाठ संसदमा सिकाउनुको सट्टा पार्टीभित्रैबाट शुरुवात गर्नसके धेरै राम्रो हुने देखिन्छ । आन्तरिक रुपमा रुमल्लिएको कांग्रेस पहिला पार्टीभित्रै लोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै अभ्यास देखाउन सक्नु पर्दछ । सभापति देउवाको आक्रोश र प्रवृत्ति हेर्दा कांग्रेसले गरेको राजनीति केवल सत्ता प्राप्तिका लागि मात्र हो भन्ने प्रष्टसँग देखिन्छ ।

यदि नेपाली कांग्रेस त्यो मात्र होइन भने अर्थात् केवल सत्ता प्राप्तिका लागि मात्र होइन भने यो तथ्यलाई व्यवहारमा परिणत गर्न जरुरी देखिएको छ । भर्खर आएको बाढी पहिरोबाट आहत बनेका जनतालाई राहत र पुनस्र्थापनाका काममा जुट्नु प्रमुख प्रतिपक्षको दलको अभिभारा पनि होइन र ? कि प्रमुख प्रतिपक्षी दलले केवल विरोध गरिरहने, खोंचे थापिरहने मात्र हो ? यो कुरालाई गम्भीर ढङ्गले विश्लेषण गर्न जरुरी छ ।

सरकारको नेतृत्वमा रहँदा भारतबाट आउने फलफूल र तरकारीको विषादी परीक्षण गर्नुपर्छ भन्ने कुनै हेक्का नराख्ने कांग्रेस अहिले तीन हात उफ्रँदा त्यसको लाज मान्नु पर्छ कि पर्दैन ? राजदूत नियुक्ति र प्रहरी प्रमुख नियुक्त गर्दा सरकारको नेतृत्वमा रहँदा सभापति देउवाकै कारण पार्टीभित्रैबाट देखिएको विरोधको तुवाँलो सबैले देखेकै कुरा हो ।

आफ्नो इन्ट्रेष्ट पूरा नगरेकोमा सर्वोच्च अदालतका प्रधानन्यायधीशमाथि महाअभियोग लगाउने नेपाली कांग्रेस अहिले ओली सरकारलाई अधिनायकवादी देख्छ । चुनौतिपूर्ण र संवेदनशील घडीमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतालाई संरक्षण गर्दै संघीय गणतान्त्रिक परिधिभित्र रहेर विश्वसमुदाय सद्भाव, सहयोग र समर्थन यो सरकारले जुटाउँदा कांग्रेसले सरकारलाई अधिनायकवाद ठान्छ ।

छिमेकी देशसँग सन्तुलित, पारिस्पारिक र स्वाधीन सम्बन्ध विकास गर्दा प्रमुख प्रतिपक्ष कांग्रेसको टाउको किन दुख्छ ? अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ पार्न खोजेकोमा सरकारसँग कांग्रेस किन क्रुद्ध हुन्छ ? मुलुकमा स्थायित्व भएकोमा किन नाराज छ कांग्रेस ? के यी कुराको जवाफ दिनु पर्दैन ?

हिजो आफू सत्तामा रहँदा गरेका बदमासी, जनता र देशको हितविपरीत गरेका कामको कांग्रेसले पश्चाताप गर्नु पर्दैन ? जसले कोशी सम्झौता गरेर नेपाली जनता र राष्ट्रविरोधी काम ग¥यो त्यसबाट दण्डित हुुनुपर्ने कि नपर्ने ? कोशी सम्झौताका कारण आज त्यहाँका जनताको अवस्था के छ ? हेर्ने कि नहेर्ने ? यी र यस्ता विषय अहम् र गम्भीर छन् ।

पहिला अरुमाथि औंला ठड्याउँदा आफू ठिक ठाउँमा उभिएको हुनुपर्दछ । हो यो नियम वा कुरा कांग्रेस वा कांग्रेस सभापति देउवामा पनि लागू हुन्छ । ओली सरकारले ठूला–ठूला भ्रष्टाचारको छानविन शुरु गर्छ । जरो खोज्दै जाँदा बुढानिलकण्ठ पुग्छ । चाहे त्यो बालुवाटार ललितपुर निवास जग्गा प्रकरण होस् वा वाइडबडी जहाज खरिद प्रकरण होस् वा मेलम्ची प्रकरण होस् । के नेपाली कांग्रेस वा पार्टी सभापतिले यी विषयमा जो संलग्न भए पनि कार्वाही गर भन्ने आँट राख्छन् ? त्यसैले अहिले नेपाली कांग्रेसको छटपटी भनेको सत्ता बाहिर बस्नुपरेको छटपटी मात्रै हो ।

होइन भने कांग्रेसले विगतमा सरकारमा रहँदा गरेका सार्वजनिक संस्थानलाई बन्द गरी कौडीको मोलमा व्यापारीलाई बेचेको, अर्थतन्त्र जर्जर बनाएको, भ्रष्टाचार मौलाएको जस्ता मूलभूत विषयमा गल्ती र भूललाई सच्चाएर अघि बढ्न जरुरी छ । त्यसका लागि सभापति देउवाले सबै भन्दा पहिला आफ्नो स्वार्थ र आवश्यकता भन्दा मुलुकका सामु देखिएका चुनौतिहरुलाई पार लगाउँदै देश विकासका लागि प्रतिपक्षबाट रचनात्मक भूमिका बढाउनु पर्छ ।

सरकारका सबै कामको विरोध मात्र गरेर संसदीय अभ्यासमा प्रतिपक्ष अब्बल हुन सक्दैन । पछिल्ला दिनहरुमा हलो अड्काएर गोरु चुटे जस्तो गरी कांग्रेसले प्रदर्शित गरेको व्यवहार र तौरतरिका गैरसंसदीय अभ्यासको नमूनाको रुपमा लिन सकिन्छ । अर्थात् देश र जनता प्राकृतिक विपत्तीमा छटपटाइरहेका बेला कांग्रेस अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा रमिता देखाइरहेको हुन्छ ।

संविधानले जहाँ–जहाँ उपस्थिति खोजेको छ त्यहाँ–त्यहाँ प्रमुख प्रतिपक्ष जान सकेको छैन । कांग्रेस गृहकलहको चक्रब्यूहमा फसेको छ । कुनै बेला कोइराला भर्सेज बाँकी कांग्रेस देखिने कांग्रेसमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह किनारा लागेपछि गिरिजाप्रसाद कोइरालाको एकछत्र भयो । गिरिजाप्रसाद कोइरालापछि सुशील कोइरालाले विरासत धान्ने प्रयत्न गरे ।

सुशीलपछि पार्टी विभाजन गरेर फेरि फर्किएका शेरबहादुर देउवा सभापति बन्न सफल भए, त्यो पनि कोइरालाको विरासत धान्ने छिन्नभिन्न भएका कारणले । देउवाका लागि पार्टी नेतृत्व जटिल बन्दै गएको छ । देउवा विरोधी एकठाउँमा हुँदा देउवामाथि ठूलो चुनौती भए पनि देउवा विरोधी एकठाउँमा बनाउने नेतृत्वको अभाव छ । त्यसैको फाइदा उठाइरहेका छन् उनले । उनी न त यो नेतृत्व धान्ने स्थितिमा छन् न त छाड्ने । एक हिसाबले ओली सरकारलाई यो सुखद अवस्था नै हो ।

जे होस्, पछिल्ला दिनमा प्रमुख प्रतिपक्ष दल कांग्रेले देखाएको अभ्यासले संसदीय मूल्य मान्यता र मर्यादाको सीमा नाघेको प्रतित हुन्छ । संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्नबाट गरिएको अवरोध एउटा उदाहरणका रुपमा लिन सकिन्छ । जसले संसदीय मर्यादामा प्रश्न उठाएको छ । नेपालको संसदीय अभ्यासमा प्रधानमन्त्रीले समसामयिक विषयमा बोल्न खोज्दा वेल घेरिएको सम्भवतः यो पहिलो घटना हो ।

जसलाई संसदीय अभ्यासका रुपमा लिंदै कांग्रेसले गलत अभ्यासको थालनी गर्‍यो । दोस्रो प्राकृतिक विपदपछि पनि यस्तै गर्न खोजेको थियो तर, सभामुखको सचेतनाका कारण रोकिन पुग्यो ।
जे होस् अहिलेको पहिलो कार्यभार वा कार्यसूची भनेको बाढी पहिरोबाट पीडितहरुको उद्धार र पुनस्र्थापना नै हो । चाहे सरकारको होस् वा प्रतिपक्षको । जुन पीडितलाई दुईछाक खाना औषधि उपचार र छानो चाहिएको छ ।

यस्तो बेलामा पनि विभिन्न बहानामा बखेडा झिक्नु कांग्रेसको गैरजिम्मेवारपन त हुँदै हो, संवेदनहीनता पनि हो । जनताले यसको उपसंहार निकाल्न जरुरी छ । कांग्रेसको यो गैरजिम्मेवारीपन सत्ता बाहिर रहँदाको छटपटी मात्र हो । किनकी यसअघि सत्ताको चास्नीमा डुबेको कांग्रेस निरन्तर देशको दोहनमा लिप्त थियो । जनजीविकाका सवालमा भन्दा अन्य निहुँ झिकेर कहिले गिरिजाप्रसाद र सुशील कोइराला फाउण्डेसनको त्यान्द्रो समाएर संसद अवरुद्ध गर्न त कांग्रेस कहिले प्रधानमन्त्रीलाई बोल्नबाट अवरोध गर्छ ।

यसबाट कांग्रेससँग कुनै एजेण्डा छैन भन्ने प्रष्ट हुन्छ । हुन त सरकारले पनि गरेका राम्रा कामको सराहना गर्दै अझै राम्रा काम गर्ने अवसर वातावरणको सिर्जना गरिरहेको छैन । सरकारको पारा पनि यस्तो छ भने प्रतिपक्ष कांग्रेसको पारा अल्लारे, आलोकाँचो ठिटाको जस्तै छ, घोचपेचमै रमाइरहेको छ ।

प्रतिपक्ष कांग्रेस कहिले रिसाएको विरालो जस्तै देखिन्छ त कहिले कुहिरोभित्र हराएको दिशाहीन काग जस्तै त कहिले दूधभातले अघाएको विरालो जस्तै । यसर्थ कांग्रेसले देश र जनताका निम्ति राजनीति गरिरहेको छ भन्नु भ्रम मात्रै हो । सरकारलाई खबरदारी गर्ने जिम्मेदारी बोकेको कांग्रेस प्रतिशोधको राजनीति गरिरहेको उसको व्यवहारले देखाउँछ । अब कांग्रेसले समृद्ध नेपाल बनाउन सकारात्मक ढङ्गले भूमिका खेल्नुको विकल्प छैन ।

त्यसो त जबजब पार्टीभित्र आफूलाई असहजता सिर्जना हुन्छ, सभापति देउवाले पार्टीभित्रको विवादको मुस्लो हटाउन फुत्त संसदतिर फयाँकेर आफूलाई क्षणिक समाधान नल्याए पनि एकछिन ध्यान अन्यत्र मोड्न सफल हुन्छन् । एक हिसाबले यो पनि नेपाली कांग्रेसभित्रको रमिता नै हो । हुन त भीरबाट लडेको गाडी जस्तै बनेको कांग्रेस बिग्रिएका अवयव र पार्टपुर्जा जोडजाड गरेर गुड्ने हालतमा आउन निकै कष्ट गर्नुपर्छ ।

आफू सरकारमा रहँदा प्रतिपक्षलाई नङ्ग्याउँदै देशको ढुकुटी सर्वनाश पार्ने, देशलाई थिलोथिलो पार्ने, जनतालाई आहात पार्ने र देशलाई भ्रष्टाचारको दलदलमा फसाउने कांग्रेस अब शिला खोज्नुपर्ने अवस्थामा नपुग्ला भन्न सकिन्न्न । यसका लागि यो सरकारले अवका दिनमा हिजोका कमी कमजोरी कहाँ कहाँ भए, कहाँ कहाँ चुक भयो भनेर समीक्षा गर्दै एक मन एकताका साथ नयाँ ढङ्गले अघि बढ्नु आवश्यक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७