गभर्नरलाई भरमार गाली : ‘तपाईं चूप लाग्नुस्…!’


२९ श्रावण २०७६, बुधबार
dr khatiwada nepal

काठमाडौं, २९ साउन । चोर औंला तेस्र्याएर अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई सबैका सामु चर्को स्वरले हप्काएपछि बैठकमा सन्नाटा छायो । घटना एक हप्ताअघि, अर्थ मन्त्रालयस्थित बैठक कक्षको हो ।

भनिन्छ नि, ‘मन नपरेपछि मायाले छुँदा दुख्छ, मन परेपछि चिमोट्दा पनि काउकुति लाग्छ !’ त्यस दिन भएको यस्तै हो । मन्त्री रिसाउनु पर्ने विशेष कारण थिएन । तर, रिसाएको मात्र हैन, यसरी कड्किए कि, उच्च पदस्थ कर्मचारीहरु हेराहेर गर्न थाले ।

यो घटना मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक चलिरहँदाको हो । हरेक चार–चार महिनामा यस्तो समितिको बैठक बस्छ । र, अर्को बैठक वार्षिक रुपमा हुन्छ, जसलाई ‘एम्ड्याक’ पनि भनिन्छ । अर्थ मन्त्रालयका सबै विभागीय प्रमुखसहित भन्सार, आन्तरिक राजश्व विभाग, राजश्व तालिम केन्द्रका प्रमुख, धितोपत्र बोर्ड, राष्ट्र बैंक, वीमा समिति, कृषि विकास बैंक, बाणिज्य बैंक, कर्जा सुरक्षा निगम जस्ता निकायका प्रमुख त्यहाँ थिए । बैठकमा सबैले विचार राखे ।

राजश्व सचिव लालशंकर घिमिरे र अर्थसचिव राजन खनालपछि गभर्नरको पालो आयो । तर, जब उनी बोल्न थाले, मन्त्रीको मुखाकृति फेरियो । गभर्नर बोल्दै थिए, तीन–चार मिनेटमै मन्त्रीले हातले इशारा गरेर छोट्याउन भने । गभर्नर छोट्याउने गरी नै बोल्दै थिए । तर, मन्त्रीलाई चित्त बुझेन ।

अनि, बोल्दा–बोल्दै हप्काउन थाले, ‘तपाईं चूप लाग्नुस् त…बढ्ता बोल्ने ?’ मन्त्रीको भनाइ थियो, ‘मन्त्रालय समस्या समाधान समितिको बैठकमा कस्ता कुरा बोल्न हुन्छ, कस्ता कुरा बोल्नु हुँदैन, मापदण्ड बनाउनु पर्ने भयो । त्यसमाथि राष्ट्र बैंकको गभर्नरले अनुशासन पालना गरेको देखिएन । यो पत्रकार सम्मेलन होइन । जानकारी दिने ठाउँ पनि होइन । आफ्नो स्तुती गाउन जरुरत छैन ।’
तर, मन्त्रीले गाली गरे जस्तो गभर्नरले बोलेका थिएनन् ।

उनले भनेका थिए, ‘अहिले सात प्रतिशतका दरले आर्थिक विकास भएको छ । यो अझै बढ्नेवाला छ । स्थानीय तहमा बैंक पुगेको छ । मानिसहरु आर्थिक क्रियाकलापमा संलग्न हुन थालेका छन् ।’ शायद, मन्त्रीलाई लाग्यो– गभर्नरले भनेका सबै काम उनी आफैले गरे भन्न खोजेका हुन् । हिजो–अस्तिदेखि हैन, बहाल भएकै दिनदेखि मन्त्रीका कारण गभर्नर पनि कस्तो समस्यामा छन् भने, कुनै बैठकमा गएन भने किन आएन भनेर स्पष्टिकरण सोध्ने, जाँदा पनि यसरी नै सबैका सामु हप्काउने !

डा. चिरञ्जीवी नेपाललाई हप्काउँदा हप्काउँदै आफैं राष्ट्र बैंकको गभर्नर रहिसकेका मन्त्रीले आफ्ना कुरा पनि राखे । आधा समय चाहिँ हप्काउनमै खर्च गरे । उनले भने, ‘नियामक संस्थाका प्रमुखलाई कार्यसम्पादनमा आधारित करार सम्झौता (प्रधानमन्त्रीले जस्तो) गर्ने व्यवस्था मिलाउनुस् । अब भाषण गरेर, ठगेर खान पाइँदैन । कामको आउटपुट चाहियो । पत्रकार सम्मेलनमा जस्तो मनपरी बोल्ने होइन । तयारीसहित बोल्नुस् ।’

अन्तिममा मन्त्री निक्कै हतारिए जस्तो, गभर्नरतिर हेर्दै नहेरी जुरुक्क उठेर हिंडे । हाकिमहरुलाई लाग्यो मन्त्रीलाई कतै जानु छ, त्यसैले हतारिए । तर, त्यहाँबाट त्यसरी निस्किएका उनी कतै गएनन्, अफिसभित्रै दुई घण्टा बसे । गभर्नर चाहिं मन्त्री बोलुञ्जेल, उनले गाली गरुञ्जेल घोसे मुन्टो लगाएर सुनिरहे । विभिन्न निकायका प्रमुखहरु चर्चा गर्दै थिए, ‘गभर्नरले नबोलेर, गाली सुनेर हाइट बढाए । मन्त्रीले गाली गरेर आफ्नो उचाई घटाए !’

उता, अहिलेका राजश्व सचिव लालशंकर घिमिरेले भदौ १० गते अवकास पाउने भएपछि अहिलेका सहसचिव र सचिव बढुवाको अघिल्लो वरियतामा रहेका तोयम राय राजश्व सचिवका रुपमा पदस्थापित हुने सम्भावना रहेको खबर जनआस्थाले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७