पर्यटकको रोजाइमा खोटाङको भुलभुले दूधकुण्ड


३० श्रावण २०७६, बिहीबार
bhulbhule dudkunda 2

खोटाङ, ३० साउन । बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ ।

मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरहेको मूर्ति छ । मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा अलिक ठूलो माछा खेलिरहेको हुन्छ । माछा बस्ने कुर (बस्ने ठाउँ) छैन । बढेर ठूलोसमेत नहुने माछा कहिले उत्पादन भएको हो पत्तो छैन ।

रुखको फेदमा अनौठो किसिमले जमीनमुनिबाट निस्कने शुद्ध पानीको मुहानसँगै सानो प्राकृतिक पोखरी जोडिएको छ । प्राकृतिक पोखरीका बीचमा किराँत समुदायको पहिलो राजा यलम्बरको पूर्णकदको शालिक राखिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको दृष्य हो यो । यिनै दृष्य हेर्न र दर्शन गर्न अहिले भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

विशेषगरी किराँत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र रहेको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेपछि पछिल्लो समय स्तरोन्नतिको काम पनि धमाधम भइरहेको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने नेर्पामा अवस्थित भुलभुले दूधकुण्डको प्रवद्र्धन गर्न नगरपालिकाको रु ४१ लाख लगानीमा पुरानो संरचनालाई संरक्षण गर्दै स्तरोन्नति गरिएको स्थानीयवासी एवं निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताए ।

सचिव राईका अनुसार प्रवेशद्वार, रेलिङसहितको सिंढी, सात धारा, गणेशको मूर्तिसहितको राउण्ड पोखरी, कम्पाउण्ड, छानासहितको बस्ने फलामे बेञ्च, बगैँचा, रातको समयमा आउने पर्यटकका लागि बत्ती, फोहर फाल्ने टोकरी, जुत्ता चप्पल राख्ने ¥याक, तस्बीरसहितको सूचना पार्टीलगायतका संरचना निर्माण गरिएको छ ।

bhulbhule dudkunda 1
भुलभुले दूधकुण्ड प्रवेशद्धार ।

बाह्रै महीना उत्रै पानी हुने उम्रने भुलभुले दूधकुण्डमा जलशिकारी र सातकन्यादेवीको पूजाअर्चना गरिन्छ । जमीनमुनिबाट भुलभुले गरेर उम्रने भुलभुले दूधकुण्डको पानीले नुहाएमा तथा स्नान गरेका रोगव्याधी नष्ट हुने जनविश्वास रहिआएको छ । पछिल्लो समय सबैको गन्तव्यस्थल बन्दै गएको भुलभुले दूधकुण्डमा आउने भक्तजनले पूजापाठसँगै परेवा जोडी उडाउने गरेका छन् । दिक्तेल बजारबाट यातायातका सवारी साधन प्रयोग गरेर जाँदा करीब आधाघण्टामा पुगिने भुलभुले दूधकुण्डमा प्रेमी/प्रेमिकाले आपसमा गरेको प्रेमले पूर्णता पाओस् भन्ने कामनासमेत गर्ने गर्छन् ।

भुलभुले दूधकुण्डमा खोटाङका सबै स्थानीय तहसँगै छिमेकी जिल्ला भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, सिन्धुली तथा भारतका समेत दर्शनार्थी आउने गरेका छन् । कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग फराकिलो हुनुका साथै बाह्रै महीना यातायातका साधन सञ्चालन भएपछि दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको वडाध्यक्ष माधव राईले बताए ।

भुलभुले दूधकुण्डबाट करिब एक किलोमिटर उकालो पैदल चढेपछि एकनासले झररर १ गरिरहेको आवाज सहित मनोरम दृष्य देखिन्छ ‘रुवालुङ’ झरनाको । जहिले सङ्लो र सेतो पानी देखिने झरनामा अहिले दैनिक १५० बढी आन्तरिक तथा वाह्य पर्यटक अवलोकन र सेल्फी खिच्ने आउने गरेको स्थानीयवासीले बताएका छन् ।

ठूला पहाड र जङ्गलको बीचमा रहेको प्राकृतिक गुफामा अहिले पनि वन झाँक्रीको पूजाआजा गर्ने चलन रहिआएको छ । गुफामा गएर वन झाँक्रीको पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करीब दश किलोमिटर उत्तरमा पर्ने भुलभुले दूधकुण्डमा सवारी साधन पार्किङ गरेर झरनासम्म पुग्न पैदल यात्रा गर्नुपर्छ ।
रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७