कतारमा पतिको मृत्युपछि गर्भवती पत्नीले गरिन् आत्महत्या, लेखिन्, ‘हाम्रो लाश सँगै राखिदिनु’


३० श्रावण २०७६, बिहीबार
lalit and tika pun

इटहरी, ३० साउन । घर परिवारको सुन्दर भविष्यका लागि धन कमाउन विदेश गएका श्रीमान उतै निधन भएको खबर कुनै पनि श्रीमतीलाई सहन कठिन हुन्छ ।

अझ पेटमा हुर्किदै गरेको सन्तानको बाबु अब संसारमा नरहनेको सुन्दा कति पीडा हुन्छ ? यो शब्दमा वर्णन गर्न सकिंदैन । यहि पीडालाई सहन गर्न नसक्दा एक महिलाले पनि आत्महत्या गरी संसारबाट विदा लिएकी छन् ।

रोजगारीका लागि कतारमा रहेका पतिको पौडी खेल्ने क्रममा समुद्रको छालले बगाएर ज्यान गएको खबर आएपछि ७ महिनाकी गर्भवती पत्नीले पनि आत्महत्या गरेकी हुन् ।

गत आइतबार कतारमा इदको बिदा थियो । धनकुटाको साँगुरीगढी–३ का ३३ वर्षीय ललितबहादुर लिम्बू बिदाको समयमा रमाइलो गर्दै अलखेर समुद्र किनारमा पौडी खेल्न गएका थिए । उनको त्यहाँ रमाइलो गर्दै पौडी खेल्ने क्रममा छालले बगाएर मृत्यु भएको धनकुटा सेवा समाज कतारका महासचिव रविन मगरले जानकारी गराएका छन् । १३ जना साथीसँगै पौडी खेल्ने क्रममा तीन जनालाई छालले बगाएको थियो । दुई जना सकुशल बाहिर आउन सफल भएका थिए ।

घटनाको एक घण्टापछि प्रहरीले उद्धार गरे पनि अस्पताल लैजाँदा लिम्बूको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए । साथमा रहेका साथीहरूलाई प्रहरीले सोधपुछ गरेर राति ८ बजे छाडेको समाजले जारी गरेको विज्ञप्तिमा छ ।

मृतक लिम्बू समाजका निवर्तमान अध्यक्ष थिए । उक्त घटना फोनबाट जानकारी पाएपछि मोरङको सुन्दरहरैचा–५ सिद्धार्थ टोल बस्दै आएकी पत्नी ३१ वर्षीया टीकाकुमारी थापा लिम्बूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सात महिनाको गर्भवती उनले सोमबार साँझ ६ बजे बाथरुममा झुण्डिएर आत्महत्या गरेकी हुन् । पतिको मृत्यु भएको खबरपछि विक्षिप्त बनेकी उनले नुहाउन भनेर बाथरुम पसेर आत्महत्या गरेको ससुरा हर्कराज लिम्बूले बताएका छन् ।

बाथरुममा पसेर टीकामायाले पोखरामा रहेका भाइलाई मोबाइलमा आफूले आत्महत्त्या गर्ने म्यासेज पठाएकी थिइन् । भाइले तत्काल प्रहरी र आफन्तलाई खबर गरेका थिए । बाथरुमको ढोका फुटाएर हेर्दा उनको मृत्यु भइसकेको पाइएको हर्कराजले बताएका छन् ।

११ वर्षअगाडि कामदारकै रुपमा टीका कतारमा थिइन् । चितवन घर भएकी उनी उमेरमा ललितभन्दा ६ वर्ष जेठी थिइन् । त्यो बेलासम्म अविवाहित रहेकी टीका र ललितको मन कतारमै मिल्यो । मायाको अगाडि उमेर बाधा बनेन । ६ वर्ष जेठी प्रेमिकासँग विवाह गर्न राजी भए ललित । दुई वर्षअघि मात्रै टीकालाई उनले घर भित्र्याएका थिए ।

तर, ललितसँग उनको औपचारिक विवाह भने भएको थिएन । दशैंमा ललित घर आउने र विवाह गर्ने योजनामा थिए दुवै । कतारको कमाइले धरान–१५ मा घर बनाउँदै थिए । ललितको जीवनको ठूलो सपना थियो घर ।

टीकाले सुसाइड नोटमा देवर विपीनलाई उद्धृत गर्दै लेखेकी छिन्, ‘धरानको घर ललितको ठूलो सपना हो । बाबा–ममीलाई राखिदिनु ।’ उनले आफूहरुको लाशलाई सँगै राखि दिनु भनेर सुसाइट नोट समेत लेखेकी छिन् ।

धरानमा घर ठडिइसकेको छ । अब अन्तिम चरणको मात्रै काम बाँकी छ । त्यही नयाँ घरमा विवाह गर्ने योजनामा थियो परिवार । तर, नयाँ दुलहा–दुलहीलाई स्वागत गर्नुको साटो दुवैलाई अन्त्येष्टि गर्नुपर्ने बाध्यता आइलाग्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७