पत्रकार पुडासैनी आत्महत्या प्रकरण : अस्मिता ‘रुकु’ कार्की पक्राउ


३० श्रावण २०७६, बिहीबार
salikram

काठमाडौं, ३० साउन । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको घटनामा तानिएकी ओखलढुङ्गाकी युवती अस्मिता ‘रुकु’ कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

नर्स समेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो । अस्मितालाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको छ । कार्की पक्राउ परेसँगै प्रहरीले पत्रकार रवि लामिछाने र युवराज कँडेलमाथि पनि निगरानी बढाएको छ ।

पक्राउअघि अस्मितालाई रवि लामिछानेकै समूहका सदस्यले नियन्त्रणमा राख्दै स्रोतले जानकारी दिएको छ । तर प्रहरीको टोलीले उनलाई पक्राउ गरेर चितवन लगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन् ।

‘हामीले पुडासैनी आत्महत्याको घटनाको अनुसन्धान अघि बढाइसकेका छौं, नाम लिइएका तीन जना पक्राउ पर्छन्’ मल्लले भने । पत्रकार पुडासैनीले चितवनमा झुण्डिएर आत्महत्या गरेका थिए । मल्ल भन्छन्, ‘पुडासैनीको मोबाइल र त्यसमा रहेका अडियो भिडियो ल्याव परीक्षणपछि बिहीबारै चितवन पुगेपछि अनुसन्धानले अझै तीव्रता पाउँछ । हामी यसमा कुनै कमजोरी नगरी अनुसन्धान गर्छौँ । कसैको दबाब या प्रभाव परेर प्रहरीले कार्वाही रोक्दैन ।’

आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका छन् । पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले शुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाउँदै आएको थियो ।

पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो बुधबार नै सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा कार्की पक्राउ परेकी हुन् । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला बिहीबारै ल्याव रिपोर्ट चितवन पुग्दै छ।

पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन् । उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन् । पत्रकार पुडासैनीको आत्महत्याको विषयलाई लिएर पत्रकार रवि लामिछानेले भने पुडासैनी भ्रममा परेर आत्महत्याको बाटो रोजेको टिप्पणी दिंदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७