काठमाडौं उपत्यकामा बैङ्किङ कसुरमा दुई हजार ५६६ जनाविरुद्द मुद्दा

‘पहिला सहमतिमा कारोबार, पछि पैसा नउठेपछि प्रहरीकोमा मुद्दा’


३१ श्रावण २०७६, शुक्रबार
bank

काठमाडौं, ३१ साउन । काठमाडौं उपत्यकामा बैङ्किङ कसुरका घटनामा ह्वातै वृद्धि भएको छ ।
महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ ।

जसमा काठमाडौंमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो । बैङ्किङ कसुरमा काठमाडौंमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ । उपत्यकामा आव २०७४–०७५ मा ४८७ र आव २०७३–०७४ मा १० जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको थियो ।

यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैङ्किङ कसुरमा मुद्दा चल्दै आएको छ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताएका छन् । ‘पहिला सहमतिमा कारोबार गर्‍यो, पछि पैसा नउठेपछि प्रहरीकोमा मुद्दा हाल्ने प्रचलन बढेको छ’, उनी भन्छन् ।

खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैङ्किङ कसुरमा मुद्दा चलाइने गरेको छ । केही समय अगाडि देवानी हक अन्तर्गत बैङ्किङ कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैङ्किङ कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो ।

मुलुकभर आर्थिक वर्ष २०७५–०७६ मा दुई हजार ६२० जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको थियो । यस्तै आव २०७४–०७५ मा ७७६ र आव २०७३–०७४ मा ९३ जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७