कांग्रेसका नेताहरुमा नैतिकता देखिएन : झलनाथ खनाल


४ पुष २०७४, मंगलवार
JN Khanal

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । खनालले यसअघिका चुनावमा आफूले गरेका सबै प्रतिबद्धता पूरा गरेको दाबी गर्दै अहिले पनि चुनावअघिका बाचा पूरा गर्ने बताएका छन् । उनी जनप्रतिनिधि चुनिएपछि गरिएको कुराकानीको अंश :-

JN Khanal

पाँचौं पटक निर्वाचित हुँदै गर्दा कस्तो लागेको छ ?
इलामका जनताले असाध्यै माया गर्नुभएको छ । इलामका जनतासँग मेरो माया झन् गहिरो भएर गर्यो । यो मायाको ऋण कहिले तिर्ने होला भनेर म चिन्तित छु ।

अब राष्ट्रका लागि गर्नुपर्ने प्राथमिकताका काम के होलान् ?
सिङ्गो देशका निम्ति राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपाललाई परिचित गर्ने, सम्बन्ध सम्पर्क गर्ने पूर्वाधारको निर्माण गर्नुछ ।
रुटमात्र होइन, हवाई कनेक्टिभिटी, रेलवे, कम्युनिकेसन कनेक्टिभिटी, विद्युतीय कनेक्टिभिटीको काम गर्नुपर्ने छ । हामी हाम्रो देशको जलस्रोतको प्रयोग गरेर हजारौं मेघावाट जलविद्युत उत्पादनमा लाग्छौं र देशलाई विद्युत्मा आत्मनिर्भर गराउँछौं । बिजुली विकासको पूर्वाधार हो ।

सबै जनताका मौलिक हक शिक्षा, स्वास्थ्य, खानेपानीमा आत्मनिर्भर गराउन लाग्ने छौं । संविधानमै व्यवस्था भएका यी मौलिक हकबाट कोही पनि जनता बञ्चित हुनु हुँदैन ।  यी काममा लाग्छौं । यी कामको पूर्वाधार तयार गर्न लाग्छौं । अर्को पक्ष नेपाल जति सुन्दर देश कहीं छैन । पर्यटनको सम्भावना प्रचुर छ । त्यो सम्भावनालाई पहिल्याएर पर्यटनबाट पनि आर्थिक समृद्धिका लागि काम गर्नुपर्छ ।

विजयी हुनुभएको छ । इलाममा पुराना काम पनि अलपत्र छन् । इलामका लागि के गर्नुहुन्छ ?
म प्रधानमन्त्री भएको बेला र हाम्रो सरकार भएका बेला जिल्लामा थुप्रै योजना शुरु भएका छन् । अब ती योजना पूरा गर्र्नुछ । अर्का तर्फ इलामका सन्दकपुरको चुचुरो, तुम्लिङका चुचुरो, अन्तु, सिद्धिथुम्का, गुफा डाँडा, माङमालुङलगायतका थुप्रै चुचुरा छन् । ती चुचुरामा डलर फलाउन हामीले सक्नुपर्छ । ती चुचुरामा डलर फलाउने योजनाका साथ हामी लाग्नेछौं । ती डाँडामा केवलकार कसरी दौडाउने त्यसतर्फ लाग्नुपर्छ । इलाममा भएको कृषि उत्पादनलाई औधोगिकण तर्फ लाग्नुपर्छ । चिया, दूध, अलैंची, किवी लगायतका कृषि उत्पादनलाई औधोगिकीकरण गर्दै कसरी प्रशोधन गर्नै र बजार पठाउने यी विषयलाई पनि प्राथमिकता दिनुछ ।

अहिलेको सरकारलाई के भन्नु हुन्छ ?
यो सरकारले त थकाइ लागेको हुँदा थकाइ मार्ने र नयाँ सरकार नबनुन्जेल नयाँ सरकारको प्रतीक्षा गर्ने काम मात्र हो । धेरै चिन्ता नगर्नु राम्रो । नयाँ सरकारलाई काम राम्ररी हस्तान्तरण गरे पुग्छ । संविधान अनुसार आफैं यो सरकार विस्थापित हुन्छ । तर, नेताहरूमा नैतिकता छ कि छैन । गणेशमान सिंह भन्नु हुन्थ्यो, ‘नैतिकता भएन भने त्यो मान्छेको राजनीतिको काम छैन,’ अब नेपाली कांग्रेसका नेताहरूमा त्यो नैतिकता कत्तिको रहेछ म हेर्दैछु । तर, अहिले कांग्रेसका नेताहरुमा नैतिकता देखिएको छैन ।

खनाल जितपछि राष्ट्रपति कि प्रधानमन्त्री त बन्छन् नै होला भन्छन् नि इलामे नागरिक ? तपाई के रोज्नुहुन्छ ?
यो ज्यादै अप्ठ्यारो प्रश्न हो । तर, त्यस्तो इच्छा चाहना राख्नेहरूको मुखमा दूधभात जाओस् । म यो देशको बफादार नागरिक हुँ । यो देश र जनताका निम्ति निरन्तर काम गर्न पाउँ मलाई कुनै पदको जरूरत छैन । पार्टीले दिएको जिम्मेवारी र समय अनुसार चल्नुपर्छ ।

वाम गठबन्धनको सरकार आउँदा अधिनायकवाद लाद्छन् भन्छन् नि प्रमुख प्रतिस्पर्धी ?
त्यसको जवाफ जनताले दिइसके । अब मैले दिनुपर्दैन । कांग्रेसका नेताहरूले गलत प्रचारबाजी गरेका हुन् भन्ने जनताले बुझेका छन् ।

नागरिकका समस्या, चासो र खाँचो के पाउनुभयो ?
नागरिकको आवश्यकता र माग ‘अलवेदर’ सडक, सबैं ठाउँमा २४ घण्टा बिजुली, उच्च भागमा रहेका सहर, बजार र बस्तीमा खानेपानी अभाव हुँदै गएको छ ।  त्यो खानेपानीको दीर्घकालीन समाधान, शैक्षिक क्षेत्रमा जिल्ला र देशको आवश्यकताअनुसारको जनशक्ति कसरी बनाउने भन्ने जनतामा चिन्ता छ । यी कुरालाई ध्यानमा राखेर योजना बनाउनु पर्छ भन्ने सोचेको छु ।

सरकारी स्वामित्वका चिया बगानको अवस्था नाजुक बनेको छ, तपाइँले कसरी लिनुभएको छ ?
यो इलामका लागि ठूलो समस्याग्रस्त क्षेत्र भएको छ । तत्कालीन सरकारले हाम्रो बिनासहमति निजीकरण गर्यो । यो राष्ट्रको सम्पदाको संरक्षण गर्न हामी लाग्नु पर्नेछ । पहिला पनि हाम्रो प्रयास भएको हो ।  अब सम्झौता तोडेर भएपनि अगाडि बढ्नु पर्छ । संविधानले व्यवस्था गरेअनुसार स्थानीय सरकारले यी बगानहरू हामी आफैं चलाउँछु भन्यो भने केन्द्रीय सरकारले रोक्न मिल्दैन । त्यसैले यी बगानका निम्ति हामीले केही गर्नुछ ।

अन्त्यमा केही छ ?
यो जीत जनताको जित हो । आफ्नो मत दिएर यो वाम गठबन्धनलाई बहुमततर्फ लम्काउने र स्थायी सरकार बनाउने जनु म्यान्डेट जनताले दिएका छन् । यी सबै नेपाली जनता बधाईका पात्र भएका छन् । जनताको सपना पूरा गराउने मेरो प्रतिबद्धता छ ।

साभार :- इलाम पोष्ट दैनिक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७