मेरो साँच्चै इच्छा त सर्वोच्च गएर बहस गर्ने हो : सुवासचन्द्र नेम्बाङ


४ पुष २०७४, मंगलवार
Subash chandra Nembang

सुवासचन्द्र नेम्बाङ इलाम जिल्ला क्षेत्र नम्बर २ बाट चौथोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । मंसिर २१ मा सम्पन्न निर्वाचनमा उनले कांगेसका केशव थापालाई पराजित गरेका हुन् । विकास निर्माणमात्र नभई नयाँ संविधान निर्माणको नेतृत्वसमेत गरिसकेका नेम्बाङसँग चुनावमा विजयपछि गरिएको कुराकानीको अंश :-

Subash chandra Nembang

विजयी हुँदै गर्दा कस्तो लागेको छ ?
अत्यन्तै खुशी छु । यो निर्वाचन सँगै मेरो नेतृत्वमा निर्माण भएको संविधानको ठोस कार्यान्वयनको बाटोमा अघि बढेको छ । स्थानीय सरकार पछि प्रदेश सभाको गठन र राष्ट्रिसभाको गठन हुनेछ । यो क्षण खुशीको क्षण भएको छ ।

विजयसँगै जिल्ला र देशका लागि आफूले गर्नुपर्ने जिम्मेवारी के प्राथमिकतामा राख्नु भएको छ ?
सबैभन्दा पहिला राष्ट्रिय संविधानको ठोस कार्यान्वय भएको छ । दोस्रोमा हामीले राम्रोसँग लोकतान्त्रिक परिपाटी बसाएका छौं । सरकार बनाउने र लडाउने खेल चल्दै आएकोमा त्यो परिपाटीको अन्त्य गर्दै नेपालका लागि नयाँ परिवेश तयार गर्दै दलहरूबीच गठबन्धन गरेर स्थायी सरकारका निम्ति हामी अघि बढेका छौं । जनताको जनमत अनुसार धेरै पाउनेले पाँच वर्ष सरकारमा बस्ने र नपाउनेले पाँच वर्ष प्रतिपक्षमा बस्ने छ । अब देश नयाँ युगमा प्रवेश गरिसकेको छ । राष्ट्र निर्माणका लागि मेरो सधैं सकारात्मक भूमिका रहन्छ । जिल्लाको हकमा ०५६ मा निर्वाचित हुँदै गर्दा जनयुद्धको बीचमा विकास ओझेलमा थियो । एउटा बिजुलीको बल्ब नझुन्डिएको, मोटर बाटो नभएको, टेलिफोन नभएको अवस्था थियो । ०७४ मा आइपुग्दा त्यो धेरै परिवर्तन भयो । तर, म यतिमा सन्तुष्ट भने छैन । अब भञ्ज्याङ हुँदै बेलासे पुल भएर झापा जोड्ने छोटो रुट निर्माण गर्नु पहिलो आवश्यकता छ । निर्माण हुँदै गरेका र सञ्चालनमा रहेका कच्ची सडकहरूमा कालोपत्रेको आवश्यकता छ ।

शिक्षा, स्वास्थ्य, खानेपानीका विषय त्यस्तै जल्दाबल्दा छन् । यी सबै क्षेत्रमा मैले ध्यान दिनुपर्नेछ । नेकपा एमाले स्थानीय निर्वाचनमा पहिलो पार्टी बन्ने सोचका साथ जनतासामु पुगेको थियो । करिब–करिब पूराजस्तै भएको छ । अब एमालेमात्र होइन, माओवादी केन्द्र र अन्य विचार मिल्ने दलहरू एक ठाउँमा उभिएर वाम गठबन्धन अगाडि आएको छ । यो गठबन्धनले अब देशमा स्थिर सरकार स्थापित हुन्छ । अनिमात्र गाउँ–गाउँमा सुरू भएका विकास निर्माणका काम पूरा हुन्छन् । रोजगारीका बाटाहरू खुल्छन् । उद्योगधन्दाहरू स्थापित हुन्छन् । जनताले चहाना र इच्छा अनि मात्र पूरा हुनेछन् ।

चुनाव लड्दै गर्दा विपक्षीले सुवासले काम गरेन भनेर आरोप लगाए, विकास भएको छैन भने, तपाईं के भन्नुहुन्छ ?
विपक्षीले गरेको बिनाआधारको आलोचना जनताले पत्याएनन् । त्यसको जवाफ मैले दिनु परेन । यसअघि पनि विकासको कुरा भयो । क्षेत्रनम्बर–२ का जनता अहिले पनि सोझै झापा जाने गर्छन् । प्रशासनिक कामका लागि मात्र सदरमुकाम आउने हुन् । अहिले पनि क्षेत्र नम्बर–२को प्रतिनिधि हुँदै गर्दा पनि सदासर्वदा इलामको विकासका लागि लागिरहेकै छु । मैले के–के काम गरें भनेर विपक्षीसँग प्रमाण पेश गर्नुपर्ने आवश्यकता छैन । त्यो इलाममा निर्माण भएका पूर्वाधारले जवाफ दिएका छन् । अब, सन्दकपुरसम्म जाने सडक, माइपोखरीसम्मको कालोपत्रे, फालोट, प्राङबुङहुँदै कञ्चनजंघा बेस क्याम्पसम्म जाने पदमार्गको योजना ल्याउनु पर्छ भनेर म लागि रहेको छ । त्यो कार्य अघि बढेको छ ।

वाम गठबन्धनले चुनाव जित्यो भने, कम्युनिस्टको सरकार आयो भने अधिनायकवाद हाबी हुन्छ भन्ने सुनिन्छ नि ?
यसको जवाफ त जनताले दिइसके । मैले खास केही भन्नपर्छ भन्ने लाग्दैन । जसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपव्याख्या गर्छ वा बुझेको छैन, उसले यस्तो भ्रम फैलाइरहेको हुन्न् । हाम्रो संविधान लोकतान्त्रिक हो, अनि आवधिक निर्वाचन त्यसको महत्वपूर्ण पक्ष हुँदाहुँदै अझ अधिनायकवाद आउँछ भन्नु हास्यास्पदबाहेक केही होइन । विचार मिल्ने दललाई एक हुन संविधानले अधिकार दिएको छ । विचार मिल्ने एमाले, माओवादीलगायतका दल मिलेर चुनावमा जाँदा उनीहरूको विजय निश्चित देखेर विपक्षीले लगाएको आरोप हो त्यो । चुनाव जितेपछि पाँच वर्षसम्म कसरी काम गर्ने भन्ने गठबन्धनले संयुक्त घोषणापत्र बनाएको छ ।

दुईपटक महत्वपूर्ण जिम्मेवारीमा रहनु भयो, अब के इच्छा राख्नुभएको छ ?
मलाई व्यक्तिगत इच्छा केहीमा छैन । मेरा जनताको सेवा र इलामको विकास समृद्धि पहिलो प्राथमिकतामा छ । मेरो साँच्चै इच्छा त मेरो नेतृत्वमा बनिएको संविधान च्यापेर सर्वोच्च गएर बहस गर्ने हो तर, मेरो पार्टीले दिएको जिम्मेवारी र मेरा जनताले दिएको जिम्मेवारी मैले सम्हाल्नुपर्छ । पछि पार्टी र जनताले जुन ठाउँमा गएर जे काम गर भनेर जे जिम्मेवारी दिनुहुन्छ त्यो गर्न म तयार छु । यो र त्यो जिम्मेवारी भनेर मेरो व्यक्तिगत आग्रह छैन । संविधानको कार्यान्वयन मेरो पूर्ण जिम्मेवारी हो भन्ने ठानेको छु ।

जनतालाई के भन्नु हुन्छ ?
मेरो के आग्रह छ भने दलहरू चाहेर नचाहेर गलत बाटोमा पनि जान सक्छन् । यस्तो अवस्थामा दलहरूलाई झकझक्याउने जनता नै हो । जनताले त्यो काम गर्नुपर्छ । अहिले पनि जनताले दूधको दूध, पानीको पानी छुट्याइदिएका छन् । जनतालाई धन्यवाद । जनताले दिएको जिम्मेवारी पूरा गर्छु ।

साभार :- इलाम पोष्ट दैनिक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७