गोसाइँकुण्डमा एक लाख ३४ हजार भेटी संकलन, १० हजार भक्तजनद्वारा स्नान


१ भाद्र २०७६, आईतवार
gosaikunda

रसुवा, १ भदौ । जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी एक लाख ३४ हजार ३६५ रुपैयाँ सङ्कलन भएको छ ।

मन्दिरमा सङ्कलन भएको भेटीको रकम जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई सर्वपक्षीयरूपमा गणना गरिएको हो । प्राप्त रकम महादेवको नाममा खोेलिएको बैंक खातामा जम्मा गरी कार्यसमितिको निर्णय बमोजिम गोसाइँकुण्ड क्षेत्रको संरक्षण कार्यमा खर्च हुने बताइएको छ ।

यही साउन २६ गते एकादशीदेखि ३० गते जनैपूर्णिमा पर्वसम्मको अवधिमा १० हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

समुद्री सतहदेखि १४ हजार १ सय फिटको उचाइ रसुवा जिल्लाको निलाद्री पर्वतमा अवस्थित पौराणिक धार्मिक तीर्थमा पाल्पा, कास्की, स्याङ्जा, तनहुँ, धादिङ, गोरखा, चितवन, नवलपरासी, बाँके, मकवानपुर, बारा, पर्सा, धनुषा, सिरहा, सप्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुङ्गा, उदयपुरसमेतका जिल्लाबाट भक्तजन तीर्थ गर्न गएको बताइएको छ ।

पवित्र तीर्थको मेला भर्न गोसाइँकुण्ड पुगेका सबै यात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र धार्मिक मार्ग पूरै खाली भइसकेका कारण अस्थायीरूपमा राखिएका धार्मिक मार्गको सबै छाप्रा थर्कु हटाउने कार्य अगाडि बढिसकेको स्थानीय व्यवसायीले बताएका छन् ।

धार्मिक मार्गमा यात्रुबाट फ्याँकिएका फोहर सङ्कलन र व्यवस्थापनका लागि सहभागितामूलक तरिकाले हातेमालो गरी अगाडि बढ्न गोसाइँकुण्ड क्षेत्र विकास समितिले धार्मिक मार्गका सबै होटल व्यवसायीसँग आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७