धैर्य गर्नुस् अर्को निर्वाचनपछि मलाई पनि पदमा बस्न मन छैन : प्रधानमन्त्री

‘आलोचनाका नाममा प्रतिगमन फर्काउने गतिविधि सहन सकिंदैन’


१ भाद्र २०७६, आईतवार
kp oli 1

काठमाडौं, १ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सदासदाका लागि पदमा बसिरहने गरी नआएकाले धैर्य गर्न प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले केही प्रतिगामी तत्वहरु सडकमा आउने बित्तिकै यो सरकार ‘लगलग’ नकाम्ने दावी गर्दै यस्ता तत्व नहौसिए हुने चेतावनी दिएका । उनले भने, ‘हुन त मैले सुने प्रधानमन्त्री लगलग कामेका छन् पद जाने भो भनेर । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन त्यसकारण निर्वाचनसम्म साथीहरुलाई धैर्यधारण गर्न आग्रह गर्छु ।’

प्रधानमन्त्री ओलीले सरकारको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताप्रति विरोधीहरुले अनावाश्यक भ्रम र हल्ला फैलाइरहेको आरोप लगाउँदै त्यस्ता भ्रम नफैलाउन चेतावनी दिए । प्रतिनिधिसभामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम सरकारलाई सैह्य नहुने बताए ।

उनले भने, ‘लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले खुलेआम गतिविधि गरिरहेका छन् । यो सरकार अचानक ह्वीम र जनताको फ्रस्टेशनबाट बनेको सरकार होइन, यसको संघर्ष र बलिदानको इतिहास छ ।

आवेग, उत्तेजना र फ्रस्टेशनबाट सरकार बनेको होइन । जनताको जनादेशबाट यो सरकार गठन भएको हो ।’ उनले विकास निर्माण र आर्थिक बृद्धि दर बढेको गएको भए पनि केही भएन भन्नेहरुलाई केही भन्न नसक्ने बताएका छन् ।

सरकारको लोकतन्त्रप्रतिको निष्ठाका सम्बन्धमा अनावाश्यक भ्रम र हल्ला फैलाउने काम भए पनि त्यो सफल हुन नसक्ने प्रधानमन्त्री ओलीले बताएका छन् । ‘यो हाम्रा विरोधीले चलाएको हल्ला हो । जनतामा निराशा, फ्रस्टेशन, र विश्वास टुटाउने योजनाका साथ यस्तो हल्ला चलाइएको छ तर यस्ता हल्ला चलाएर लोकतन्त्रमाथिको सरकारको दृढता टुट्दैन’, उनले भने ।

‘यो नयाँ प्रणाली हो । नयाँ प्रणाली भएकाले पुरानो प्रणालीका संवाहक र पक्षधर पनि देशमा छन् । लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले पनि खुलेआम गतिविधि गरिरहेका छन् । तर यो नयाँ प्रणालीलाई कमजोर पार्ने प्रयास भइरहेको छ । यसमा सचेत हुन जरुरी छ,’ प्रधानमन्त्रीले सवैलाई सचेत गराए ।

उनले संविधान कार्यन्वयन गर्ने सन्दर्भमा नयाँ कानुनहरु निर्माण गरेको र एकाध बाहेक ती कानुनहरु पूरा भएको भन्दै बाँकी काननु चालु अधिवेशनमा सम्पन्न गरिसक्नुपर्ने बाध्यता रहेकाले संसद त्यसमा केन्द्रीत रहेको बताएका छन् ।

‘कानुन निर्माणमा विलम्ब हुँदा कार्यान्वयनमा विलम्ब हुन्छ, त्यसो हुँदा जनताले पाउने प्रतिफल कमजोर हुन्छ । त्यसैले कानुन निर्माणमा ढिला गर्नुहुदैन,’ प्रधानमन्त्रीले भने, ‘सरकारले सुशासनमा र विकासमा ध्यान केन्द्रीत गरेको छ । सुखी नेपाली समृद्ध नेपालका लागि अशिक्षा र पछौटेपनबाट मुक्ति जरुरी छ ।

सम्पन्नता हासिल, शान्तिसुरक्षा र सम्मानपूर्ण ढंगले समानताका आधारमा बाँच्न पाउने अवस्था सिर्जना गर्नु नै सुखी नेपाली सम्बृद्ध नेपालको कल्पना हो,’ प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७