विवाह समारोहमा आत्मघाती बम बिष्फोट, कम्तीमा ६१ जनाको मृत्यु, १७१ घाइते

काबुल, १ भदौं । अफगानिस्तानको राजधानी काबुलमा शनिबार अबेर राति एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा कम्तीमा ६१ जनाको ज्यान गएको छ ।
विवाह चलिरहेको एक हलमा बिष्फोट हुँदा ६१ जनाको प्राण जाँदा १७१ जना घाइते भएका छन् । थुप्रैलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको बीबीसीले जनाएको छ । मृतकको संख्या थप बढ्न सक्ने अस्पताल स्रोतले बताएको छ । प्रत्यक्षदर्शीले घटनास्थलमा थुप्रै शव देखेको बताएका थिए ।
उक्त इलाका अल्पसंख्यक शिया हजारा मुसलमानको बाहुल्य रहेको छ । उक्त घटनाको जिम्मा कसैले लिएको छैन । काबुलमा भएको यो महिनाको दोस्रो घटना हो । अगष्ट ८ तारिखमा काबुलमा रहेको प्रहरी चौकीको बाहिरी क्षेत्रमा बिष्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको थियो ।
अमेरिका र तालिबानबीच चलिरहेको वार्ताका बीच विष्फोट भएको हो । अमेरिकालाई दवाव दिन पनि विष्फोट गराइएको हुन सक्ने अनुमान गरिएको छ । अफगानिस्तानमा २८ सेप्टेम्बरमा चुनाव हुँदैछ । एजेन्सी